विष्णु पुरीको यात्रा

जेठ १३

एक हातमा पासपोर्ट लिएर म पनि लामै लाइनमा थिएँ।

हरियो पासपोर्टको बाहिरी आवरणमा नेपाल लेखिएको थिएन। त्यो खाली थियो। हरियो आवारणको बीचमा नदीका दुई किनार जस्तै लामा र सेता धर्साहरु थिए।

“यो स्वर्ग जाने बाटो हो।” सानैमा मान्छे मर्दा लासको अघिअघि लैजाने लम्बेतान सेतो कपडा देखाउँदै हजुरबाले भनेको कुरा मैले झल्याँस्स सम्झिएँ।

कतै म पनि स्वर्गमा त छैन? मैले आफैंलाई चिमोटेँ। कताकता दुखेको महसुस भयो। अनि ढुक्क भएँ।

स्वर्ग भन्ने ठाउँ पाउन कहाँ सजिलो छ र? स्वर्ग पुग्न धेरै सत्कर्म गर्नुपर्छ। मैले त सत्कर्म गरेकै केही थिइन।

पालैपालो सबैले आ-आफ्नो नाम लेखिएका ढड्डाहरु खोले। त्यहाँ फेरी सबैले आफ्नो नाम लेखे। हस्ताक्षर गरे। र, हस्ताक्षर गरिसकेपछि एउटा लाइन दुई लाइनमा बाँडियो।

एक जीवनको लाइन। अर्को मृत्युको लाइन। मृत्युको लाइन धेरै लामो थियो। त्यो लाइनमा अनेकन मानिसहरु उभिएका थिए। हलिउड बलिउडका हिरोहरु थिए। रसलमेनियाका रेस्लरहरु। विश्वसुन्दरी, सुन्दर सुन्दर नायिकाहरु। व्यापारी, उद्योगी। नेताहरु सबै त्यै लाइनमा थिए। यी सबै दृश्य हेर्दाहेर्दै मेरो पालो आयो।

तिम्रो नाम के हो? हातमा दण्ड लिएका भगवानका दूत जस्तै देखिनेले मलाई सोधे।

प्रेम मैले अड्किएको स्वरमा भनेँ।

तिम्रो त नामै प्रेम रहेछ। कुन लाइनमा बस्छौ? फेरि ती दूतले मलाई प्रश्न गरे।

पाए त प्रेमकै लाइनमा बस्छु।

प्रेमको लाइनमा बस्ने के काम गरेका छौ?

च्यापुमा बुढी औंला अड्याउँदै मैले माथितिर हेरेँ। यसपटक माथितिर आकाश थिएन। आकाश देखिने ठाउँमा ठूलाठूला दरबारहरु जस्तै देखिने सुनका घरहरु थिए। प्रत्येक घरका बीचमा अग्लाअग्ला रुखहरु थिए। ती रुखमा लटरम्म फलेका फलफुलहरु पनि थिए। लहराइरहेका रुखसँगै सुनैसुन लगाएजस्ता केही मानिसहरु पनि देखिन्थे।

चराहरु उडेको उड्यै। गुँड नै नभएजस्तो। रुखमा बस्नै नपरे जस्तो। थकाई नै नलागे जस्तो। न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम नै फेल हुने जस्तो, कस्तो अचम्मको ठाउँ। शंख बजेको बज्यै। घण्टी बजेको बज्यै। नारायण नारायण मात्रै भजेको आवाज छ। दु:ख छैन। पीडा छैन। भोक छैन। शोक र सुर्ता पनि छैन। यो आनन्दको ठाउँ हो। यो धर्मीहरुको धाम हो। जो कोही यहाँ कहाँ आउन पाउँछ र??

पहेँलै सुनका धर्साहरु टल्केको धोति लगाएर एक बुढा पण्डित म तिरै आए। उनका दाह्री थिए मेराजस्तै बाक्ला। तर, ती दाह्री काला थिएनन्, सेता थिए। सेताम्मे दाह्री। आँखीभौं भने काला न काला।

तिमी को हौ? उनले फेरी त्यही प्रश्न दोहोर्याएर सोधे।

म प्रेम। मैले दोहोर्याएर उही उत्तर दिएँ।

अनि तपाइँ??

