भीरकोटमा IEMIS सम्बन्धी २ दिने कार्यशाला सम्पन्न
खबरकलम संवाददाता /स्याङ्जा: भीरकोट नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली IEMIS कार्यशाला सम्पन्न भएको छ।
मिति २०८२/१०/२७ र २८ गते भीरकोट नगरपालिकाको आयोजनामा नगरपालिकास्थित सामुदायिक तथा संस्थागत विद्यालयका IEMIS मा काम गर्ने शिक्षकहरुका लागि विद्यालयस्तरीय एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली Online Based IEMIS सम्बन्धी २ दिने अभिमुखीकरण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यशालाले शैक्षिक विवरण प्रविष्टमा परेका समस्या र IEMIS का थप विशेषताहरुका बारेमा सहजीकरण मार्फत प्राविधिक सहायता प्रदान गरेको थियो।
उक्त कार्यशालामा भीरकोट नगरपालिकास्थित विद्यालयका करिब ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण भीरकोट नगरपालिकाका सहायक शिक्षा अधिकृत विष्णु भट्टराईले गरेका थिए।
आज समापन कार्यक्रममा बोल्दै उक्त कार्यशालाका अध्यक्ष तथा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले शिक्षकको पेशागत विकास र समृद्धिका लागि नगरपालिका सदैव तत्पर रहेको बताउँदै भीरकोट नगरपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई कर्तव्यनिष्ठ बन्न अनुरोध समेत गरे।
