बालबालिकामा भिटामिन “ए”, जुकाको औषधि तथा बालभिटाको‌ महत्व तथा आवश्यकता

मंसिर १०/ स्याङ्जा: यही ११ र १२ गते नेपाल सरकारले राष्ट्रव्यापी रूपमा भिटामिन “ए” , जुकाको औषधि तथा बालभिटा कार्यक्रम लागू भएका जिल्लामा लक्षित समूहलाई बालभिटा समेत महिला स्वास्थ्य स्वयंसेविका मार्फत वितरण गर्दैछ।

एक अध्ययनले देखाएअनुसार विश्वका २५ करोड बालबालिकामा भिटामिन “ए” को कमी भई विभिन्न स्वास्थ्य समस्याहरु देखिएका छन् । त्यस्तै नेपालका बालबालिकाहरु पनि यो समस्याबाट अछुतो छैनन् । वर्षेनी नेपालमा करिब २५०० बालबालिका सधैँको लागि दृष्टि गुमाउँछन् । त्यस्तै ९००० बच्चाहरु को मृत्यु बर्सेनि भइरहेको छ। नेपालमा बाल मृत्यु कम गर्न तथा सधैँको लागि हुने अन्धोपनबाट बालबालिकालाई जोगाउन नेपाल सरकारले सन् १९९३ मा आठ जिल्लामा भिटामिन “ए” कार्यक्रमको सुरुवात गरी सन् २००३ मा देशव्यापी खुवाउन थालेको थियो ।

भिटामिन “ए” को लक्षित समूह

६ महिना देखि ५९ महिनासम्म का सम्पूर्ण बालबालिका।
भर्खर जन्मेदेखि ६ महिनासम्मका बालबालिकालाई नखुवाउने
६ महिना देखि एक वर्षसम्म बच्चालाई आधा casule अर्थात १ लाख international unit खुवाउने
१२ महिनादेखि ५९ महिना सम्मका बच्चालाई पुरा capsule अर्थात २,००,००० international unit खुवाउने ।

नेपालमा NDHS २०१६ सर्वे अनुसार ५३% बालबालिकामा रक्तअल्पता देखिएको छ। पेटमा परजीवीको कारण देखापरिरहेको रक्तअल्पता लाई कम गर्न , बालबालिकाको पेटसम्बन्धी समस्यालाई कम गर्न तथा विद्यालय जाने बालबालिकाको सिकाईसम्बन्धी उत्पादकत्व बढाउनको लागि आवश्यक भएको हुँदा नेपालमा vitamin “A” सँगसँगै जुकाको औषधि Albendazole खुवाउने कार्यक्रम नेपाल सरकारले सन् २००० मा केही जिल्लाबाट सुरु गरी सन् २०१० बाट सबै जिल्लामा लागू गरेको छ ।

लक्षित समूह

१२ महिना भित्रको बच्चालाई नखुलाउने
१२ महिना पुरा भए देखि २३ महिनासम्म बच्चालाई २०० mg वा आधा क्याप्सुल खुवाउने
२४ महिनादेखि ५९ महिना सम्मका बच्चालाई पुरा चक्की अर्थात् ४०० mg वा पूरा क्याप्सुल खुवाउने

त्यस्तैगरी नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पोषण समस्या अन्य विकासोन्मुख देशहरूको तुलनामा बढी देखिएको छ । NDHS २०१६ अनुसार नेपालमा ३६ प्रतिशत बालबालिकामा पुड्कोपना (stunting) देखिएको छ भने १० प्रतिशतमा ख्याउटेपना(wasting), कम तौल हुने २७ प्रतिशत तथा जन्मदा कम तौल (Low Birth Weight) २४ प्रतिशत देखिएको छ। कुपोषण को कारण वर्षेनी हुने बाल मृत्युदर तथा बिरामी दर कम गर्न र कुपोषण चक्र तोड्न आवश्यक भएको हुनाले multiple micronutrients powders /MNP (जसलाई नेपालमा बालभिटा भनिएको छ।) वितरणको लागि ४२ जिल्लामा यो कार्यक्रम लागू गरिएको छ। बालभिटामा बालबालिकाहरुलाई आवश्यक पर्ने १२ प्रकारका भिटामिनको साथै zinc तथा अन्य सुष्म पौष्टिक तत्व मिसिएको हुन्छ । यसको प्रयोगले थप आहार खाँदै गरेका बालबालिकाहरुमा मानसिक विकास तथा आवश्यक शारीरिक विकास हुन्छ । बालभिटा पनि महिला स्वास्थ्य स्वयंसेविकाबाट वितरण गर्ने गरिन्छ ।