म अजामिल।

अजामिल??? म सोचमग्न भएँ। केही पहिले इभिनिङ वाक गर्दा मैले नारायण पोख्रेलले वाचन गरेको भागवत पुराण सुनेको थिएँ।

लकडाउन भयो। पोहोर साल। खाने र सुत्ने। उठ्ने र खाने मात्र गरियो। भुँडी बढ्यो। भुँडी यति बढ्यो कि निहुरिन पनि गाह्रो भो। सिधा हेर्दा खुट्टा नदेखिने। भ्यात्त बढेको पेट मात्र देखिने। श्रीमती पनि रिसाइन्। यत्रो पेट बना’र!

छोराछोरी पनि बेलाबेला मैतिर आएर मेरै पेटमा छुँदै मलाई गिज्याए। हाम्रा बाबाको दमाहा पेट। दाइने हातले पूर्व पश्चिम पेट कन्याउँदै म लजाएँ। अब दौडन्छु र पेट घटाउँछु।

लकडाउनको २ महिनासम्म हराएकी गर्लफ्रेन्डको एक्कासी फोन आयो।

के गर्दैछौ? उनले सोधिन्।

बस्दै। भुँडी‌ बढाउँदै। म पेट कन्याउँदै हाँसेँ। मेरो हाँसोमा उनको पनि मुस्कान मिसियो।

बढ्नुपर्ने त तिम्रो हो। तर, पेट मेरो बढ्यो। एक पिन्च दिएँ।

छ्या#### बोल्दाबोल्दै उनको फोन काटियो। या नेटवर्क गयो। या उनले रिसाएरै फोन काटिन्।

श्रीमतीले थाहा पाए मोबाइल फुटाउँछिन्। या त मेरा गाला फुट्छन्। भो कलब्याक नगर्ने। मैले फोन टेबलमा राखेँ। घुटुक्क एकचोटी थुक निलेँ। फलामको गेट घ्यार्र लतार्दै बाहिर निस्केँ।

ह्वाउँ-ह्वाउँ साइरन बजाउँदै एम्बुलेन्स आयो। लकडाउनभर एम्बुलेन्स यताउता धेरै दौडियो। बाटो सुनसान भएकाले एम्बुलेन्सको गति सीमित थिएन। मनलाग्दी दौडिन्थ्यो। मान्छे देखेपछि एम्बुलेन्सको साइरन अटोमेटिक बज्थ्यो।

शिरपाउ प्लाष्टिकको सेतै लुगा लगाएको एक ड्राइभर छ। कसैसँग बोल्दैन। अघिल्लो सीटमा उ एक्लै छ। उसको पछि निलो मास्कले मुख टालेका केही मान्छेहरु टाउको कुच्चाउँदै अडिएर बसेका छन्।

गोली जस्तै दौडिएर आएको एम्बुलेन्स अस्पतालमा घ्याच्च रोकियो। मैले खुट्टाका औँलामा बल लगाएर कुर्कुच्चा उचालेँ। ज्यान थोरै तन्काएर त्यै रोकिएको एम्बुलेन्स हेरेँ।

ला##### आज नि कोरोना लागेका मान्छे बोकेर आ’को रैछ।

एम्बुलेन्सको ड्राइभर झर्यो। आफ्नो सीटैनेरको ढोका ढ्याप्प लगायो। आधा राउण्ड हिँडेर पछिल्तिर पुग्यो। पछाडिको ढोका अलक्क खोल्यो। अनि छोइएला कि झैँ गरी थोरै तर्किएर अर्को छेउ पुग्यो।

निन्याउरो मुख बनाउँदै हातमा जेब्रा झोला बोकेर केही मानिस झरे। एक हातमा जेब्रा झोला। अर्को हातमा कालो बटारिएको म्याटको रोल। पाइला लतार्दै अस्पतालतिर सोझिए। अस्पतालको भित्ताले ती सबैको हिँडाई छेक्यो। बिस्तारै मान्छे पनि छेकिए।

कोरोना पोजिटिभ भएर आइसोलेसन बस्न आएका। आइसोलेसन होइन। जेल बस्न आएका। केही बेरमै विज्ञप्ति आयो। आज यति हजार मान्छे कोरोना संक्रमित। आईसोलेन लगिँदै। तर, त्यतिबेलासम्म कोरोना भाइरसले नेपालमा कसैलाई मारिसकेको थिएन।

म भित्र पसेँ। चिया बनाऊ। हाकिमी पारा अपनाएँ। श्रीमतीले चिया बनाएर टेबलमा राखिदिइन्। ठूलो कपको चिया मैले आफूतिर तानेँ। एक सुर्को के लगाएको थिएँ। चिनी आएको रैनछ।

