भीरकोटमा आलुको उत्पादन बढाउन पकेट क्षेत्र बनाइँदै

मंसिर ८/ स्याङ्जा: भीरकोट नगरपालिकाले आलु उत्पादन हुने छुट्टाछुट्टै ठाउँहरु छनोट गरी आलु उत्पादनमा जोड दिएको छ।

आफ्नो नगर क्षेत्रमा रहेका उर्वर भूमिको छनोट गर्दै नगरपालिकाले आलु उत्पादनमा किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याएको हो।

उन्नत जातका आलुका बीउहरु “कार्डिनल” , “जनकदेब” र “एम एस निलो ” ५०% अनुदानमा उपलब्ध गराएर नगरपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन लागिएको नगरपालिकाले जनाएको छ। भीरकोटको सबैभन्दा ठूलो फाँट पकान फाँट आलुको मुख्य उर्वर भूमि हो । अहिले सबै किसानहरुले बीउ उत्पादन गर्नको लागि र आफुलाई खानको लागि छुट्टाछुट्टै बलक बनाएर आलु लगाउने काम भैरहेको पकानका किसानहरुले जनाएका छन्।

नगरपालिकाले फाँट बाँझो नराख्ने गरी सबै प्रकारका बीउ बिजनहरु ५०% अनुदानमा उपलब्ध गराएको हो। पकान फाँटलाई आलु , गहुँ ,घाँस र तरकारी उत्पादन हुने छुट्टाछुट्टै उर्बर भुमिको आधारमा बिभाजन गरेर सबै प्रकारका बीउ बिजन हरु उपलब्ध गराइएको हो।

Share Post on Social media