भीरकोट तथा पुतलीबजार नगरपालिकामा स्वच्छ पिउने पानीको अभाव! एउटै धारोमा भर पर्नुपर्ने बाध्यता!!
जीवन अर्याल/खबरकलम!
स्याङ्जा जिल्लाको पुतलीबजार तथा भीरकोट नगरपालिका आसपासका क्षेत्रमा स्वच्छ पिउने पानीको अभाव भएको छ। वर्षाका कारण पानीको मुहान धमिलिएको र पिउन अयोग्य भएका कारण पनि पिउने पानीको हाहाकार भएको स्थानीय वासिन्दाले बताएका छन्।
पुतलीबजार नगरपालिका वडा नं ११ तथा भीरकोट नगरपालिका वडा नं १ को सिमाना रेग्मीडाँडामा अवस्थित तीन धारामा हरेक दिन बिहान र साँझ पिउने पानी भर्ने मानिसहरुको भीड हुने गर्दछ। भीरकोट नगरपालिकामा पर्ने स्थानीय ठाउँहरु हेलु, नयाँबजार, हस्पिटल लाइन, स्कुल चोक, लामाचौर, जोगीफाँट र पुतलीबजार नगरपालिका अन्तर्गत पर्ने रेग्मीडाँडा,भलुवाडाँडा, मायाटारीसम्मका स्थानीयहरु पिउने पानीको लागि बोतल, गाग्री, प्लास्टिक जार बोकेर आउने गरेको स्थानीय शिक्षक एवं पत्रकार राजन प्रसाद पौडेलले बताए।
अघिल्ला वर्षहरुमा त यहाँको पानी नयाँबजारस्थित कन्साइन्स अंग्रेजी आवासीय मा वि ले पनि आफ्ना शिक्षक तथा विद्यार्थीलाई पिउने प्रयोजनको निमित्त प्रयोग गर्ने गरेको थियो। हाल भने कोरोना संक्रमणको कारण पठनपाठन ठप्प रहेकाले विद्यालयले प्रयोग गरेको छैन।
वि.सं. २०५७ सालमा पुतलीबजार नगरपालिकाका तत्कालीन मेयर उमेशचन्द्र थापा, उपमेयर नारायण प्रसाद मरासिनी, तथा वडाध्यक्ष हिमालय जंग केसी( स्वतन्त्र) को अगुवाई तथा स्थानीय पिताम्बर पौडेल, गिरिधारी पौडेल र नारायण रेग्मीको मध्यस्थतामा गठित उपभोक्ता समितिले उक्त धारा निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए। उक्त धारा निर्माण भने सिदार्थ राजमार्ग पीच गर्ने ठेक्का पाएको तत्कालीन शर्मा एन्ड कम्पनीले गरेको थियो।
पुतलीबजार नगरपालिका तथा भीरकोट नगरपालिकाको सिमानामा रहेको उक्त पानीको धारालाई संरक्षण, मर्मत तथा संवर्द्धन गर्न स्थानीय निकायले प्रभावकारी कदम चालिदिए निकै टेवा पुग्ने स्थानीयहरुको बुझाई रहेको छ। कम्तीमा पनि पानी पर्दा ओत लाग्न मिल्ने जस्ताको एक टहरासम्म निर्माण गरिदिए निकै राहत हुने उनीहरुको माग पनि छ।
उक्त धाराको पानीलाई पानी उद्योग संचालन गरेरै पनि सदुपयोग गर्न सकिने र प्रतक्ष्य रोजगारी सृजना गर्न सकिने संभावना भएपनि स्थानीय निकायको वेवास्ताका कारण हाल भने पिउनको अतिरिक्त सिंचाईका लागि पनि प्रयोग गर्ने गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्