ठाडाखेत मैनिखाँमा बक्स कल्भर्ट मोटरेवल पुलको सांसद् राजु थापाद्वारा उद्घाटन

मंसिर १५/स्याङ्जा : स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ र अर्जुनचौपारी गाउँपालिका वडा नं १ जोड्ने ठाडाखेतस्थित बक्स कल्भर्ट मोटरेवल पुलको राजु थापाले उद्घाटन गरेका छन्। 

पुल उद्घाटन कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत दुर्गा अर्याल पोखरेलले गरेकी थिइन्।

विशिष्ट अतिथिको रुपमा उपस्थित अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पुलको आवश्यकता महसुस गरी योगदान गर्नुहुने सम्पूर्णलाई स्मरण गर्दै  पुल बनेपश्चात यसको प्रयोग मार्फत अर्जुनचौपारी गाउँपालिका समेतको विकास र श्रीवृद्धिमा सहयोग पुग्ने आसा व्यक्त गरे। संघीय सांसद् राजु थापाको नेतृत्वमा भएका विकास निर्माणका कार्यका लागि उनले धन्यवाद समेत ज्ञापन गरे। 

प्रमुख अतिथि राजु थापाले पुल बनेपश्चात उद्घाटन हुन ढिला भएको बताउँदै यसले अझैपनि आममानिसमा भएको चेतनाको स्तरलाई परीक्षण गरिरहेको बताए। उनले अरु देशको तुलनामा नेपालमा कम विकास भएको स्वीकार गर्दै फेरिपनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भैरहेका विकास निर्माणमा गति दिन राजनीतिक दल, स्थानीय, राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्णलाई एकजुट हुन आग्रह गरे। 

पञ्चायतका ३० वर्षमा भन्दा बहुदल आएपछि विकासले गति लिएको, नागरिकको शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुमा सुधार आएको र जीवनस्तर समेत गुणस्तरीय बनेको उनको जिकिर थियो। 

२०७० सालमा आफू पहिलोपटक संविधानसभा निर्वाचनमा निर्वाचित भएर विजय र्यालीमा आउँदा यहाँका नागरिकले गरेको मागअनुसार स्वर्गीय कमल पंगेनी, गणेश गुरुङसहितको सहयोगमा यो पुल निर्माण गरिएको उनले बताए। २०७० सालसम्म दरौंखोलामा एउटा पनि पक्की पुल नभएको दरौंखोलामा अहिले ४,५ वटा पुल बनिसकेको बताउँदै भौतिक पूर्वाधार विकासमा नेपालले प्रगति गरिरहेको उनको भनाइ थियो। 

आज उद्घाटन गरिएको पुलको सर्वेक्षण २०७० साल पुष ५ गते भएको थियो भने शिलन्यास २०७४ साल भदौ २३ गते भएको थियो। ३ करोड ४१ लाख लागतमा यो पुलको निर्माण कार्य सम्पन्न भएको हो।‌ 

पुल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राजु थापा, विशिष्ट अतिथि पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष तारा अर्याल, अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा, सांसद् राजु थापाका पिए कुमबहादुर गुरुङ लगायतका शिक्षक, कर्मचारीहरु, पत्रकार र स्थानीयहरु उपस्थित थिए। संघीय सांसद् राजु थापालाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।

झापाकोट युवा क्लबको तर्फबाट सूर्यबहादुर जिसीले सांसद् राजु थापालाई आफूहरुले अपेक्षा गरेका कुराहरुको लिष्ट नै बनाएर मागपत्र प्रस्तुत गरेका थिए। उक्त मागपत्रलाई‌ सम्बोधन गर्दै सांसद् राजु थापाले जायज माग पूरा गर्न आफू सकरात्मक भएको उल्लेख गरेका थिए।

उक्त मोटरेवल पुलको उद्घाटन कार्यक्रमको सञ्चालन मनबहादुर रोकाले गरेका थिए भने अध्यक्षता तथा समापन पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले गरेका थिए।

Share Post on Social media