हिरापाटा लिफ्टिङ खानेपानी आयोजनाको संघीय सांसद् राजु थापाद्वारा उद्घाटन 

खबरकलम डेस्क/स्याङ्जा : निर्माण सम्पन्न भएको लामो समयसम्म पनि उद्घाटन हुन नसकेको हिरापाटा लिफ्टिङ खानेपानी आयोजनाको अन्ततः संघीय सांसद् राजु थापाले उद्घाटन गरेका छन्। 

एक कार्यक्रमका बीच आयोजना गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पहिल्यै सम्पन्न भई कार्यन्वयनमा आउनुपर्ने आयोजना ढिलै भएपनि निर्माण सम्पन्न भएर उपभोक्ता माझ खानेपानी वितरण गरिएको कुरामा उनले खुशी व्यक्त गरे। 

तीजको अवसरमा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्दै उनले नेपालको संविधान नै नारीमैत्री संविधान भएको स्मरण गराउँदै राज्यको मूलधारमा नारीहरु समेत पुगिरहेको उल्लेख गरे। ५१ प्रतिशत जनसंख्या रहेको नारीको प्रतिनिधित्व राज्यमा जम्मा ३३ प्रतिशत पनि हुन नसकेको बताउँदै उनले चुल्हो, चौको, घरभित्रका कामबाट बाहिर आउन समेत अनुरोध गरे। घरभित्रै समेत नारीहरु हिंसामा परेको कुराले आफूलाई बेलाबेलामा दु:खी बनाउने गरेको बताउँदै नारी जागरण, सशक्तीकरणमा हरपल आफूले साथ दिने प्रतिबद्धता जनाए। 

डिभिजन खानेपानी कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरे। वहुवर्षे योजनाको रुपमा आर्थिक वर्ष २०७२/७३ मा सर्वे भई आर्थिक वर्ष २०७४/७५ बाट काम सुरु भएको उक्त आयोजनाको जम्मा लागत रकम ३ करोड ४९ लाख हो I जसमध्ये संघीय सरकारले ३ करोड र ४९ लाख स्थानीयले बेहोर्ने गरी काम सुरु गरिएको थियो I १६५ घरधुरी लाभान्वित हुने तथा एक घर एक धारा जडान हुने गरी सर्वे गरिएको उक्त आयोजनाको आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न भई १६० घरधुरीलाई खानेपानीको सुविधा प्रदान गरिरहेको छ।

आयोजनाको भौतिक अवस्थाको जानकारी

पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको सिमाना ठाडाखेत स्थित दरौंखोला नदीबाट पानीलाई लिफ्टिङ गरी हिरापाटा स्थित ट्यांकीमा पुर्याएर प्रशोधन गरी वितरण गर्ने भौतिक संरचना सहित उक्त आयोजना निर्माण भएको हो I हाल यस आयोजनामा आरसीसी सम्प वेल (इनार) १ वटा, एउटा पम्प हाउस, plain sedimentation tank १ वटा, शुद्धीकरण फिल्टर १ वटा, ७५ घनमिटरको पानी ट्यांकी तथा लाम्पाटामा खानेपानी वितरण गर्ने प्रयोजनका लागि २५ घनमिटरको वितरण ट्यांकी तथा एक चौकीदार घर समेत निर्माण भएको छ I

कम्पाउण्ड वाल, रिटेनिङ वालसहितको ट्यांकी, जीआई पाइपलाइनसहितको वितरण लाइन तथा विद्युतीकरण सहितको सुविधा उपलब्ध रहेको उक्त खानेपानी आयोजनाबाट हाल १६० घरधुरीले खानेपानीको सेवा लिईरहेका छन् I

Share Post on Social media