एकीकृत पाठ्यक्रमसम्बन्धी २ दिने तालिम भीरकोटमा सम्पन्न

वैशाख १२/स्याङ्जा : एकीकृत पाठ्यक्रमसम्बन्धी २ दिने तालिम भीरकोटमा सम्पन्न भएको छ।

भीरकोट नगरपालिकाद्वारा आयोजना गरिएको २ दिने तालिममा कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रममाथि विमर्श, सहजीकरण, प्रकाश तथा प्रशिक्षण तथा प्रयोगात्मक विधि मार्फत अभ्यास समेत गराई सम्पन्न गरिएको हो।

एकीकृत पाठ्यक्रममाथि प्रकाश पार्ने, सहजीकरण गर्ने र प्रशिक्षण दिने कार्य भीरकोट नगरपालिका शिक्षा शाखामा कार्यरत प्रास विष्णु भट्टराईले गरेका थिए। एकीकृत पाठ्यक्रमको मर्म, यससँग अन्तरसम्बन्धित विषय तथा क्षेत्रहरुमाथि प्रकाश पार्दै हरेक सिकाइलाई जीवनसँग जोड्ने र हरेक सिकाइलाई प्रयोगसँग समेत जोडेर व्यवहारमा लागू गर्ने विषयमा उनले प्रशिक्षण दिएका थिए।

भीरकोट नगरपालिका शिक्षा शाखा प्रमुख तथा उपसचिव विष्णुप्रसाद कोइरालाले उक्त कार्यक्रममा बोल्दै उपस्थित सम्पूर्ण शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी ज्ञान सीप बोध र प्रयोगमार्फत सिकाइ गर्न र आफ्नो कर्तव्यलाई पूर्ण रुपमा पालना गर्दै पेशागत उन्नयनको बाटोमा हिँड्न अनुरोध गरे। उनले शिक्षकका मर्म र भावनालाई आफूले समेटेर सदैव अघि बढ्न तप्पर रहेको बताए।

लेटर ग्रेडिङ प्रकृया मार्फत उपलब्धि मूल्यांकन गर्न, कार्यघण्टा र पाठ्यघण्टा अनुसार समयतालिका बनाएर लागू गर्न, निरन्तर सिकाइ मूल्यांकन अभिलेखीकरण गर्न, विद्यार्थी पोर्टफोलियो बनाउन, इमिस सफ्टवेयर अपडेट गर्न लगायत विभिन्न क्षेत्रहरूमाथि उक्त तालिममा सहजीकरण गरिएको थियो।

वैशाख ११ र १२ गरी २ दिनसम्म चलेको उक्त कार्यक्रममा भीरकोट नगरपालिकाका आधारभूत तथा माध्यामिक विद्यालयका करिब ४० बढी शिक्षकहरूको सहभागिता रहेको थियो।

Share Post on Social media