कालीगण्डकी नदीलाई पर्यटनसँग जोड्दै रामपुर नगरपालिका

असार ११/पाल्पा: विश्वमा शालीग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकी नदीलाई पर्यटनसँग जोड्न खोजिएको छ ।

शालीग्रामी नदी, कालीनदी र कालीगण्डकी जस्ता नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका गतिविधिका योजना स्थानीय सरकारले अगाडी सारेको रामपुर नगरपालिकाले जनाएको छ।

कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक सभ्यता र यसको पौराणिक महत्वलाई संरक्षण र सम्बर्द्धन गर्दै पर्यटन विकास गर्ने उदेश्यले पाल्पाको रामपुर नगरपालिकाले नदीको किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ ।

नगरपालिकाभित्र पर्ने नदी किनारै-किनारमा पैदलमार्ग बनाउने काम सुरु गर्न लागिएको जानकारी रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए । पैदलमार्गका लागि संघीय समपूरक कोषबाट रु ६० लाख, रामपुर नगरपालिकाबाट रु ६० लाख गरी रु एक करोड २० लाख बराबरको बजेट विनियोजन गरिसकिएको र जतिसक्दो छिटो काम सुरु गर्ने तयारी गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन्।

“कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसँग जोड्न सके आयआर्जन पनि हुन्छ” उनले भने।

तत्काल काम सुरु गरेर अबको एकवर्ष भित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना नगरपालिकाले लिएको छ। रामपुर नगरपालिका कालीगण्डकी करिडोरको मुख्य आकर्षण समेत हो।

Share Post on Social media