आगामी निर्वाचनमा खटिने म्यादी प्रहरीको तालिम शुरु

असोज ३०/स्याङ्जा: राम बहादुर रोकाहा

प्रतिनिधि सभा सदस्य  र प्रदेश सभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लामा भर्न गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ ।

आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग , भर्ना छनौट शाखाबाट यहि मिति भदौ २६ गते प्रकाशित भएको विज्ञापन अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट छनौट भई नियुक्त भएका म्यादी प्रहरी कर्मचारीहरुको तालिम शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा र मातहतका वडा प्रहरी कार्यालय वालिङ् र ईलाका प्रहरी कार्यालय चापाकोटमा म्यादी प्रहरीहरुलाई तालिम दिइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियुक्त भएका म्यादी प्रहरीहरुलाई एक हप्ताको तालिम दिइने र तालिममा अनुशासनबारे सिकाइने , आफुभन्दा सिनियर प्रहरी कर्मचारीलाई सलाम गर्ने तरिका , लौरो चलाउने तरिका र भिड नियन्त्रण गर्ने तरिकाबारे सिकाइनेछ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधी ४० दिनको हुनेछ भने सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतको  प्रमुख आतिथ्यमा आज तालिमको उद्घाटन गरिएको हो ।

Share Post on Social media