नेपालमै छन्, चार धाम

फणिनारायण सिग्देल/असोज ५:

कयौँ नेपाली चारधाम दर्शन गर्न बर्सेनि भारततिर जान्छन् । नेपालमै चारधाम रहेको जानकारी विद्वत् वर्गबाट नगराइँदा नेपाली भारतमा लुटिएका छन् । यहाँ तिनै चारधामको दिग्दर्शन गरिएको छ ।

नेपालमै चारधाम रहेको वृत्तान्त मानसखण्डबाट स्पष्ट हुन्छ । प्रसिद्ध स्कन्द महापुराणमा हिमवत्, मानस, केदार, जालन्धर र काश्मीर खण्ड छन् ।

यी खण्डमध्ये मेचीदेखि कर्णालीको केही भागको महत्त्व वर्णन हिमवत् खण्डमा छ भने कर्णालीको बाँकी भागदेखि महाकालीसम्मको महत्त्व मानसखण्डमा वर्णित छ ।

वर्तमान नेपाल तथा सुगौली सन्धिपछि भारततिर पारिएको पहाडी भूभाग नै परम पावन वास्तविक देवभूमि हो भन्ने तथ्य पुराणहरूबाट स्पष्ट हुन्छ ।

भारतको केदार खण्डमा बद्रीनाथ, केदारनाथ यमुनोत्तरी, गङ्गोत्तरी गरी चार धाम जस्तै नेपालमा पनि क्षेत्रीय दृष्टिले हिमवत् खण्डका चार धामहरू (वराह, पाशुपत, मुक्ति क्षेत्र, जनकपुर) चार धाम मानिन्छन् भने नेपालभरिका दृष्टिले नेपाल हरिहर क्षेत्र हो, जहाँ हरि विष्णु भगवानका दुई वटा क्षेत्र (वराह क्षेत्र, मुक्ति क्षेत्र) तथा हर शिवजीका दुई वटा क्षेत्र (पाशुपत, वैद्यनाथ) क्षेत्रहरू रहेका छन् ।

उक्त चार क्षेत्र सबैभन्दा पवित्र चार धाम मानिएका छन् । यस्तै पश्चिममा पनि चार धाम वा चार क्षेत्र (मानस, छाया, वैद्यनाथ, ज्वाला) क्षेत्र मानिन्छन् तर समग्रमा त नेपालभरिका पूर्वोक्त चार क्षेत्र नै चार धाम हुन् ।

वराहक्षेत्र

वराह भगवानका कथाहरू धेरै पुराणमा छन्, जसमध्ये मुख्य वराह क्षेत्र कोशी किनारमा नै हो भन्ने कुरा मानसखण्डमा यसरी लेखिएको छ-

तत्र गत्वा नरःस्नात्वा कौशिक्याः सलिले शुभे । दृष्ट्वा च कमलाकान्तं वराह रूपमास्थितम् । सर्वान् कामानवाप्येह विष्णोः सायुज्य माप्नुयात् । अर्थात् हे पार्वती ! कोशी नदीमा नुहाएर लक्ष्मीपति वराह भगवानको दर्शन गरे भक्तले चिताएका कुरा पाउनेछन् । यो भनाइ शिवजीको हो ।

एक पटक शङ्कर भगवानलाई खुसी पार्न विष्णु भगवानले एक दिव्य भूमि रोजी मुक्ति क्षेत्रमा साह्रै ठूलो तपस्या गर्दा उहाँका गालाबाट पसिनाका धाराहरू बगे ।

उहाँको शरीरबाट दिव्य तेजपुञ्ज प्रकाशित भयो, दिव्य ध्वनि पनि सुनियो । देवताहरू त्यसको कारण बुझ्न ब्रह्माजी तथा शंकरजी लाई अघि लगाएर सो ठाउँमा पुगे ।

ब्रह्मादि देवताहरूले उहाँको दर्शन गरे । शिवजी र विष्णु भगवान् दुवै साह्रै खुसी भए । विष्णु भगवानलाई वरदान दिँदै शङ्कर भगवानले भने- मुक्तिक्षेत्रमिदं देव ! दर्शनादेव मुक्तिदम् । अर्थात् यो तीर्थको दर्शन गर्नासाथ मुक्ति प्राप्त हुन्छ ।

