अरिंगाल, बारुला तथा माहुरी जस्ता किराको टोकाईबाट उत्पन्न हुने समस्या लक्षणचिन्ह तथा रोकथामका उपायहरु

मंसिर २/ शोभाकान्त पौडेल:

परिचय:

अरिंगाल, बारुला तथा माहुरी जस्ता उड्ने किराहरुको कृषि तथा प्राकृतिक पर्यावरण रक्षाको लागि महत्वपूर्ण भूमिका छ l धेरैजसो कृषि पेशा गर्नेहरु तथा ग्रामीण समुदायमा बस्नेहरु आफ्नो जीवनमा कुनै न कुनै उमेरमा यस्ता किराको टोकाईमा पर्ने गर्दछन् l खासगरी भाद्र महिनादेखि मङ्सिर महिना सम्ममा धेरैजसो यस्ता किराको चिलाईमा पर्ने गरेको देखिन्छ l यस्ता किराको चिलाईको कारण केहीमा सामान्य लक्षण मात्रै देखिएपनि कोही भने मृत्युको मुखमै पुग्ने गरेका छन् l महेशराज सिग्देलद्वारा २०११ मा नेपालमा गरिएको एक अध्ययनमा कडा लक्षण देखिएका २५ प्रतिशत मानिसको मृत्यु भएको देखिएको छ l

हालै नेकपा स्याङ्जा जिल्ला अध्यक्ष पारस गैह्रे शर्माकी १३ वर्षिया छोरी अतिथि गैह्रेको २०७७ साल मङ्सिर १ गते भाइटीकाको दिन अरिंगालको चिलाईबाट मृत्यु हुन पुग्यो l निकै नै विदारक यो घटनाले यस्ता खालका कीरालाई हेलचेक्र्याइँ गर्न नहुने र कसरी आफू सुरक्षित हुन सिक्ने भन्ने पाठ सिकाएको छ l यस्ता किराको चिलाईबाट कसरी सुरक्षित हुने र यसका लक्षण तथा उपचारका विधिहरु के-के हुन सक्छन् भनी लेखकले यस स्तम्भमा जानकारी दिएका छन् l

अरिंगाल माहुरी बारुला जस्ता किराहरुसँग दुष्मनसँग बच्नको लागि आरो (stinger) हुन्छ, जसमा बिषालु पदार्थ (venom) हुन्छ l यो पदार्थ मानिसको शरीरमा प्रवेश गरी सामान्यदेखि जटिल समस्या पार्न सक्दछ l माहुरीले एकपटक मात्र चिल्न सक्छ भने अरिंगाल र बारुलाले पटक-पटक चिल्न सक्दछन् l

लक्षण तथा चिन्हहरु: (sign and symptoms)


१. Normal local reaction ( साधारण स्थानीय प्रतिकृया )
धेरै मानिसहरुलाई सामान्य मात्र स्थानीय लक्षण देखिन्छ l जस्तै: चिलेको ठाउँमा दुख्ने, पोल्ने, सुनिने, रातो हुने आदि l
यो अवस्थामा खासै डराउनु पर्दैन, यो आफै एक दुई दिनमा ठीक हुन्छ l

२. Large local reaction ( वृहत स्थानीय प्रतिकृया )
शरीर रातो हुने, सुनिने दुख्ने, उल्टी आउने वा आउला जस्तो हुने l
यो प्रतिकृया पनि विस्तारै बढीमा एक हप्तासम्म ठीक हुन्छ l

३. Anaphylaxis (तीव्रग्राही प्रतिकृया )


यो अवस्था चाहिं मौरी, बारुला या अरिंगालले चिल्दा हुने गम्भीर असर हो l Anaphylactic shock एउटा मेडिकल इमर्जेन्सीको अवस्था हो l जुन अवस्थामा तुरुन्तै उपचारको जरुरत पर्दछ, यदि यस्तो अवस्थामा उपचारको व्यवस्था हुन नसके केही समयमै बिरामीको मृत्यु हुन्छ l
यस अवस्थामा तलका सबै वा केही लक्षण देखा पर्न सक्दछन् l
• अनुहार, ओठ वा घाँटी सुनिने
• शरीर चिलाउने
• स्वास फेर्न गाह्रो हुने, छातीबाट कुइ-कुइ आवाज आउने वा स्वास घरिघरि रोकिने (gasping)
• रक्तचाप (blood pressure) घट्ने
• चेतना हराउने (unconsciousness)
• पखाला लाग्ने ( Diarrhea)
• पेट बाउँडिने, कमजोर महसुस हुने,

