शिक्षामा फड्को मार्दै अर्जुनचौपारी, पहिलोपटक कक्षा १२ को सेन्टर पालिकामै

खबरकलम डेस्क/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अब सदरमुकाम वा सदरमुकाम छेउछाउका विद्यालय सेन्टरमा गएर एसएलसी (कक्षा १२) को परीक्षा दिनुपर्ने बाध्यता हटेको छ।

अर्जुनचौपारी गाउँपालिकाको निरन्तरको प्रयास र शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जा तथा राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा अर्जुनचौपारी गाउँपालिकाभित्रको पञ्चकन्या माविलाई एसएलसी (कक्षा १२) को परीक्षा सेन्टर तोकिएको हो।

श्री सर्वोदय मा.वि. आरुचौर, जन मा.वि. रापाकोट, घण्टे मा.वि. घण्टे, दरौं मा.वि. दरौं तथा पर्वत जिल्लाको लाम्तुनमा अवस्थित श्री जन विकास माविको परीक्षा केन्द्र पञ्चकन्या मावि अर्जुनचौपारीमा हुने भएसँगै यस क्षेत्रका विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटेको हो।

पञ्चकन्या मावि अर्जुनचौपारीको सेन्टर भने सदरमुकाम स्थित स्याङ्जा मावि तोकिएको छ। हालै मात्र सम्पन्न भएको एसईई (कक्षा १०) परीक्षाको सेन्टर पनि लामो समयको अन्तरालमा पछिल्लोपटक पञ्चकन्या मावि अर्जुनचौपारीमै परेको थियो र यस क्षेत्रका विद्यार्थीले उक्त सेन्टरबाट एसईई परीक्षा सम्पन्न गरेका थिए।

परीक्षा सेन्टर मात्रै नभएर प्रकाश तिवारी नेतृत्वको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय शिक्षा कार्यविधि नै बनाएर शिक्षा क्षेत्रमा सुधारको प्रयास गरिरहेको छ।

शिक्षकलाई कम्तीमा २ वर्ष सरुवा सहमति नदिने, विद्यालयमा खुला राजनीति हुन नदिने, प्रधानाध्यापकको कार्यसम्पादन हेरेर जिम्मेवारी बाँडफाँड गर्ने, कक्षा ३, ५ र ८ को परीक्षा पालिकास्तरीय बनाउने र नतिजा सार्वजनिक रुपले प्रकाशन गर्ने र सामाजिक सञ्जालमै राखी जानकारी दिने गरिरहेको छ।

Share Post on Social media