भगवानका गाला (गण्ड) बाट बगेको पसिनाको धाराबाट उब्जेकी नदी हुनाले नै उक्त नदीको नाम गण्डकी रहेको हो ।

यसमा दामोदर कुण्डबाट आएकी काली (कृष्णा) नदी कागबेनीमा मिसिएपछि उक्त ठूली नदीको नाम कृष्णा गण्डकी रहेको हो ।

उक्त पावनतम सङ्गमस्थलमा काकभुशुण्डीले सधैं श्रीरामकथा गान गर्छन् भनी रामायणहरूमा लेखिएको छ । उक्त कृष्णा गण्डकीको महिमा जति गान गरे पनि कम नै हुन्छ ।

वराह पुराणमा भनिएको छ- यज्ञस्तपोकवा दानं श्राद्धमीशस्य पूजनम् । यत् किञ्चित् क्रियते कर्म तदनन्तफलं भवेत् । अर्थात्त् त्यहाँ यज्ञ, दान, तप श्राद्ध , पूजा आदि प्रत्येक कर्मको फल अनन्त (गणना गरेर नसकिने) हुन्छ । यसै कारण संसारको पल्लो भागबाट समेत हरेक वर्ष कयौँ हिन्दुहरू यहाँ दर्शन गर्न आउने गर्दछन् ।

पाशुपत क्षेत्र

हिमवत् खण्डको ६९ औँ अध्यायदेखि ७७ औँ अध्यायसम्म पाशुपत क्षेत्रको परिचय र महत्त्वमाथि प्रकाश पारिएको छ ।

काठमाडौँ वाग्मतीको तटमा दिव्य पञ्चमुखी शिव विराजमान छन्, जहाँ सिद्ध महायोगीहरूले मात्रै उनको दिव्य ज्योतिर्मय स्वरूपको दर्शन पाउँछन् ।

अव्यक्तं परम लिङ्गं प्रकाशते ह्यहर्निशम् । दीपशिखाकृतिस्तच्च दृश्यं योगिभिरेव हि । ब्रह्मा र विष्णु भगवानले उक्त पशुपतिनाथको ध्यान गर्दा शिवजी र पार्वतीजीको दिव्य स्वरूपको दर्शन पाए । उक्त ज्योतिर्लिङ्ग केदारनाथ भगवानको शिरोभाग मानिन्छ ।

यसका महिमाको झलक-

ये पश्यन्ति शिव साक्षात् पञ्चव्यूह समन्वितम् । सर्वजन्मार्जितैः पापैश्चतुर्विधोद्भवैश्च ते । मुच्यन्ते तत्क्षणान्नूनं ज्ञानाज्ञानकृतैरपि । सर्वयज्ञफल लब्ध्वा सर्वदानोद्भवं तथा । धर्मोपवासपूजां स शिवलोके महीयते । (हिमवत् खण्ड नेपाल माहात्म्य)

अर्थात् जसले यो पञ्चमुखी दिव्य शिवलिङ्गको दर्शन गर्छ, ऊ जानी नजानी गरेका सबै जन्मका सबै किसिमका पापहरुबाट तुरुन्तै मुक्त हुनेछ । ऊ सबै प्रकारका दान, यज्ञ, धर्म, उपवासका फल प्राप्त गरेर सम्मानित भएर कैलासमा बस्न पाउनेछ ।

वैद्यनाथ क्षेत्र

शङ्कर भगवानलाई अति प्रसन्न गराउन राक्षसराज रावणले कैलाश पर्वतमा ठूलो तपस्या गरे पनि शिवजी प्रसन्न नभएपछि त्यहाँबाट दक्षिणतिर रहेको घोर जङ्गलको माझमा स्थित सिद्ध स्थानमा पुगेर शिवको ठूलो तपस्या गर्यो ।

शिव महापुराणमा भनिएकै छ-

ततश्चायं हिमवतः सिद्धिस्थानस्य वै गिरेः। पौलस्त्यो रावण श्रीमान् दक्षिणे वृक्षषण्डके ।
उक्त सिद्धिस्थानको परिचय तथा घटनाबारे स्कन्द पुराणको मानसखण्डमा लेखिएको छ-