चिनी त ल्याएकै थिएँ भो। आउने गरी हाल्दा के जान्छ? मेरा निधारमा पाँच वटा धर्साहरु परे। दौडिँदै छोरोले चम्चामा आधाआधी चिनी ल्यायो। कपको वल्लो पल्लो छेउ टिकटिक हुने गरी मैले चिनी फिटेँ।

उम्। बल्ल मजा आयो। ठडिएका दाह्री मुसार्दै म बेडमा पल्टिएँ।

त्यही साँझ म इभिनिङ वाक गर्न बाटोमा निस्किएँ। मुखमा मास्क, हातमा मोबाइल र हातको मोबाइलदेखि कानसम्म तनक्क तन्किएका इयरफोनका लहरा हल्लाउँदै म हाइवेमा हानिएँ।

हाइवे खालि थियो। हाइवेका छातिमा केही थान सुकेका पातहरु अडिएका थिए। घरि-घरि चलेको हावाले ती सुकेका पातलाई उडाउँदै यताउता सार्थ्यो। कैले ती पातहरु हाइवेको घाँटीसम्म पुग्थे। फेरि कैले हावाको मन्द वेगमा मडारिँदै हाइवेको नितम्बनेर पुगी टक्क अडिन्थे।

हाइवेको छातीमा यताउता गरिरहेका पातको छातिमा टेक्दै म दौडँदै थिएँ। एकसुरले कानमा भागवत पुराणको प्रवचन बजिरहेको थियो।

अजामिल नामको ब्राम्हण। नाममात्रको ब्राम्हण। पूजापाठ, जपतप केही छैन। विहानको घामले नितम्बको कुनामा लठ्ठी हान्दा पनि नउठ्ने। धर्मकर्म त परैको कुरा। ईश्वरको नाउँमा “ई” सम्म नभन्ने।

जंगलमा बस्ने। गिठ्ठा भ्याकुर खोज्ने खाने। सामाजिक संस्कार केही नभएको। मान्छे आए-गएको रुचाउँदै नरुचाउने। बहुतै जंगली। पोखरेलको प्रवचन गैरहेको थियो।

उनका नारायण नामका छोरा थिए। कान्छा छोरा। बुढेसकालमा पाएका छोरा सायद साह्रै मायालाग्दै हुन्छन् क्यार। तर, ती अजामिलले जीवनभर आफ्नै कान्छा छोरालाई बोलाउँदा पनि नारायण भनेनन्।

अजामिल बिरामी परे। अब उनको अन्तिम अवस्था भयो। थाहा पाउने वरपर कुटी बनाई बसेका सबै बोलाउन आए। मनपर्दा खाना, फलफुलहरु खुवाए। भजन कीर्तन सुनाए। तर, अजामिल बुढाले मर्न परे भगवानको नाम जपेनन्।

उनका आँखा लोलाए। शरीर गल्दै गयो। मुटुको चाल र नाडी सुस्तरी चल्न थाले। उनी बिस्तारामा लम्पसार परे। “मर्ने बेलामा हरियो काँक्रो” त्यै पनि केही भन्छन् कि भन्दै मानिसहरुले भगवानको नाम जपाउने अनेकौं उपाय रचे। तर, उनले हरियो भने हरिको नाउँ आउने पीरले काँचै पो भनिरहे।

बडो डरलाग्दा यमराजका दूतहरु उनलाई लिन आइरहेको देखे। उनी डराएर आत्तिँदै कान्छा छोरालाई बोलाए।

” अन्त्य नारायण स्मृति: ” उनले भगवानको नाम जपे। वैकुण्ठबाट सर्र हावामा उडेर विष्णुका दूतहरु उनलाई लिन आए। जीवनभर कहिल्यै भगवानको नाम नलिएका अजामिल त मर्ने बेला भगवानको नाम जप्दा वैकुण्ठ गए।

के जीवनमा पूण्य गर्नेहरु परमधाम नजालान् त? अवश्यमेव:

त्यै बेला फोन आयो। मेरो अनुहारमा पसिना तप्किरहेका थिए।

कहाँ छौ?

बाटोमा। बाटोमा के गर्दै? यो लकडाउनको बेला।

नाच्दै। अरु त के गर्नु?

कत्ति रिसाउन सकेको!

किन नरिसाउनु त। लकडाउन भएको कत्ति भो। के एक म्यासेज एक कल आयो?

