स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा अर्जुनचौपारी स्याङ्जाकै उत्कृष्ट, चापाकोट पुछारमा

जीवन अर्याल/चैत ९: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक आर्थिक वर्षमा प्रकाशन गर्ने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA report) प्रतिवेदनमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट र समग्र गण्डकी प्रदेशको तेश्रो स्थानीय तह घोषित भएको छ।

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार अर्जुनचौपारी गाउँपालिकाले ८९.५ अंक प्राप्त गरी जिल्लाको प्रथम र प्रदेशको तेश्रो स्थान हासिल गरेको हो। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा उल्लेख भएका विभिन्न पाँचवटा दायरामा अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट अंक ल्याउन सफल भएको छ।

योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २४.५, लेखाङ्कन तथा प्रतिवेदनमा १६, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १२ र राजस्व व्यवस्थापनमा १६ अंक प्राप्त गरी अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट स्थान बनाएको छ।

के छ स्याङ्जा जिल्लाका अन्य पालिकाहरुको अवस्था?

स्मार्ट सिटीको मोडेलमा अघि बढिरहेको वालिङ नगरपालिकाले हालसम्म FRA प्रतिवेदन अद्यावधिक नगरेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा वालिङ नगरपालिकासँगै पुतलीबजार नगरपालिका, हरिनाश गाउँपालिका र आँधीखोला गाउँपालिकाको विवरण अद्यावधिक छैन।

कालीगण्डकी गाउँपालिकाले ७४.५ अंक प्राप्त गरी जिल्लाको दोश्रो, भीरकोट नगरपालिकाले ७१.५ अंक प्राप्त गरी जिल्लाको तेस्रो, विरुवा गाउँपालिकाले ७०.५ प्राप्त गरी जिल्लाको चौथो स्थान ओगटेका छन्। यसैगरी गल्याङ नगरपालिकाले ६८ अंक प्राप्त गरेको छ। फेदीखोला गाउँपालिकाले ६३.५ अंक प्राप्त गर्दा चापाकोट नगरपालिका भने पुछारमा रहेको छ।

चापाकोट नगरपालिकाले कुल २४ अंक प्राप्त गर्यो। चापाकोट नगरपालिका यसअघिका विभिन्न प्रतिवेदनमा उल्लेख भएका मूल्यांकनमा पुछारमा हुने गरेको थियो।

Share Post on Social media