नेकपा एमालेले अर्जुनचौपारी गाउँपालिकाका उम्मेदवार टुंगो लगायो, काँग्रेसको कसरत जारी
वैशाख १०/स्याङ्जा: वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनैतिक दलले विभिन्न पालिकामा उम्मेदवार चयन गर्ने कार्य जारी राखेका छन्।
यही क्रममा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट उम्मेदवारी दिने व्यक्तिको टुंगो लगाइएको नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ।
हाल अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष समेत रहेकी नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका इन्चार्ज चिनमाया गुरुङलाई गाउँपालिका अध्यक्षको निम्ति र टंकप्रसाद खनाललाई गाउँपालिका उपाध्यक्षको निम्ति उम्मेदवार बनाइएको नेकपा एमाले अर्जुनचौपारीले जनाएको छ।
यता, एमालेले उम्मेदवार चयन गरिसक्दा नेपाली कांग्रेस भने आन्तरिक छलफलमा नै व्यस्त रहेको छ। नेपाली कांग्रेसभित्र आकांक्षी धेरै भएकाले पनि टुंगो लाग्न समय लागेको जनाइएको छ।
नेपाली कांग्रेसका सम्भावित उम्मेदवारमा नेपाली कांग्रेस प्रदेश सभापति प्रकाश तिवारी, पूर्व गाविस अध्यक्ष फणिनारायण अर्याल तथा नेपाली कांग्रेसका अर्जुनचौपारी गाउँपालिका सभापति विष्णु काफ्ले हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्