लक्षित समूह
बालभिटा कार्यक्रम लागू भएका ४२जिल्लाहरुमा
६ महिना पुगे देखि २३ महिना सम्म का सम्पूर्ण बालबालिकाहरू ।
दिनको एक पुरिया ६० दिनसम्म खुवाउने
त्यसपछि चार महिना नखुवाउने ।

पुरियामा रहेको बालभिटा तरकारी दुध दाल जस्ता खानाहरुमा मिसाएर खुवाउन सकिन्छ । यसले कुनै स्वाद परिवर्तन गर्दैन।

नेपाल सरकारबाट यही मंसिर ११ र १२ गते सञ्चालन हुन गईरहेको vitamin “A” जुकाको औषधि तथा बालभिटा नि:शुल्क वितरण गर्ने केन्द्रमा आफ्ना ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई सधैँको लागि हुने अन्धोपन रोकथाम गर्न तथा भिटामिन “ए” को कमीको कारण हुने बिरामी र मृत्युबाट बचाउन, पेटमा आक्रमण गर्ने विभिन्न जुकाहरुबाट जोगाउन तथा कुपोषणबाट जोगाउन नजिकको स्वास्थ्य संस्थाबाट सञ्चालन गरिएका केन्द्रहरुमा आफ्ना बालबालिकाहरुलाई लगेर निःशुल्क रुपमा प्राप्त हुने vitamin “A” जुकाको औषधी खुवाउन नछुटाउँ । यसको साथै बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरूमा महिला स्वास्थ्य स्वयंसेविका बाट बितरण हुने बालभिटा समेत आफ्नो बच्चालाई संकलन गरेर खुवाउँ ।

covid-19 को कारणले यसपालि भिटामिन “ए” तथा जुकाको औषधि र बालभिटा खुवाउँदा तपशिल बमोजिम सञ्चालन गर्दा राम्रो हुनेछ।

  • सम्भव भएसम्म खुवाउने स्थान खुला छनौट गर्ने।
  • अभिभावकहरूलाई कार्यक्रम सञ्चालन हुने स्थानको बारेमा आम समूह स्वास्थ्य व्यवस्थापन समिति तथा जनप्रतिनिधि मार्फत जानकारी गराउने।
  • महिला स्वास्थ्य स्वयंसेविका आमा तथा बालबालिकालाई अनिवार्य मास्क लगाएर मात्र औषधि बितरण गर्ने स्थानमा प्रवेश गराउने ।
  • २ मिटरको सामाजिक दुरी कायम गर्ने ।
  • कार्यक्रम संचालन हुने स्थानमा अनिवार्यरुपमा साबुनपानीको व्यवस्था गरेर मिचिमिची हात धुन लगाएर मात्र प्रवेश गराउने ।
  • महिला स्वास्थ्य स्वयंसेविकालाई covid-19 सँग मिल्दोजुल्दो लक्षण देखा परेको भए कार्यक्रममा सहभागी नहुने र स्वास्थ्य संस्थालाई खबर गर्ने, त्यस्तैगरी आमा र बच्चालाई त्यस्तो लक्षण देखिएको भए जाँचको लागि स्वास्थ्य संस्थामा जान सल्लाह दिने ।

लेखक: शोभाकान्त पौडेल नेपाल सरकारको स्वास्थ्य संस्थामा आबद्ध हुनुहुन्छ।

Share Post on Social media