तिम्लाई नमिल्ला भनेर नि।

किन नमिल्ने? फोन उठाएर बोल्न नमिले नि काट्न त मिल्थ्यो नि।

सरी डियर। उनी झुकिन्।

ल ठीक छ। फेरी बोलौँला। फोन काटेर फरक्क म फर्किएँ। अजामिलले वैकुण्ठ पुग्ने भर्याङका कति खुट्किला चढे। मलाई पत्तो भएन। म भने हाइवेको ओरालो झरेर कोठामा आएँ।

यसरी भएन। कुकरको बिर्कोलाई कुकरमै ढोक्काउँदै श्रीमती पड्किइन्।

के गरौँ त? पस्केको भात आफूतिर तान्दै मैले सोधेँ।

विदेश जानु! दुईचार पैसा कमाइन्छ‌। एक दुई जोर राम्रो लुगा लाउन पाइएला। मीठो खान पाइएला। घर बनाउन सकिएला। दुईचार पैसा भएपनि बैंकमा जम्मा होला।

तिम्रो कुरा नि ठीक हो। ऐलै जाम् त? म जुरुक्क उठेँ‌। हातबाट केही भातका सिताहरु भूइँमा खसे।

ऐलै जान त कसले भन्या छ? दुई साल त विदेशमा भीसा इस्यु होला जस्तो छैन।
तयारी गर्दै गर्नु न।

हुन्छ। मैले केही डल्ला साबुन, केही पत्ता स्याम्फु, केही जोर लुगा, एक टावेल, दुई जोर जुत्ता झोलामा हालेँ।

भयो श्रीमती ज्यु? म हाँसे।

श्रीमती पनि हाँसिन्। जिन्दगी रमाएरै जिउन जान्नुपर्छ।

मसँग पासपोर्ट थिएन। मैले पासपोर्ट बनाउनुपर्ने थियो। केही महिनापछि पासपोर्ट बनाउन प्रशासन कार्यालय गएँ। पासपोर्ट साइजको फोटो खिचेँ। बटारिएका राउडी स्टाइलका जुँगा सहितको फोटो आयो। प्रशासन कार्यालय गएर फाराम भरेँ। राजस्व तिर्न लामो लाइन बसेँ बैंकमा। बल्लतल्ल पालो आयो। पाँच हजार तिरेँ। एकमहिना पछि लिन प्रशासन कार्यालय नै जानू!

ख्वार्र रातो कलम राजस्व रसिदमा दौडाउँदै काउन्टरकी एक महिलाले भनिन्। निधारनेर आएको कपाल झ्वाट्ट टाउको झड्कारेर माथिसम्म पुर्याइन्। निलो सर्टमाथि लपक्क बसेको आइडी कार्डको फिता तनक्क तान्दै मिलाइन्।

ढ्याप ढ्याप पार्दै एउटा स्टामप्याडले राजस्व रसिदको गालामा बेस्मारी चड्काइन्। स्टामप्याडको थप्पडको डाम रसिदको गालामा रातै बस्यो। उनले त्यो रसिद मलाई दिइन्।

मैले रसिद समाउँदै पट्याएर गोजीमा हालेँ। मेरो पालो सकियो। फेरी उनको उक्त क्रियाकलाप दोहोरिईरह्यो।

उनको हातबाट दिनमा कति रसिदले कुटाई खान्छन् होला? कति रसिदको गालामा छाप पर्छ होला? देब्रे हातले दाइने गाला मुसार्दै म लाइनबाट पछि हटेँ। बैंकबाट बाहिरिएँ।

सिँढीका खुट्किला गन्दै तल झरेँ। बाइक स्टार्ट गर्दै हुर्र हुइँकिएँ।

मनमनै सोचेँ। कोरोना भाइरसको महामारी अन्त्य भयो भने त एकलट विदेशिन्छु। महिनामा लाख कमाउँछु। सुनका लाप्सा लाएर हिन्छु। तीनतले घर बनाउँछु।

बाटोको खाल्डोले मेरो दिवास्वप्ना क्षणभरमै उडाइदियो।

के हजार सपनाहरु सजाएर विदेश उडेका हजारौं नेपालीले आफ्नो सपना पूरा गरेका छन्?

