स्याङ्जामा खेतको न्वारन गर्ने हरेलो मनाइँदै।
जीवन अर्याल/खबर कलम: स्याङ्जा जिल्लामा विशेष परम्परामा रहेको खेतको न्वारन गर्ने “हरेलो” चाड मनाइँदै छ।
स्याङ्जाली परम्पराअनुसार “हरेलो” हाम्रो स्याङ्जाको विशेष सांस्कृतिक रीतिरिवाज हो। नास्पातीकाे हाँगामा मकैकाे भुत्लाबाट बनाईएका साना-साना पाेकामा बेसार, मास, तील, तेल लगायतका सामग्री राखी, धान रोपिएको खेतकाे उक्त हाँगालाई गाडी, काठकाे वा धानकाे भुसमा धुप र अगरबत्ती बाली, मकैको भुत्ला रङ्गाई पूजाआजा गरिन्छ। आज फुरौला पकाई गोरुलाई खुवाई खेती लगाउन गोरुले गरेको योगदानको सम्मान स्वरुप यो पर्व मनाउने प्रचलन रहेको स्याङ्जावासी बताउँछन्।
धान रोपिएको खेतको यसरी न्वारन (हरेलो) गर्ने धार्मिक तथा सांस्कृतिक महत्व छुट्टै छ। हरेलो गर्नु अघिसम्म धानलाई धान नभनी “रोपो” भनिने र “रोपो” हिलो खेतमा रोपिसकेपछि राम्रोसँग सरेर गाँज नहालेसम्म शुद्ध नहुने भएकाले यो विधिबाट शुद्ध पारिने अग्रजहरुको भनाइ छ। धानलाई धार्मिक कार्यहरुमा अक्षता तथा प्रसादको रुपमा प्रयोगमा ल्याइने भएकाले धानलाई न्वारन (हरेलो) कर्म गरेर पवित्र पारिन्छ।
स्याङ्जा जिल्लाको सम्पूर्ण भूभागलाई सतौँकोटे र भीरकोटे भाग भनी परापूर्व कालदेखि नै छुट्याईएको र सतौँकोट आसपासका क्षेत्रमा साउन महिनाको अन्तिम मंगलबार नै हरेलो गरिसकिएको छ। भने भीरकोट र यस आसपासका क्षेत्रहरूमा भने भदौ महिनाको पहिलो मंगलबार हरेलो गर्ने प्रचलन रहेको छ।
हरेलो गर्नुपर्ने कुनै वैज्ञानिक आधार नभएपनि वर्षातको समयमा खेतबारीमा कृषि कर्म गरी लगाईएको बालीको गोडमेल, मलजल समेत गरिसकेपछि यो पर्व मनाइने भएकाले बालीनाली सप्रोस्। र, धेरै उब्जनी होस् भन्ने अभिप्रायले यो चलन प्रचलनमा ल्याइएको जनधारणा रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्