तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

कार्तिक १८/स्याङ्जा:

नेपालीहरुको चाडपर्व दशैं र तिहारको अवसरमा भीरकोट नगरपालिका वडा नं ७ तिलाहारस्थित खिलुङ कालिका युवा क्लबले वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।

यही कार्तिक १२ गतेदेखि कार्तिक १७ गतेसम्म सञ्चालन भएको उक्त भलिबल प्रतियोगितामा कुल १७ टिम सहभागी भएका थिए।

खेलकुदको माध्यमबाट युवाहरुलाई एकजुट गर्ने र खेलको माध्यमबाट पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देशसहित आयोजना गरिएको उक्त प्रतियोगिता ‌भीरकोट‌ नगरपालिकाका मेयर छायाराम खनालले उद्घाटन गरेका थिए भने कार्यक्रमको समापन नेकपा एमाले स्याङ्जा जिल्ला सचिवालय सदस्य तथा साझा स्वास्थ्य संस्था नेपालका केन्द्रीय अध्यक्ष सन्तोष केसीले गरेका थिए।

करिब २०० जनाभन्दा बढी सहभागी भएको उक्त फाइनल प्रतियोगितामा नेकपा एमाले भीरकोट नगरपालिका अध्यक्ष विश्वनाथ अर्याल, राष्ट्रिय युवा संघ भीरकोटका संयोजक जुमाल अलि, नेपाली कांग्रेस भीरकोटका सचिव ताराप्रसाद अर्याल, उद्यमी रेखा बसेल, काँग्रेस भीरकोट वडा नं ७ का वार्डसभापति शालिकराम अर्याल लगायतका राजनैतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, समाजसेवी, पत्रकार तथा अन्य व्यक्तिको समेत उपस्थिति रहेको थियो।

उक्त फाइनल प्रतिस्पर्धामा आयोजक खिलुङ कालिका युवा क्लबको टोलीलाई २-० सेटमा पराजित गर्दै दरौँखोला युवा क्लब अर्जुनचौपारीले प्रथम पुरस्कार हात पारेको थियो। प्रथम पुरस्कारको सौजन्य नेकपा एमाले भीरकोट कमिटी रहेको खिलुङ कालिका युवा क्लबका अध्यक्ष तथा फाइनल कार्यक्रम संचालक पर्वत खाम्चाले जानकारी दिए।

प्रथम हुने टिमलाई नगत रु २५०००, शिल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाई नगद रु १५०००, शिल्ड मेडल र प्रमाणपत्र, तेश्रो र सान्त्वना हुने टिमलाई समेत क्रमशः १०००० र ५००० रु नगद, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबले कनाएको छ।

उक्त कार्यक्रममा तिहार तथा छठको शुभकामना आदानप्रदान समेत गरिएको थियो।‌

Share Post on Social media