हिरापाटा लिफ्टिङ खानेपानी योजना, उद्घाटन नहुँदै आशंकाको घेरामा

जीवन अर्याल/वैशाख ४: पुतलीबजार नगरपालिका वडा नं १३ हिरापाटा स्थित हिरापाटा लिफ्टिङ खानेपानी योजना उद्घाटन नहुँदै आशंकाको घेरामा परेको छ I

वहुवर्षे योजनाको रुपमा आर्थिक वर्ष २०७२/७३ मा सर्वे भई आर्थिक वर्ष २०७४/७५ बाट काम सुरु भएको उक्त आयोजनाको जम्मा लागत रकम ३ करोड ४९ लाख हो I जसमध्ये संघीय सरकारले ३ करोड र ४९ लाख स्थानीयले बेहोर्ने गरी काम सुरु गरिएको थियो I १६५ घरधुरी लाभान्वित हुने तथा एक घर एक धारा जडान हुने गरी सर्वे गरिएको उक्त आयोजनाको आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न भई १६० घरधुरीलाई खानेपानीको सुविधा प्रदान गरेपनि विवादमा परेको हो I

आयोजनाको भौतिक अवस्थाको जानकारी

पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको सिमाना ठाडाखेत स्थित दरौंखोला नदीबाट पानीलाई लिफ्टिङ गरी हिरापाटा स्थित ट्यांकीमा पुर्याएर प्रशोधन गरी वितरण गर्ने भौतिक संरचना सहित उक्त आयोजना निर्माण भएको हो I हाल यस आयोजनामा आरसीसी सम्प वेल (इनार) १ वटा, एउटा पम्प हाउस, plain sedimentation tank १ वटा, शुद्धीकरण फिल्टर १ वटा, ७५ घनमिटरको पानी ट्यांकी तथा लाम्पाटामा खानेपानी वितरण गर्ने प्रयोजनका लागि २५ घनमिटरको वितरण ट्यांकी तथा एक चौकीदार घर समेत निर्माण भएको छ I

कम्पाउण्ड वाल, रिटेनिङ वालसहितको ट्यांकी, जीआई पाइपलाइनसहितको वितरण लाइन तथा विद्युतीकरण सहितको सुविधा उपलब्ध रहेको उक्त खानेपानी आयोजनाबाट हाल १६० घरधुरीले खानेपानीको सेवा लिईरहेका छन् I

              के हो विवाद? किन सुरु भयो?

क्रमागत योजनाको रुपमा आर्थिक वर्ष २०७४/७५ बाट काम सुरु भई आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएको उक्त हिरापाटा खानेपानी आयोजनाको मुख्य विवाद उद्घाटन विवाद र उपभोक्ता समितिको मनपरी नै हो I उपभोक्ता समितिका अध्यक्ष पोतप्रसाद अर्यालले उक्त आयोजना सन्चालन तथा निर्माणमा अनियमितता गरेको आरोप स्थानीयवासीले लगाएका छन् भने पोतप्रसाद अर्यालले उक्त आरोपको खण्डन गर्दै बिनाकारणको आरोप भनेका छन् I

स्थानीय युवाहरुको झापाकोट युवाक्लबले समेत आयोजनामा केही न केही कैफियत भएको आशंका गरी आयोजना उपभोक्ता समितिसमक्ष आयोजनाका कागजपत्र आफूहरुलाई उपलब्ध गराउन र हिसाबकिताब तथा आयव्यय प्रष्ट रुपले सार्वजनिक सुनुवाई गराई सार्वजनिक गर्न अनुरोध गरेपनि उपभोक्ता समितिका अध्यक्ष अर्यालले आलटाल गरिरहेको झापाकोट युवा क्लबका अध्यक्ष महादेव अर्यालको भनाइ छ I

निरन्तर खबरदारी र अनुरोध गर्दा समेत उपभोक्ता समितिका अध्यक्षले स्थानीय उपभोक्ताको भेला नगराएपछी र प्रगति विवरण समेत सार्वजनिक नगराएपछी उपभोक्ताको समूहले डिभिजन खानेपानी कार्यालय स्याङ्जामा आयोजनाका कागजातहरुमाथि छानविन गर्न र सम्पन्नताको कागजात नदिन अनुरोध गर्दै २०८० साल असोज २५ गते निवेदन समेत दिएका थिए I उनीहरुले दिएको निवेदनमा डिभिजन खानेपानी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख हरि तिमिल्सिनाले तोक लगाउँदै योजना शाखा तथा लेखा शाखामा आवश्यक कारबाहीका लागि निर्देशन समेत दिएका थिए I तर उनि स्वयम् आफ्नो निर्देशनबाट पन्छिएर बसिरहेपछी र थप कुनै कारबाही प्रक्रिया अघि नबढाएपछि स्थानीय उपभोक्ताले मिडिया गुहारेका हुन् I

स्थानीयहरुको अनुरोध पश्चात खबरकलम डटकमको टोली उक्त आयोजना स्थलमा पुगेर स्थलगत अनुगमन गरेको थियो भने स्थानीयहरुसँग समेत कुराकानी गरी उनीहरुको धारणा बुझेको थियो I स्थानीयहरुले अनियमितता भएको आरोप बारम्बार लगाएपछि खबरकलम डटकमको टोलीले हिरापाटाका स्थानीयहरु, हिरापाटा खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष पोतप्रसाद अर्याल, पुतलीबजार नगरपालिका वडा नं १३ का जुद्धबहादुर थापा, डिभिजन खानेपानी कार्यालय स्याङ्जाका इन्जीनियर कमल बराल, डिभिजन खानेपानी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख हरि तिमिल्सिना तथा निर्माण व्यवशायी रामचन्द्र पौडेलसमक्ष आयोजनाको विषयमा जानकारी मागेको थियो I

