वालिङमा गीता ज्ञान प्रवचन,अध्ययन तथा वितरण कार्यक्रम सम्पन्न

पुष ६/वालिङ: विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जा , विश्व हिन्दु युवा संघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको संयुक्त आयोजनामा गीता ज्ञान प्रवचन, अध्ययन तथा वितरण कार्यक्रम वालिङस्थित पतञ्जली सभाहलमा सम्पन्न भएको छ।

आज आयोजित कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले गरेका थिए। उक्त कार्यक्रममा पण्डित नेत्र प्रसाद पराजुलीले गीताको प्रवचन गरेका थिए। उनले गीता नै सबैभन्दा उत्कृष्ट पुस्तक भएको र मानव जगतलाई गीताले बाँच्ने कला सिकाएको बताए।

यस्तै कार्यक्रममा स्वागत मन्तव्य विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले राखेका थिए। उनले सनातन धर्मालम्बीहरु चुप लागेर बस्न नहुने कुरा बताउँदै त्यसका लागि सबै जना आ-आफ्नो ठाउँबाट उठेर आफ्नो कला संस्कृति बचाउनु पर्ने कुरामा जोड दिए। अध्यक्ष पौडेलले विश्व हिन्दु युवासंघ स्याङ्जा द्वारा गरेका कार्यहरुको जानकारी समेत दिएका थिए।

कार्यक्रममा धन्यवाद मन्तव्य केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष सीताराम अधिकारी र खगेन्द्र अर्यालले राखेका थिए। यसैगरी गीताको १२ औ र १५ औं अध्याय गुप्त प्रसाद गैह्रे, त्रिविक्रम अर्याल र लोकनाथ लामिछानेले पाठ गरेर सुनाएका थिए। कार्यक्रममा प्रवचन सुन्न आएका करिब २५० जनालाई गीता वितरण गरिएको थियो।

उक्त कार्यक्रमको सञ्चालन विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका सचिव भुपराज बगालेले गरेका थिए।

Share Post on Social media