अर्जुनचौपारीमा शिक्षक उत्प्रेरणा कार्यक्रम सम्पन्न, पालिकाभरका शिक्षक सहभागी 

खबरकलम संवाददाता /स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभरी विभिन्न विद्यालयमा कार्यरत शिक्षकलाई उत्प्रेरणा जगाउन अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। 

प्रमुख प्रशिक्षकको रुपमा हरिश ओली र त्रिभुवन नमुना माबि स्याङ्जाका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए। 

कार्यक्रममा सहभागी शिक्षकमध्येका एक शिक्षक नारायण काफ्लेले आजको कार्यक्रम निकै नै प्रभावकारी भएको र आफूहरुको पठनपाठन शैलीमा नै फरकपना महसुस भएको र शिक्षकले पढ्ने, आफूले सिक्ने र कक्षामा सिकाउने जाँगर उत्पन्न भएको बताए।

“म जिम्मेवार शिक्षक, म तयारी गर्छु र सिकाउँछु” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रशिक्षक हरिश वलीले उत्प्रेरणा मार्फत सम्पूर्ण शिक्षकलाई भावुक बनाए। समाजको प्रभुत्वशाली व्यक्तित्व नै शिक्षकमा रहने बताउँदै उनले शिक्षक हरेक प्रत्येकको लागि गर्व गर्न, अनुकरण गर्न लायकको व्यक्ति बन्नुपर्नेमा जोड दिए। संघर्षका कथा, सफलताका कथा मार्फत पठनपाठन गराउने तौरतरिका उनले प्रशिक्षणमा प्रस्तुत गरेका थिए।

अर्का प्रशिक्षक मुक्तिप्रसाद रेग्मीले प्रधानाध्यापकको खटाई विद्यालय सुधारको अचुक औषधि रहेको बताए। प्रअको व्यवस्थापन र शिक्षकको लगनले मात्र विद्यालय बन्ने उनको भनाइ थियो।

अर्जुनचौपारी गाउँपालिकाको क्यालेन्डर अनुसार हरेक शैक्षिक वर्षमा कम्तीमा पनि ४ पटक शिक्षक उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरु आयोजना हुनेछन्। 

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यालय भर्ना अभियानको समय, वर्षे बिदाको समय, चाडपर्वको छुट्टीको समय र वार्षिक परीक्षा हुनुपूर्व यस्ता कार्यक्रम आयोजना गरिने जानकारी दिए। आफ्नो पालिकामा कार्यरत शिक्षकलाई सकरात्मक उर्जा र मानसिकताका साथ कक्षामा जाने र शिक्षण सिकाइ क्रियाकलाप गराउने वातावरण बनाउन आफू थप क्रियाशील भएको बताए। 

अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभरीको नतिजा सार्वजनिक गर्ने, शैक्षिक कार्यदल बनाएर शिक्षक सहभागिता वृद्धि गर्ने तथा जिम्मेवारी प्रदान गर्ने, शिक्षासम्बन्धी कार्य गर्न कार्यदललाई अख्तियारी दिने जस्ता कार्य गरिरहेको छ भने अभिभावक शिक्षालाई समेत सशक्त बनाइरहेको छ।

आजको कार्यक्रममा २५० जना शिक्षकसहित, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित वडाध्यक्षहरुको समेत सहभागीता रहेको थियो।

स्याङ्जा जिल्लामै अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले आफ्नो पालिकाभरका विद्यालयमा रुप टू रिड कार्यक्रम समेत लागू गरेका छन्।

Share Post on Social media