पुतलीबजार नगरपालिका वडा नं १३ का जुद्धबहादुर थापाले भने यो कुनै अनियमितता भएको विषय नभई उद्घाटनमा अतिथि को बन्ने ? विषयमा बाझिएको स्वार्थ बताउँछन्। खानेपानी आयोजनाको सम्पूर्ण निर्माण प्रक्रिया उपभोक्ता समिति मार्फत भएको बताउँदै कुनै अनियमितता भएको भए सोको जिम्मेवारी स्वयम् उपभोक्ता समिति नै हुने भन्दै उनी पन्छिए। आफ्नो वडामा भएका विकास निर्माणका कार्यको अनुगमन र निरीक्षण गर्ने दायित्व त वडाध्यक्षकै हो नि भन्ने जिज्ञासामा उनले आफूले अनुगमन र नियमन पनि गरिरहेको र अनियमितता नभएको बताए। 

तर, यो कुरा मान्न स्थानीय तयार छैनन्। उनीहरुको प्रष्ट माग आयोजना निर्माण हुँदादेखि हालसम्मका सम्पूर्ण आर्थिक कागजातहरु उपलब्ध गराउनुपर्ने, आयव्यय विवरण सार्वजानिक सुनुवाई गराएर पास गराउनुपर्ने, सम्झौतामा प्रतिबद्धता गरेका सामग्रीहरु उपलब्ध गराउनुपर्ने आदि छन्। स्थानीय उपभोक्ता उदय जिटीले उपभोक्ता समितिले एकलौटी ढंगले मनोमानी गरेको, कागजात मिलाएर अनियमितता गरेको, आयोजनाको सम्पन्नता पश्चात स्थानीयलाई दिने भनी प्रतिवद्धता जनाएको सामग्री नदिएको, भुक्तानीमा कर समेत नकाटी हिसाबकिताब मिलान गराएको जस्ता आरोप लगाएका छन्। 

संघीय सांसद् राजु थापा प्रमुख अतिथि कि तत्कालीन गण्डकी प्रदेशकी खानेपानी तथा उर्जा मन्त्री सरस्वती तिवारीलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा मतमतान्तर हुँदा उक्त आयोजना निर्माण सम्पन्न भएर पनि हालसम्म उद्घाटन हुन सकेको छैन। स्थानीयले उद्घाटनको विषयमा पनि नगरपालिका र खानेपानी कार्यालय स्याङ्जाले हस्तक्षेप गर्न खोजेको आरोप लगाउँछन्। यस विषयमा बुझ्न खोज्दा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसी रेग्मीसँग सम्पर्क हुन सकेन। 

उपभोक्ता समितिका अध्यक्ष पोतप्रसाद अर्यालले भने सार्वजनिक सुनुवाइ गराउन विविध कारणले नसकिएको र भेलाबाट निर्णय गर्न पनि समस्या भएकाले घरमै माइन्युट पुर्याएर कागजातहरुमा हस्ताक्षर संकलन गरिएको स्वीकार गरे। कामदारले काम गरेको भुक्तानी मागिरहेको र भेलाले निर्णय गर्न संभव नरहेको अवस्थामा कामको भुक्तानी दिने प्रयोजनका लागि सो माइन्युट बनाइएको भन्दै अनियमितता भने नगरेको बताए। 

यस विषयमा थप बुझ्दा डिभिजन खानेपानी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा इन्जिनियर कमल बरालले आफूहरुले काम गर्दा यस्ताखालका विवाद आजसम्म नआएको र आफूहरुको काममा कुनै खोट पनि नभएको स्पष्ट पारे। उनले उपभोक्ता समिति, स्थानीय उपभोक्ता, पत्रकार तथा कार्यालयकै प्रतिनिधि समेत भई पुन: स्थलगत अनुगमनमा जान तयार रहेको र कुनै कमजोरी भएको भए सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। 

डिभिजन खानेपानी कार्यालय स्याङ्जाका प्रमुख हरि तिमिल्सिना भने नियतवश आफूहरुले कुनै कमजोरी नगरेको तर कार्यसम्पादनका क्रममा केही भुल भएको भने हुन सक्ने स्वीकार गरे। उनले डिभिजन खानेपानी कार्यालयले स्याङ्जा र कास्की जिल्ला समेतका ८०० भन्दा बढी आयोजना हेर्नुपर्ने, सीमित जनशक्तिको परिचालनबाट काम गर्दा भनेसरह काम हुनेमा विश्वस्त हुन नसकिने भन्दै जनशक्ति अभावको समस्या बुझिदिन अनुरोध गरे। ४ जना इन्जिनियर र ४ जना प्राविधिकले ८०० वटा आयोजनाहरुको निरन्तर अनुगमन र मुल्याङ्कन गर्नुपर्ने बाध्यतामा कार्यालय रहेको उनको भनाइ थियो। 

उनले आफ्नो कार्यालय सार्वजनिक सुनुवाइ गर्न तयार रहेको, आयव्ययका सम्पूर्ण कागजात उपलब्ध गराउन उपभोक्ता समितिलाई निर्देशन दिइसकेको र स्थलगत अनुगमन गरी कमजोरी सुधार्न र पुनर्निर्माणको कार्य पनि गर्न तयार रहेको बताए। 

खबरकलम डटकमको टोलीसँग कार्यालय प्रमुख हरि तिमिल्सिनाले वैशाखको पहिलो हप्ता नै सम्पूर्ण कागजातहरु सहित भेला गर्ने र सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनले आफैले समन्वय गरी उक्त कार्यक्रम तय गर्ने र जानकारी दिने बताए।

Share Post on Social media