आँधीखोलामा जलक्रीडा संचालन हुँदै
असोज १६/खबरकलम संवाददाता: पछिल्लो समय स्याङ्जा जिल्लाको आँधीखोलामा जलक्रीडा संचालन हुन थालेको छ।
स्याङ्जा जिल्लाको बीच भाग भएर बग्ने आँधीखोला पौराणिक कालदेखि नै महत्त्वपूर्ण मानिन्छ। श्रवण कुमारले नेत्रबिहीन बाबुआमालाई कुटीमै छोडेर पानी खोज्नको निमित्त जंगलमा निस्किएको, उनलाई राजा दशरथले हरिण सम्झी वाण हानी मारेको, आफ्नो छोरालाई त्यसरी मारेपछि दशरथ राजालाई पनि पुत्रशोक परोस् भनी श्राप दिई उनीहरुले विलाप गर्दै रोएको र सोही आँसुको कारण अन्धाअन्धी दह उत्पति भएको पौराणिक कथा छ।
अन्धाअन्धी दहबाट उत्पति भएको आँधीखोलालाई आँधीगंगाको नामले समेत चिनिन्छ। स्याङ्जा जिल्लाको बीच भाग भएर बग्ने यस नदीको वारिपारि ठूलाठूला फाँटहरु समेत रहेका छन्। सेतिदोभान, लामागे, झापाकोट, भीरकोट, पकान जस्ता खेतियोग्य जमीनलाई यही आँधीगंगा (आँधीखोला) ले सिञ्चित गरेको छ।
पछिल्लो समयमा यसको पौराणिक महत्व मात्रै नभई पर्यटकीय आकर्षण समेत बढ्दै गएको छ।पौडी खेल देखि र्याफ्टिङ समेत यस नदीमा चलिरहेको छ। स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारदेखि वालिङ नगरपालिकाको वालिङ बजारसम्म २५ किलोमिटर भन्दा बढी लम्बाईको क्षेत्रमा र्याफ्टिङ संभाव्यता परीक्षण गरेर संचालन समेत भैसकेको तथा अन्य स्थानहरुबाट समेत यसको संभाव्यता अध्ययन भैरहेको स्थानीय निकायले जनाउँछन्।
आँधीखोला जलविद्युत आयोजना समेत यस नदीबाट संचालन भैसकेको छ। जसको क्षमता ५१०० किलोवाट रहेको छ, भने आँधीखोला जलविद्युत आयोजना ‘A’ को पनि संभाव्यता मूल्याङ्कन भैसकेको र १८० मेगावाट जलविद्युत आयोजना संचालन गर्न सकिने कुरा संभाव्यता अध्ययन प्रतिवेदनबाट प्रष्ट भएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्