भीरकोट मेयरमा उम्मेदवारी दिने विश्वनाथ अर्याल,को हुन् ?

वैशाख १६/स्याङ्जा: स्याङ्जा जिल्लाको सबैभन्दा कान्छो नगरपालिका भीरकोटमा नेकपा एमालेले युवा नेता विश्वनाथ अर्याललाई‌ मेयरको उम्मेदवार चयन गरेको छ।‌

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ६ भण्डारखोला बगरेबजार स्थायी ठेगाना भएका विश्वनाथ अर्याल सरल तथा सादगी नेताको रुपमा चिनिन्छन्। साधारण जीवनशैली र सबैसँग समान व्यवहार गर्ने उनले हरेक मानिसलाई आफ्नो विचार र कुराद्वारा प्रभावमा पार्न माहिर छन्।‌

साधारण परिवारमा विसं २०४९ साल भदौ १४ गते जन्मिएका उनका बाबुआमा समेत सामान्य साक्षर हुन्। उनका पिता पदमपानी उपाध्याय त अझ राम्रोसँग बोलचाल गर्न समेत सक्दैनन्।

नेपाली कांग्रेसको गढ मानिएको भीरकोटबाट फरक धार र फरक विचारको राजनीतिमा उदाउनु उनको लागि सामान्य कुरा पटक्कै थिएन। एक त कमजोर पारिवारिक आर्थिक अवस्था, त्यसमाथि बाबुको बोलिमा समस्या।‌ समस्यै समस्यामा उनले संभावना देखे। उनले जीवन देखे। राजनैतिक भविष्य देखे। र, होमिए काँग्रेसको राजनीतिभन्दा फरक पृष्ठभूमि बनाउन अनि आफ्नै भविष्य कोर्न।

गाउँले जीवनका कठिन समस्यासँग जुध्दै उनले विद्यालय शिक्षा गाउँकै पशुपति प्रावि फुलबारी ५ भीरकोटबाट लिए।‌ विद्यालय जाँदा घाँस काटेर गए।‌ विद्यालयबाट घर फर्केरै पनि घाँस काटे। गोबर फाले। प्राथमिक शिक्षा प्राप्त गरी भाग्योदय मावि उजेलीडाँडाबाट उही जीवनशैलीमा उनले माध्यमिक शिक्षा सकाए। घरकै आटो ढिँडो खाए। आफ्नै ठाउँकै क्याम्पस वालिङ क्याम्पसबाट स्नातक सके।

अब थप केही कुरामा अपडेट हुनुपर्छ भन्ने उनको मनमा लाग्यो। घरमा सल्लाह गरे।‌ फर्केर आएर गाउँमै सेवा गर्ने अठोटले काठमाडौं हानिए। यसैपनि गाउँमा अभावमै हुर्केका उनले काठमाडौंको अभावलाई के टेर्थे? अभावमै रमाए।‌अभावमै हाँसे। अभावमै जिए। अभावै-अभावमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र नेपालीमा स्नातकोत्तर सकाए। पढाई सक्नेबित्तिकै उनी गाउँमा फर्किए। र, नेकपा एमालेको राजनीतिमा उदाए।‌

उनको क्षमता, उनको कार्यकुशलता, लगनशीलता र सहनशीलता यति चुलियो कि ३० वर्षभन्दा कम उमेरमै उनलाई नेकपा एमाले पार्टीले भीरकोट जस्तो प्रचुर सम्भावना बोकेको नगरपालिकाको मेयर पदमा उम्मेदवार बनायो। उनको मनमा एक दृढ अठोट छ,”यसपटक काँग्रेसको गढमा एमालेको विजयी झण्डा फहराउने। पाँच वर्षमा भीरकोटलाई जति सकिन्छ त्यति बनाउने!”

सानैमा उनको मनमा समाज परिवर्तन गर्नुपर्छ। भएका कुराहरुलाई पनि फरक ढंगले सोच्नुपर्छ र बुझ्नुपर्छ भन्ने कुराले हुटहुटी पैदा गर्यो। उनले सोचे, यो समाज परिवर्तनमा अगुवाई गर्ने भावना हो। यसलाई मर्न दिनुहुन्न।‌ यसरी उनी विद्यार्थी जीवनबाटै राजनीतिमा छाए।‌

देशले शासनव्यवस्था परिवर्तन गर्न खोज्दै थियो। रेडियो टिभीमा शासनव्यवस्था विरुद्ध भएका आन्दोलनका समाचार जब बज्थे।‌ उनी खुब चनाखो भएर सुन्थे। २३८ वर्ष लामो राजतन्त्र अन्त्य गर्न देशमा दोश्रो जनआन्दोलन सुरु भयो।‌ नेपाली कांग्रेस, नेकपा एमाले लगायतका सात राजनैतिक दलहरु एक भएर आन्दोलनका चरण घोषणा गरे। ती दलका विभिन्न भातृसंगठनसमेत मैदानमा होमिए।‌ त्यतिबेला विद्यालयमै अध्ययन गरिरहेका विश्वनाथ अर्याल समेत विद्यार्थीको‌ नेतृत्व गर्दै आन्दोलनमा लागे।