मेरो मानसपटलमा एक्कासी “बोल माया….” गीत गुन्जियो। मन अमिलो भयो।

रातो बाकस, उजाडिएको सपना। टुटेको घर। कहिल्यै नफर्किने गरी टाढिएको भरोसा। $$$$$$$$

सन्नाटाले मनको कुना कुनासम्म हिर्कायो। म कतिबेला घर पुगेँ पत्तै भएन।

डियर आज त अल्लि बढी कुरा गर्ने है। उनको टेक्स्ट आयो मोबाइलमा। मैले हतारहतार फोन साइलेन्ट गरेँ।

जिन्दगीमा कुनै सम्बन्ध र कुनै घाउ यस्ता हुन्छन्, जो देखाउन मिल्दैन। महसुस मात्र गर्न सकिन्छ।

उनको मेरो सम्बन्ध पनि यस्तै थियो। न देखाउन मिल्ने। न सुनाउन मिल्ने।

अप्ठ्यारो ठाउँमा आएको पिलोजस्तै दुख्दै मैले मोबाइलको ब्राइटनेस कम गरेँ।

आज मलाई त्यति सन्चो छैन। मैले सानो म्यासेज फेसबुकमा छोडेँ।

बहाना नबनाउ। उनको रिप्लाई आयो।

बहाना होइन। बाध्यता हो। चाहना र बाध्यतामा गुडाउनुपरेका सम्बन्धबारे मलाई सोध्नु। म उपन्यास बनाउँला।

ठीकै छ। गुडनाइट।

मैले नमस्ते इमोजी पठाएँ। उनले हेरिन्। तर, रिप्लाई गरिनन्। म्यासेज आउला भनी कुरिबसेको भुसुक्कै निदाएछु।

ब्युँझिएपछि एकपल्ट फेसबुक खोल्न मन लाग्यो। खोलेँ।

“समवन ह्याज इग्नोर्ड मी” स्टोरी रहेछ।

मलाई पनि लेखुँ-लेखुँ लाग्यो। पखेटा काटिएको चरी उड्न उड्न खोज्छ। तर, उड्न सक्दैन। हात बाँधिएको मान्छे दौडन-दौडन खोज्छ। तर, दौडन सक्दैन।

त्यही रात मोबाइलमा सिस्टमको म्यासेज आयो। पासपोर्ट लिन सकिने व्यहोराको।

अनि मलाई निद्रा परेन। कहिले उज्यालो होला र लिन दगुरौँला भनी छटपटी भयो। त्यो रात मैले पाँच अंखोरा पानी पिएछु।

एक महिनापछि आउन लागेको पासपोर्ट। पासपोर्टमा प्रिन्टेड मेरा राउडी जुँगा कतिबेला हेर्दै मुसारुँ भैरह्यो। जिन्दगीमा घडीको सुई चल्दै नचलेको त्यै दिन हो।

यति आतुरी त कहिल्यै प्रेमिकाको कपाल मुसार्न पनि भएन।

लाइनैलाइन।

जे कुरामा पनि लाइन लगाउनुपर्ने देश त यै नेपाल होला। ट्वाइलेटमा लाइन। अफिसमा लाइन। बैंकमा लाइन। चुनावमा भोट हाल्न लाइन। भत्ता लिन बुढाबुढीको लाइन। दरखास्त फाराम भर्न युवायुवतीको लाइन। पासपोर्ट बनाउन बेरोजगारहरुको लाइन। बाटोमा गाडीको लाइन। अस्पतालमा बिरामीको लाइन। चौकीमा अपराधीको लाइन। जंगलमा तस्करको लाइन। अदालतमा भ्रष्ट्रहरुको लाइन। जग्गामा दलालको लाइन। घाटमा मूर्दाहरुको लाइन। एयरपोर्टमा राता बाकसका लाइन।

यो देशमा लाइन नहुने एक ठाउँ जेब्रा क्रस मात्रै रहेछ। किनकी जेब्रा क्रसमा हिड्ने मान्छे नै नहुने रहेछन्।

लाइन बसेर पासपोर्ट लिएँ। बाहिरी कभर हरियो थियो। अरु हेर्नै भ्याइन। वरिपरिका मान्छे मैलाई हेरेर हाँसे जस्तो लाग्यो। पासपोर्ट कालो झोलामा हालेँ र बेतोडले घरतिर हुइँकिएँ।

यी पासपोर्ट। श्रीमतीलाई पासपोर्ट देखाएँ।

उनले पासपोर्टको अगाडि हेरिनन्। सिधै पछिल्लो पाना फर्काइन्। आफ्नो नाम छ छैन हेरिन्।

