भेषराज साहित्य प्रतिष्ठानको ७१ औँ साहित्यिक शृङ्खला सम्पन्न

श्यामप्रसाद ढुङ्गाना/वालिङ : भेषराज साहित्य प्रतिष्ठानले २०७४ साल जेठदेखि सञ्चालन गर्दै आएको नियमित रचनावाचनको ७१ औँ शृङ्खला शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ।

वालिङ नगरपालिका वडा नं ८ स्थित बगाले टोलमा रहेको श्री गणेश लक्ष्मीनारायण मन्दिरको धर्मशालामा सम्पन्न ऊक्त कार्यक्रमको प्रमुख अतिथि कवयित्री एवम् प्रतिष्ठानकी आजीवन सदस्य दमकुमारी बगाले उपस्थित थिइन्। उनले भेषराज साहित्य प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले आफू लगायत यस क्षेत्रका धेरै व्यक्तिहरुले साहित्य सृजना गर्न थालेको र रचनावाचनको अवसर प्राप्त गरेको कुरा व्यक्त गर्दै यो कार्यक्रम निन्तर चलिरहोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

कार्यक्रमका विशिष्ट अतिथि शिक्षासेवी व्यक्तित्व भरतप्रसाद बगालेले स्रष्टा भेषराज शर्माको शैक्षिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए। बगाले टोल समितिका अध्यक्ष रामचन्द्र अर्यालको अध्यक्षता र प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य कवि लेखनाथ काफ्लेले स्वागत मन्तव्यका साथै लघुकथा वाचन गरेका थिए। यसैगरी कार्यक्रममा ध्रुव शर्मा पंगेनी, कमल बगाले, नारायणप्रसाद रेग्मी, पारीश्वर न्यौपाने, प्रेमप्रसाद सुवेदी, विष्णु पंगेनी पाण्डे लगायत दर्जन बढी स्रष्टाहरूले लघुकथा र कविता वाचन गरेका थिए।

कार्यक्रम साहित्य प्रेमी स्थानीय व्यक्तिहरूको महत्त्वपूर्ण उपस्थितिले ओझिलो बनेको थियो ।

Share Post on Social media