शिवरात्रीको अवसरमा नवग्रह मन्दिरमा अन्तर विद्यालयस्तरीय भजन प्रतियोगिता सम्पन्न
खबरकलम संवाददाता: महाशिवरात्रिको अवसरमा नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ।
नवग्रह मन्दिरधाम अर्जुनचौपारी जलबराहमा आज आयोजना गरिएको अन्तर विद्यालयस्तरीय भजन प्रतियोगितामा रामनदी गुरुकुल विद्यालयले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अमरज्योति मावि लामडाँडाले दोस्रो स्थान र अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले तृतीय स्थान प्राप्त गरेका छन्। प्रथम हुनेले नगद रु २५०००, दोस्रो हुनेले रु १५००० र तेस्रो हुनेले रु १०००० नगद पुरस्कार प्राप्त गरे।
भजन प्रतियोगितासँगै आज ख्यातिप्राप्त कलाकार पशुपति शर्मा र घनश्याम रिजालको जोडीको उपस्थितिमा भजन कन्सर्ट समेत आयोजना गरिएको थियो भने शिव ताण्डव डिजे साँझ समेत सम्पन्न गरिएको थियो।
वृद्धवृद्धालाई मात्र नभई युवा तथा बालबालिकालाई समेत अध्यात्म मार्फत समाज सुधारमा सकारात्मक प्रभाव बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। आपसी सद्भाव, भातृत्व, संस्कृतिको संरक्षण तथा आध्यात्मिक जागरणमा यो उत्सव महत्त्वपूर्ण बन्ने उनको भनाइ थियो।
महाशिवरात्रिको अवसरमा आज हजारौं भक्तजनले नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गरेका थिए। हरेक शनिबार नवग्रह मन्दिरमा विधिपूर्वक पूजाआजा गरिँदै आएको छ।