किन राख्थ्यो? उनको रिसाएको आवाज निस्की त हाल्यो।

ज्या### बिर्सेछु। आखिर त्यहाँ नाम किनै पो चाहियो? त्यहाँ श्रीमतीको नाम थिएन। बाको नाम थियो।

सृष्टिको सुरुमा यो विश्वमा भगवान विष्णु मात्रै थिए रे। पानीमा निदाई बसेका! त्यै भ’र बाकै नाम राख्दिएँ।

पासपोर्ट नेपाल भनी रैनछ त। श्रीमतीले बाहिरी पानो बल्ल मलाई पनि देखाइन्। मैले पनि हेरेँ। नयाँ डिजाइन होला। हामी दुवैको एकै स्वर निस्कियो।

त्यो रात म सुतेँ। पासपोर्ट सिरानीमै राखेर।

नाइल र अमेजनभन्दा लामा र ठूला नदीहरु तर्न मान्छे संघर्ष गरिरहेका थिए। कति नदीमा झ्याप्पै हाम फाल्थे। नदीसँगै बगेर कता हो कता पुग्थे। पौडन जानेकाहरु पौडे जस्तै गर्थे। थाकेर तिनीहरु पनि नदीमै गाडिन्थे।

नदीको किनारमा बसेर मैले यी सबै दृश्य हेरिरहेको थिएँ। यो बैतर्नी नदी हो। सहजै पार गरेर जान सकिन्न।

पछिबाट कसैले सुनायो।

के यो नदीमा पुल हुँदैन?

पुल हुन्छ। तर, धेरै लामो हुन्छ। उस्तै परे एक महिनासम्म पनि पुल तरेर पारी जान सकिन्न। हल्लिन्छ। फरक्कै फर्कन पनि सक्छ। पापीहरु त यो पुलबाट सिधै खोलामा हुत्तिन्छन्।

म त एक नंबरको पापी हुँ। लुकीछिपी प्रेम गरेको छु। लुकी-लुकी गर्लफ्रेन्डसँग डेट गरेको छु।

ल हिँड। सँगैजाम्। एक जना बुढा बा ले मेरो हात च्याप्प समाते। मेरो सास आए जस्तै भयो।

केही दिन भो। महापुराण लगाएको। बाले हरि भजन गुन्गुनाए। बा को पछिपछि मैले पनि हति भजन जपेँ।

तीन दिनसम्म लगातार हिँडेपछि बल्ल पुल तरियो। अब त थकाई लाग्यो। बसौँ।

बा बस्न मानेनन्। यहाँ बसियो भने पछि आउनेले जित्छ। स्वर्ग छिर्ने ढोका बन्द हुन्छ। बा रोकिएनन्। बुढेसकालमा पनि उनको जोश मेरो भन्दा तकडा थियो।

हामी दुईजना लुरुलुरु हिँड्यौँ। पुल तरेर केही सम्मो बाटो हिँडेपछि फेरी खुट्टै फर्काउने ओरालो आयो।

त्यो तल देखिएको गंगा नदी हो। महादेवको जटा भएर बग्ने नदी। यो बाटो सुरक्षित मात्र हिँड्ने तल पुग्छन्। दौडिए गंगामा मिसिन्छन्।

यो ओरालो कसरी दौडनु? जिन्दगीको ओरालो यतिसम्म तल पुग्दो रहेछ।

दुई दिनको ओरालो बाटो हिँडेपछि भीमकाय पहाड आयो। सुमेरु पर्वत। त्यो पर्वत पुग्न धेरै नदी पार गर्नुपर्ने रहेछ।

तेलको नदी। रगतको नदी। पीपको नदी। सिँगानको नदी। पिसाबको नदी। आँसुको नदी। पसिनाको नदी। थुकको नदी।

यो नदी पार गरेपछि १४२० किमी हिड्नुपर्छ। बल्ल अर्को एक फलामे ढोका आउँछ। त्यो ढोकामा जो पनि छिर्न मिल्छ। त्यो ढोकाबाट थप १००० किमी हिँडेपछि त्यसपछि, एक बाटो आउँछ, पहाडसम्म पुग्ने।

त्यहाँसम्म पुग्न सर्पको बाटो। गोहीको बाटो। बाघको बाटो। भालुको बाटो पार गर्नुपर्छ। यी सबै बाटो हिँडेपछि अनि अर्को बाटो आउँछ आगोको बाटो।

