ज्येष्ठ नागरिक सेवाग्राही सेवाको निम्ति प्रशासन कार्यालय परिसरमा एम्बुलेन्स सेवा सुरु

खबरकलम संवाददाता/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफ्नो कार्यालय परिसरमै एम्बुलेन्स सेवा समेत सुरु गरेको छ।

पछिल्लो समय हरेक सरकारी कामकाज तथा सार्वजनिक सेवा लिनका राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय स्याङ्जामा सेवाग्राहीको भीड बढ्दै जान थालेको छ।

प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन, राष्ट्रिय परिचयपत्र नं पत्ता लगाउन तथा अन्य कामकाज समेतले जेष्ठ नागरिकहरुको भीडभाड भैरहेको अवस्थामा जेष्ठ नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखा र पुतलीबजार नगरपालिकाको सहयोगमा स्वास्थ्य सहायता कक्ष स्थापना तथा एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता लिने प्रयोजनका लागि स्याङ्जा जिल्लामा दोस्रो चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। स्याङ्जा जिल्लामा यही आउँदो माघपश्चात हरेक सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने छ।‌

Share Post on Social media
 
 
  
जीवन अर्याल