अवैध फर्निचर सहित चापाकोटका डिएसपी नियन्त्रणमा

कार्तिक १/स्याङ्जा: नारायण कोइराला/जीवन अर्याल

अवैध फर्निचर सहित इलाका प्रहरी कार्यालय चापाकोटमा कार्यरत डिएसपी खर्गनारायण शाहलाई नियन्त्रणमा लिइएको छ।

बिना बिलका फर्निचरका सामान लिएर चापाकोटबाट आउँदै गरेको सूचना पाएपछि पत्रकारहरु नारायण कोइराला र जीवन अर्यालले भीरकोटमा डिएसपी सहितको उक्त गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए।

बाटोमा नक्कली बिल देखाएर उम्कन खोजेका डिएसपी खर्गनारायण शाहले प्रहरी र वन कार्यालयको अगाडी प्रश्न गर्दा भने उनले आफूसँग बिल भरपाई केही नभएको दोहोर्याए। बाटोमा पत्रकारले घेरेपछि उनले आन्तरिक द्वन्द्वका कारण आफूलाई कसैले फसाएको र उम्कन पत्रकारहरुलाई त्यस्तो केही भए मिलाउँला भन्दै आर्थिक प्रलोभन समेत देखाउने प्रयास गरेका थिए।

प्रहरीले २ पलङ, ४ कुर्सी, २ टि टेबुल, १ हाते ट्रयाक्टर सहित आज ७ बजे डिएसपीलाई भीरकोटबाट नियन्त्रणमा लिएको हो।

अवैध काठबाट बनाइएका फर्निचर नक्कली निल बनाएर काठमाडौं लाँदै गर्दा ग ३ च ५५२५ नंबरको जीपमा लोड गरिएका फर्निचरका सामान सहित भीरकोटमा नियन्त्रण गरिएको हो। उनी यसअघि पनि विभिन्न काण्डहरुमा‌ मुछिएका डिएसपी हुन्।

जिल्ला वन कार्यालय स्याङ्जाका सहायक वन अधिकृत सरोज जमरकट्टेलको रोहवरमा उक्त फर्निचर सहितको गाडीलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

Share Post on Social media