यो‌ आगोको बाटोमा खारिएर हिँडेपछि बल्ल सुमेरु पर्वत पुग्न सकिन्छ। बा ले बोल्दै हिडिरहे। लाग्छ, उनी स्वर्गबाट मैलाई लिन आएका हुन्। यी सबै कुरा मेरै लागि भनिरहेका छन्।

हामी हिँडेको हिँड्यै गरियो। बाटोमा कुण्डै-कुण्ड थिए। कुनै तातो तेलका कुण्ड। कुनै पीपका कुण्ड। कुनै दु:खका कुण्ड। कुनै धोकाका कुण्ड।

मान्छे नै मान्छे चिच्याएका आवाजले भरिएको नरकको बाटो हिँडेर स्वर्ग पुग्न खोज्नु फलामका चिउरा चियासँग चपाउनु बराबर थियो।

पापको भकारी कस्तो हुन्छ? मैले त्यो कुण्डै-कुण्डमा देखेँ। जो कहिल्यै नभरिने खालको थियो।

सुमेरु पर्वतको छेउनेर पुग्दा बा हराए। मैले यताउता हेरें। कतै देखिन। मनमनै सोचेँ, ” मैले हरि नाम जपेर यहाँसम्म बा को साथ पाएँ।”

भगवानको नाम जप्नुपर्ने यै दु:खको सागर पार गर्नको लागि रहेछ।

यो यात्रामा निस्केको नौ दिन भैसकेको थियो।

कहाँबाट आएको? सुमेरु पर्वतको द्वारपालले सोधे।

नेपालबाट। मैले भनेँ।

ए। उसो भए यो गेटमा छिर्ने! उनले एउटा सानो गेट देखाए।

त्यो अर्को गेटबाट जान मिल्दैन? मैले सोधेँ।

नियम मिचुवाहरु त्यो गेटबाट जानै मिल्दैन। हस्। म लुरुलुरु खियाले मक्किएको सानो गेटभित्र पसेँ।

कस्तो नेपालै जस्तो। जताततै भद्रगोल। लथालिङ्ग। सबै कुरा बिग्रेको जस्तो। छोडिएको घर जस्तै उदांगो। नेपाल बाहेक अर्को लोकमा पनि नेपाल रहेछ।

जताततै ब्यानर र भित्ते पेन्टिङ। यहाँ कमिसनमा कारोबार गरिन्छ। यहाँ राजस्व छली रसिद पाइन्छ। यहाँ खाता खोले कर तिर्नै पर्दैन। यहाँ सांसदको किनबेच हुन्छ।

यहाँ वकिल र न्यायाधीशको कोट पाइन्छ। लाइसेन्स बिक्रीमा छ। यहाँ न्याय प्रति केजी आलुसरह खरिदबिक्री गरिन्छ। यहाँ सरकार ढाल्न तालिम दिइन्छ। यहाँ अक्सिजनको सिलिन्डर तस्कर गरिन्छ। यस्तै-यस्तै।

म अल्लि अघि गएँ।

मध्यावधि निर्वाचनको लागि यहाँ सम्पर्क गरी उम्मेदवारी दर्ता गर्नुहोस्। जित पक्का हुनेछ। लेखिएको तुल र ब्यानर देखियो।

म अझै अघि गएँ।

यहाँ औषधि कमिसनमा पाइन्छ। देखियो।

म अझै अघि गएँ। यहाँ संसद् विघटन गर्न मिल्छ। भन्दै एक व्यक्ति चिच्याईरहेको सुनेँ।

तीन दिन हिँड्दा पनि यो कमिसनको गल्ली छिचोलिएन।

धेरै पर एक सानो जस्ताको बोर्डमा साना अक्षर देखिए। त्यहाँ लेखिएको थियो।

” कमिशन मार्ग भ्रमण गर्नुभएकोमा धन्यवाद”

बाह्रौं दिनको दिन म अजामिल ब्राम्हणकोमा पुगेँ। उनले मलाई हातमा एक चिर्कटो थमाए।

नहेर्नु! यो लगेर बस्, काउन्टरमा दिनु!

