कालिका मावि झापाकोटको ३३ औं वार्षिक उत्सव सम्पन्न
खबरकलम संवाददाता/पुष २: पुतलीबजार नगरपालिका वडा नं १३ झापाकोटस्थित कालिका माध्यामिक विद्यालयको ३३ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ।
कालिका मावि झापाकोटको प्राङ्गणमा संघीय सांसद् राजु थापाको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश सांसद् सुधिर पौडेलको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। वार्षिक उत्सव कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी लगायतका व्यक्तिहरुको उपस्थिति थियो।
स्वागत मन्तव्य शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद रिजालले दिएका थिए। विद्यार्थीको तर्फबाट स्वीकृति रेग्मीले शुभकामना मन्तव्य राखेकी थिइन्। व्यक्तित्व विकास र चेतनाको स्तरलाई अभिवृद्धि गर्न विद्यालयको अमीट भूमिका रहने भन्दै विद्यालयको भूमिकसको सह्राहना व्यक्त गरिन्। शिक्षकको तर्फबाट नारायणप्रसाद पौडेलले आफ्नो भनाइ राख्दै विद्यालय सुन्दर भविष्य निर्माणको पवित्र ठाउँ भएको बताए। शिक्षक, अभिभावक, विद्यार्थी र समाज समेतको सकरात्मक भूमिकाबाट मात्र अप्ठ्यारो र चुनौतिको सामना गर्न सकिने र शिक्षाको सुन्दर फलहरु प्राप्त गर्न सकिने बताए।
स्याङ्जा जिल्लाका क्याम्पसहरुको प्रतिनिधित्व गर्दै स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा स्याङ्जा उमाविका संस्थापक प्राचार्य भरत लम्सालले सामुदायिक विद्यालयहरूमा कालिका माविले दिएको शैक्षिक गुणस्तर र नतिजाको मूल्यांकन सँधै भैरहने बताए। कालिका माविको गर्विलो इतिहास स्मरण सँधै गर्दै अगाडी बढ्नुपर्ने कुरामा उनको जोड थियो।
शिक्षक अभिभावक संघ कालिका माविका पूर्वअध्यक्ष डिल्लीराम कोइरालाले शुभकामना मन्तव्य राख्दै विद्यालयमा राजनीति घुस्न नहुने भन्दै विद्यालयलाई शिक्षाको मन्दिर बनाउनुपर्ने कुरामा जोड दिए। शिक्षा क्षेत्रमा योगदान दिएको शैक्षिक व्यक्ति नै शिक्षालयमा सक्रिय रहनुपर्ने बताए।
पूर्वविद्यार्थी मञ्चको तर्फबाट बोल्दै बोधराज गौतमले दुर्गन्धित राजनीतिबाट शिक्षालाई टाढै राखी समुन्नत शिक्षा प्रवाहमा अविरल रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका तर्फबाट पूर्वअध्यक्ष दोबबहादुर कार्कीले राम्रो कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्न सक्ने नागरिक उत्पादनमा विद्यालयले सकरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। विद्यालयमा मात्र सीमित नगराई घरमै पनि विद्यार्थीलाई सही संस्कार दिनसके मात्र अपेक्षा राखेको नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो। पुतलीबजार नगरपालिका वडा नं १३ का वडाध्यक्ष जुद्धबहादुर थापाले शिक्षाको गुणस्तर समाज सुध्रिए मात्र उकासिने भन्दै समुन्नत समाज निर्माण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।
पुतलीबजार नगरपालिकाकस नगरप्रमुख तुलसीराम रेग्मीले शुभकामना मन्तव्य राख्दै नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन नगरपालिकाले समेत आन्तरिक रुपमा २ करोड रकमभन्दा बढी विनियोजन गरेको बताए। उनका अनुसार शिक्षकको सरुवा तथा पदस्थापन समेत नियम र नीतिसंगत गरिएको बताए।
विशिष्ट अतिथिको रुपमा उपस्थित भएका गण्डकी प्रदेश सांसद् सुधिर कुमार पौडेलले शिक्षा क्षेत्रमा शिक्षक विद्यार्थी अभिभावक एकजुट भएमात्र संभावनालाई साकार पार्न सकिने बताउँदै शिक्षाबाटै सभ्य समाजको चित्रण हुने बताए।
प्रमुख अतिथि संघीय सांसद् राजु थापाले अबको समाजमा बहस राजनीतिमा नभई शिक्षा र शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिको विश्वव्यापीकरणमा हुनुपर्नेमा जोड दिए। देशको विकास, समाजको परिवर्तन शिक्षाबाट मात्र संभव छ भन्दै उनले अबका विद्यालयमा राष्ट्रियता पढाएर देशलाई माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने कुरा व्यक्त गरे।
विकास र निर्माण निरन्तर हुने प्रकृया भएकाले शिक्षालाई नै अब जोड दिएर अघि बढ्नुपर्ने बताउँदै राज्यले समेत शिक्षा क्षेत्रमा बजेट बढाएर काम गर्नुपर्ने कुरामा लाग्न आग्रह गरे। स्याङ्जा जिल्लाको चिनारी शिक्षित जनशक्ति नै भएकाले यो चिनारी चीरकालसम्म जानुपर्ने कुरामा सबैलाई सक्रिय हुन अनुरोध गरे।
आज आयोजित वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो। उत्कृष्ट नतिजा ल्याउने २०८० सालका एसईई परीक्षामा सहभागी विद्यार्थी दृश्या घिमिरे (३.८० जिपिए), स्मृति अर्याल (३.७५ जिपिए), नन्दनी अर्याल (३.७१ जिपिए), अनुसा कोइराला (३.६८ जिपिए) सम्मानित भएका थिए। शिक्षकहरुलाई समेत योगदानको मूल्यांकन गर्दै सम्मानित गरिएको थियो। सम्मानित हुने शिक्षकहरुमा बुद्धिप्रसाद घिमिरे, विजय श्रेष्ठ, ओमबहादुर जिटी, नारायण पौडेल, कृष्णशरण लामिछाने, लक्ष्मण न्यौपाने लगायत थिए। विद्यालयका प्रधानाध्यापक वीरबहादुर क्षेत्रीले प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष मिनप्रसाद कोइरालाले गरेका थिए। कार्यक्रम सञ्चालन भने शिक्षक सूर्यबहादुर जिसीले गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्