स्याङ्जा जिल्लाको भीरकोटमा हेलिप्याड निर्माण गरियो

फागुन २८/स्याङ्जा: स्याङजा जिल्लाको भीरकोट नगरपालिका वडा नं ८ स्थित मोहनडाँडामा पालिकाकै पहिलो हेलिप्याड निर्माण गरिएको छ । वडाअध्यक्ष नन्दलाल खनालको पहल तथा वडाको लगानीमा पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको हो ।

नवनिर्मित हेलीप्याडको आइतबार उद्धघाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री मेखलाल श्रेष्ठले हेलिप्याड वडाध्यक्षको व्यक्तिगत पहलमा निर्माण गरिनु खुशीको कुरा भएको बताए । उनले आपतकालीन अवस्थामा अब हेलिप्याड प्रयोग गर्न सकिने हुनाले स्थानीयवासीले राहत महसुस गर्ने उनले जानकारी दिए।

आपतकालिन उद्दारका लागि ठाउँ भएतापनि आधिकारिक हेलिप्याड निर्माण हुन नसक्दा बिरामी उद्धारमा समस्या थियो । जिल्लामा पुतलीबजार ३ कुमाल गाउँमा आर्मीको १ आधिकारिक हेलिप्याड बाहेक अरू छैन।

हेलिप्याड करिब २ लाख लागतमा निर्माण सम्पन्न भएको हो। जसमा वडा कार्यालयबाट ५० हजार तथा वडाध्यक्ष नन्दलाल खनाल आफैले बाँकी रकम सहयोग गरेका हुन्।

Share Post on Social media