हस्। म आकाशमा उडेँ। हावाले मलाई अवरोध गरेन। तौल नै नभएको महसुस भयो।

म यो पृथ्वीलोकभन्दा धेरैमाथि पुगेँ। अलकापुरी। अमरापुरी। चम्पापुरी। विजयपुरी।धेरै पुरीहरु पार गर्दै म अझै अघि गएँ। ब्रम्हपुरी आयो। मैले फोटोमा देखेका ब्रम्हालाई देखेँ।

ठ्याक्कै चारवटा टाउका। लामा दाह्री। कमलको डाँठमा निदाईरहेका।

यो संसार सृष्टि गरिसकेपछि थकाई मार्न सुतेका ब्रम्हा अझै निदबाट उठेका छैनन्। कतैबाट आवाज सुनियो।

मैले ब्रम्हपुरी पार गर्दै विष्णुपुरीतिर हानिएँ।

बाटोमा विष्णुका दूतले रोके। पासपोर्ट छ?

छ। मैले हरियो पासपोर्ट देखाएँ।

उनले हेर्दै पासपोर्ट मैलाई फिर्ता दिए। नेपालबाट आउनेलाई विष्णुपुरीको भिसा मिल्दैन। उनले हप्काए।

किन हजुर?

मिल्दैन भनेपछि मिल्दैन। टिपेर फाल्दिम्?

मैले हात जोेडेँ। मात्र एकपल्टलाई हजुर। म विष्णुपुरी हेरेर मात्रै फर्किन्छु।

चुप्। पैलेपनि तँ जस्तै नेपालीले मलाई ठगे। एकपल्ट हजुर। भनी गएर ऐलेसम्म फर्की आएनन्। नेपालका प्रधानमन्त्रीले सबैलाई ओलिटिक्स सिकाएर पठाउँछन् क्या हो?

तपाइँलाई नेपालको प्रधानमन्त्रीबारे पनि थाहा छ?

किन थाहा नहुनु!

अघि तिमी कुन गल्ली हुँदै आयौ?

कमिसन गल्ली हजुर।

हो। त्यै कमिसन गल्ली भगवान विष्णुले नेपालको प्रधानमन्त्रीलाई छुट्याएर राखेको ठाउँ हो। तिम्रो देशका प्रधानमन्त्री कमिसन र कुर्सी नभई बस्नै नसक्ने रैछन्।

मलाई हाछ्युँ आयो। हाछ्युँ########

मास्क छैन? विष्णुका दूत कड्किए।

छैन हजुर। बाह्र दिनसम्म एउटै मास्क लगाई हिँड्दा फाट्यो।

कोरोना छ?

पिसिआर छ हजुर। मैले गोजीबाट पिसिआर गरेको रिपोर्ट देखाएँ।

आइसोलेसन बसेको होइन?

बसेको हो हजुर।

आइसोलेसनबाट कसरी भागेर यहाँ आइस् त?

के गर्नु हजुर! पिसिआर गरियो। सबैलाई कोरोना लाग्यो। नेपालबारे त तपाइँलाई थाहै छ हजुर। न बेड पाइन्छ। न अस्पतालमा भर्ना! न डाक्टरको उपचार मिल्छ। न औषधि। न अक्सिजन छ। न अक्सिजनको सिलिन्डर।

अक्सिजनको सिलिन्डर भनी वनमन्त्रीले एक सिलिन्डर उपहार पठाए। स्वास फेर्न गाह्रो भएर सिलिन्डर नाकमा सुईरो जोडे लगा’को। कार्बनडाइअक्साइड परेछ हजुर।

अनि त म त सिधै यहाँ आइपुगे नि हजुर।

अनि विष्णुपुरी नै कसरी आइस्?

आजको बाह्र दिन अघि बेलुका कोरोना पोजिटिभ भनी पोष्ट गर्याथेँ हजुर फेसबुकमा। गाउँ र समाजका सबैले छि:छि: दुरदुर गरे। कोरोनाको कहर एकातिर छि:छि: दुरदुर अर्कोतिर।

भजन लगाएर सुत्याथेँ।

अन्त्य नारायण स्मृति: हजुर। कोरोनाले सिधै यहाँ ल्याई पुर्याएछ।

फेरि पिसिआर गर्नु पर्दैन?

पर्छ नि हजुर। अब त सरकारले गर्दिए पो पर्छ त।

ल जा! म प्रधानमन्त्रीलाई भन्दिन्छु।

विष्णुका दूतले विष्णुपुरीबाट प्रधानमन्त्रीको नंबर डायल गरे।

प्रधानमन्त्रीको उत्तर आयो। “म ऐले शितलनिवासमा व्यस्त छु! पछि सम्पर्क गर्नुहोला”

एक कोल्टे फेरेँ। म खाटको कुनोमा मोबाइल समाइरहेको थिएँ।

जीवन अर्याल (स्याङ्जा)

Share Post on Social media