स्याङ्जा जिल्ला अस्पतालमा बालरोग सघन उपचार सेवा सुचारु
राम बहादुर रोकाहा/साउन ७: जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा सुचारु भएको छ । स्याङ्जा अस्पतालमा भेन्टिलेटर सहितको बालरोग सम्बन्धी सघन उपचार सेवा पीआइसीयु र एनआइसीयुको सेवा सुचारु गरिएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -३ कुमालगाउँ स्थित स्याङ्जा अस्पतालमा आइतबार एक कार्यक्रमका बीचमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बालरोग सम्बन्धी सघन उपचार सेवा पीआइसीयु र एनआइसीयु सेवाको समुद्घाटन गरेका हुन् । समुद्घाटनसङ्गै उनले अस्पतालले प्रवाह गर्ने सेवा अवलोकन गरि अस्पतालमा सेवा लिन आउने नागरिकलाई सरल र सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन निर्देशन समेत दिए ।
अस्पतालमा दुईवटा भेन्टिलेटर सहित पाँच बेडको बालरोग सघन उपचार कक्ष थप गरि सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशील कुमार मरासिनीले जानकारी दिए । उक्त सेवा सुचारु भएपछि बालबालिकाको स्वास्थ्य उपचारमा सहज भएको मेडिकल सुपरिटेन्डेन्ट मरासिनीले बताए ।
अस्पतालले दिने सेवा सुविधालाई चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउने उद्देश्यले अस्पतालमा पीआइसीयु र एनआइसीयुको सेवा संचालन गरिएको स्याङ्जा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले बताए । उनले गत वैशाख महिनादेखि अस्पतालमा बालविशेषज्ञ सहित सेवा प्रवाह गरिएको बताउँदै विशेषज्ञ सेवाले बिरामी बालबालिकाको उपचारमा सहजता उत्पन्न भएको बताए ।
विभिन्न सेवाहरु प्रदान गरिरहेको अस्पतालले बालविशेषज्ञ सहित सेवा प्रवाह गरेपछि पोखरा लगायतका अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता हटेको अस्पताल स्रोतले जनाएको छ । बालविशेषज्ञ सेवा सुरु भएसङ्गै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा पाउनेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्