अनेरास्ववियुको प्रारम्भिक कमिटी (भाग्योदय मावि, उजेलीडाँडा)को अध्यक्ष हुँदादेखि नै उनले आफ्नो लोकप्रियता, संयमित भाषण र नेतृत्व गर्ने क्षमता वृद्धि गरे। वालिङ बहुमुखी क्याम्पसमा २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा जसको कारण उनले भारी बहुमतले विजयी स्थान हासिल गरे। उनको विजय वालिङ क्याम्पसमा त्यतिबेलासम्म नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमाथि बलियो झापट थियो।

वालिङ बहुमुखी क्याम्पस स्ववियु सभापति हुँदै गर्दा उनी अनेरास्ववियु स्याङ्जा जिल्ला कमिटी सदस्य समेत बने। साबिक खिलुङ देउराली गाविसको पहिलो एमाले पार्टी सदस्य उनैलाई मानिन्छ। विश्वनाथ अर्याल नेकपा एमाले खिलुङ देउरालीको संस्थापक गाउँ कमिटी अध्यक्ष समेत बने।‌ उनीभन्दा अघि एमाले उक्त ठाउँमा एमालेका कार्यकर्ता फाट्टफुट्ट भएपनि कोही संगठित रुपमा नलागेको उनी बताउँछन्।

अनेरास्ववियु स्याङ्जा जिल्लाको सदस्य, सचिवालय प्रमुख हुँदै २०६९ साल माघ १० र ११ गते गल्याङमा भएको २३ औँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा चुनिएपछि उनको चर्चा झनै चुलियो। नेपालका तत्कालीन ७५ जिल्ला कमिटीमध्ये उत्कृष्ट हुँदै सर्वोत्कृष्ट विद्यार्थी नेताको सम्मान अनेरास्ववियु इतिहासमै पहिलोपल्ट प्राप्त गरेपछि उनको चर्चा देशभर व्यापक रुपमा फैलियो।‌

लगत्तै उनी नेकपा एमालेको जिल्ला सदस्य बने। यसअघिको स्थानीय तहको निर्वाचन २०७४ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पश्चात बनेको नेकपा पार्टीको कालखण्डमा‌ जिल्ला सदस्य तथा भीरकोट नगरसचिव बनेका अर्याल सर्वोच्च अदालतको फैसला पश्चात बनेको नेकपा एमालेका जिल्ला सदस्य तथा भीरकोट नगर अध्यक्ष बन्दै चुनावी मैदानमा होमिएका हुन्।

राजनैतिक छवि मात्र नभई सामाजिक छवि समेत बनाएका उनी धर्ममा समेत विशेष रुचि राख्ने मानिस हुन्।‌ “कम्युनिस्टले धर्म मान्दैनन्, धर्म अफिम हो” भनी समाजमा गरिएको गलत प्रचार विरुद्ध उनी खरो रुपमा उत्रन्छन्। हरेक सोमबार व्रत बस्छन्। छायाँक्षेत्र मन्दिर जान्छन्। विभिन्न संघ संस्थामा कार्यरत रहेका अर्याल हाल दहथुम बहुमुखी क्याम्पस, भाग्योदय मावि, शुभलक्ष्मी सहकारी संस्था लिमिटेडमा समेत आबद्ध छन्। उनी भीरकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष समेत हुन्। विभिन्न प्रतिष्ठानमा समेत आबद्ध रहेका उनलाई तत्कालीन केपी शर्मा ओली सरकारले युवा परिषद् स्याङ्जा अध्यक्षमा समेत नियुक्ति गरेको थियो।‌

भीरकोट नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अर्यालकी श्रीमती स्थायी शिक्षक हुन्। उनीहरु दुईकी एक छोरी समेत छिन्।

के बनाउन चाहन्छन् मेयर पदका उम्मेदवार विश्वनाथ अर्यालले भीरकोट नगरपालिकालाई?

  • शिक्षक, विद्यार्थी र प्रअ बीच मासिक रुपमा घुम्ती बैठक गर्ने। विद्यालय तहमा अध्ययनरत छात्रालाई निशुल्क सेनीटरी प्याडको व्यवस्था गर्ने।
  • भीरकोट नगरपालिकाभित्रका विद्यालयमा साइन्स ल्याब, रिडिङ रुम तथा स्मार्ट लाइब्रेरी बनाउने।
  • भीरकोट नगर अस्पताल बनाउने। २४ सै घण्टा एम्बुलेन्स सेवा प्रदान गर्ने। निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने। दीर्घरोगको उपचारमा नगरपालिकाले विशेष सहुलियत प्रदान गर्ने।
  • माटो परीक्षण गरी खेतिपाति लगाउने व्यवस्था गर्ने। बाँदर लाग्ने क्षेत्रमा बाँदरले नखाने तरकारीको बीउमा अनुदान दिने।‌
  • नगरपालिकाभित्रका सम्पूर्ण ग्रामीण तथा कृषि सडक व्यवस्थित गर्ने। बयरघारी-बिरुवा तथा बयरघारी-ढापुक-पर्वत सडकखण्ड कालोपत्रे गर्ने।
  • होमस्टे, ग्रामीण पर्यटन, साहसिक पर्यटन व्यवस्थित पार्ने लगायतका थुप्रै प्रतिबद्धता उनले निर्वाचन लक्षित प्रतिबद्धता-पत्रमा व्यक्त गरेका छन्।
Share Post on Social media