उपचार (Treatment) :


Anaphylaxis मा shock भएपछि तुरुन्त उपचार नपाए बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले जतिसक्दो चाँडो सुविधासम्पन्न अस्पताल पुर्याउनु पर्दछ तर, प्राथमिक उपचार सहित पुर्याउँदा बिरामीको बाँच्ने सम्भावना बढी रहन्छ l ( अस्पताल टाढा भएको अवस्थामा)

अस्पतालमा गरिने उपचार निम्नानुसार गर्ने गरिन्छ।

• Adrenaline injection ( to reduce body’s allergic reduction)
• Oxygen ( to help breathe)
• I/V antihistamines and cortisone to reduce inflammation of the air passage and improve breathing
• A beta agonist to relieve breathing symptoms.

धेरै मौरी अरिङ्गाल वा बारुलाले टोकेको भएमा वा airway , breathing र circulation सम्बन्धी लक्षण भएमा अस्पतालमा राखी उपचार गर्ने गरिन्छ। अस्पतालमा रगत तथा पिसाब जाँच गरी शरीर का महत्वपूर्ण अंगहरुलाई असर गरे नगरेको पत्ता लगाइन्छ। 48 घण्टासम्म अन्य कुरा ठीक भएपनि urine output ठीक भए नभएको हेर्नुपर्दछ।
सामान नै स्थानीय प्रतिक्रिया तथा बृहत स्थानीय प्रतिक्रिया भएका बिरामीमा आवश्यकताअनुसार antihistamine, painkiller तथा steroid को प्रयोग गरिन्छ।

जटिलता ( Complications)

रगतमा पुगेको विषाक्त पदार्थ (venom) को मात्रा बढी भई रगत फाट्ने,टुक्रने (Hemolysis) र अकस्मात मृगौला फेल (acute kidney renal failure) जस्ता मुख्य दुई वटा अवस्थामा बिरामी पुग्न सक्दछ l सुविधासम्पन्न अस्पतालमा समयमा नै Dialysis र Steroid hormone को प्रयोगले मृत्युबाट जोगिने सम्भावना पनि रहन सक्दछ l

टोक्नबाट बच्नको लागि उपायहरु ( Preventive measures) :

• उडिरहेका अरिंगाल बारुला र माहुरीलाई नजिस्काउने
• उनीहरु बस्ने गोलामा ढुङ्गा, लौरिको प्रयोग गर्ने वा पोल्ने जस्ता कार्य नगर्ने
• चम्किला कपडाको प्रयोग गर्ने
• खाली खुट्टा नहिंड्ने
• स्प्रे, अत्तर जस्ता गन्ध आउने पदार्थ शरीरमा नलगाउने
• यस्ता किराहरु रहने सम्भावना भएका स्थानमा जाँदा लामा बाहुला भएका कपडा, पाइन्ट, जुत्ता या बाक्ला कपडाहरु लगाउने

टोकीसकेपछी गर्नुपर्ने कार्यहरु

 साबुन पानीले चिलेको ठाउँ सफा गर्ने
 यदि आरो गडिरहेको भएमा नङको सहायताले निकाल्ने तर, ननिचोर्ने l किनकि निचोर्दा विष शरीरमा फैलन सक्दछ
 टोकेको ठाउँमा बरफ या चिसोले सेक्ने जसले गर्दा दुखाई कम हुन्छ
 नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्त जाने, जहाँ दुखाई कम गर्ने औषधि, एलर्जी र अन्य असर कम गर्ने औषधि उपलब्ध हुन्छ l

लेखक
शोभाकान्त पौडेल
सरकारी स्वास्थ्य संस्थामा कार्यरत लेखक स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनमा Dr MGR Medical University बाट Post Graduate Diploma तथा T.U. बाट स्वास्थ्य शिक्षामा स्नातकोत्तर गरेका हुन्

Share Post on Social media