वृद्धगङ्गा महापुण्या यत्र पुण्या सरस्वती । महर्षिभिः समाहूता मम प्रियचिकीर्षया । तत्र सङ्गमिते नद्यौ विद्येते वरवर्णिनि ! तत्र मध्ये महाक्षेत्रं मम प्रीतिकरं शुभम् । नास्ति भूमण्डले क्वापि कैलासेपि तथेश्वरि । अर्थात् हे पार्वती ! मलाई प्रसन्न पार्न महर्षिहरूले त्यहीँ वृद्धगङ्गा (बूढीगङ्गा) र सरस्वती (लुग्रेलीगाड) नदी उत्पन्न गराए ।

मलाई तीनै लोकमा त्यो ठाउँ जति प्यारो कुनै पनि ठाउँ छैन ,कैलास पनि छैन । उक्त ठाउँमा गएर रावणले आफ्ना नौ वटा शिर होमेर दसौँ शिर होम्न लाग्दा शिवजी ज्योतिर्मय रूपमा प्रकट भई उसका सबै शिरहरू जोडी उसलाई अतुलनीय बलशाली बनाएर उसका सबै कामनाहरू पूरा गरिदिए ।

यससम्बन्धमा शिव महापुराणमा लेखिएको छ-

तदा हि प्रार्थितस्तत्र संस्थितोसौ वृषध्वजः। वैद्यनाथेश्वरो भूत्वा प्रसिद्धोभूज्जगत्त्रये । दर्शनात् पूजनाज् ज्योतिर्लिङ्गरूपो महेश्वरः। उक्त क्षेत्रको महत्त्व मानसखण्डको १६६ औँ अध्यायमा विस्तृत रूपमा गान गरिएको छ ।

वैद्यनाथ विवेचना प्रचारको प्रभावले नै होला, भारत झारखण्डको देवघरमा रहेको शिवलिङ्गलाई नै वैद्यनाथ ज्योतिर्लिङ्ग भनी धेरैले मान्दै आएका छन् तर शिवपुराण तथा मानसखण्डअनुसार त त्यो कुरा मिल्दैन ।

उक्त सर्वमान्य शास्त्रीय प्रमाणअनुसार त नेपालकै अछाम जिल्लाको बूढीगङ्गाको तटमा रहेको शिवलिङ्ग नै उक्त ज्योतिर्लिङ्ग ठहर्छ, किनकि कैलास मानसरोवरदेखि दक्षिणको ठूलो जङ्गल र वृद्धगङ्गा त नेपालमा नै छन् ।

अर्को कुरा आद्य शंकराचार्यका अनुसार- प्रज्वलिका निधाने-श्रीवैद्यनाथं तमहं प्रपद्ये । अर्थात् ज्वाला क्षेत्रनेर नै वैद्यनाथको अवस्थिति भनिएको छ । पर्यल्यां वैद्यनाथञ्च डाकिन्यां भीम-शङ्करम्, इत्यादि अनुसार पर्यलीबाट परिवर्तित हुँदै बनेको पर्वा गाउँ उक्त वैद्यनाथ क्षेत्रको उत्तरतिर नजिकै छ ।

अतः सक्कली वैद्यनाथ क्षेत्र त नेपालको नै सिद्ध हुन्छ । जहाँसम्म भारतको वैद्यनाथको कुरा छ- शिवजीलाई सो पावन भूमि छोडेर लङ्कामा जाने इच्छा नभएकाले अछामबाट त्यहीँ पुग्दा रावणलाई पिसाबले अत्याएर बिसाउँदा त्यहाँबाट उठेनन् र त्यहाँ पनि रहे भन्ने जनश्रुति पनि सुनिन्छ ।

यसरी प्रकट भएका ठाउँमा एकरूप र बिसाएका ठाउँमा अर्को रूपमा रहेका हुन सक्छन्, किनकि एकोहं बहुधा स्याम्, अर्थात् एकबाट असङ्ख्य र असंख्यबाट एक हुन समर्थ हुने नै भगवान् हो ।

स्रोत: वर्णनमिडिया

Share Post on Social media