अर्जुनचौपारी गाउँपालिकाका दुई उत्कृष्ट विद्यालयले नगद पुरस्कार सहित सम्मान पाउने
साउन २/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिकाले पालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई नगद पुरस्कार दिने व्यवस्था गरेअनुरुप दुई विद्यालयले नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।
अर्जुनचौपारी गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय परीक्षा कक्षा ३, ५ र ८ तथा SEE परीक्षामा पालिका प्रथम हुने घण्टे माध्यमिक विद्यालयलाई १ लाख र दोस्रो हुने जन माध्यमिक विद्यालय रापाकोटलाई ५० हजार नगद रकम पुरस्कार दिने भएको हो।
अर्जुनचौपारी गाउँपालिकाले आफूले सञ्चालन गर्ने पालिकास्तरीय परीक्षामा विद्यार्थीलाई नियमित १ सहित पूरक २ पटक गरी ३ पटकसम्म परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ। ३ पटक पनि अनुत्तीर्ण हुने विद्यार्थीलाई भने कक्षा दोहोर्याउनुपर्ने प्रावधान स्थानीय शिक्षा ऐनमा उल्लेख गरिएको छ।
प्रअ तथा शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने, कार्यसम्पादन मूल्यांकनका आधारमा सरुवा तथा बढुवामा प्राथमिकता दिइने, शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी पदस्थापन गरिएका शिक्षकको कम्तीमा ३ वर्ष सरुवा नगरिने जस्ता व्यवस्थाहरु स्थानीय ऐन र कार्यविधिमा व्यवस्था नै गरिएको छ।
प्रकाश तिवारी नेतृत्वको अर्जुनचौपारी गाउँपालिकाले शिक्षा क्षेत्रमा क्रमबद्ध सुधारका कार्ययोजना लागू गरिरहेको छ। यस वर्ष मात्र गाउँपालिकाभरका विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारको लागि गाउँपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्