वालिङमा सार्वजनिक बहस सम्पन्न,काङ्ग्रेस बाहेकका सबै उम्मेदवार सहभागी

खबरकलम संवाददाता/वालिङ: स्याङ्जाको वालिङमा मतदाता र उम्मेदवारबीच सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरिएको छ ।

अकला आवाज साप्ताहिकको आयोजनामा शुक्रबार वालिङ उद्योग वाणिज्य संघको सभाहलमा स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु र यहाँका मतदाताबीच सार्वजनिक बहस गरिएको हो । जनताको चासो, जनताको भावना र जनताको सरोकारका लागि मतदाताको प्रश्न, उम्मेदवारको जवाफ विषयमा सरोकारवालहरुबिचमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुले आफ्ना साझा ऐजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा सहभागि भएका मतदाताहरुले विकास सुशासन र नागरिक सरोकारका विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार खिम बहादुर थापा, रास्वपाका उम्मेदवार झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन पाठक, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मात्रिभूमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट तेजबहादुर थापा लगायतले आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई जानकारी गरिएको भएपनि सहभागी भने हुनुभएन।
आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेको बेला स्याङ्जाका मतदाताले आगामी उम्मेदवारसंग गरेका अपेक्षा र उम्मेदवारहरुले आम नागरिक तथा समग्र स्याङ्जाको विकासका लागि बनाएका ऐजेण्डाका बारेमा सार्वजनिक बहस गर्न यो साझा मञ्च उपलब्ध गराईएको अकला आवाजका अध्यक्ष एवम् प्रधानसम्पादक प्रकाश डुम्रेले बताउनुभयो । चुनावी माहोलमा सबै उम्मेदवारलाई मतदाता प्रति गम्भीर र जिम्मेवार बन्न कार्यक्रम आयोजना गरिएको डुम्रेको भनाइ थियोे । विभिन्न ढंगले स्थानीय जनता एवम् मतदाताले उठाएका सवालहरु एवम् मुद्धाहरु उठान गर्न उम्मेदवारहरुलाई एउटै मञ्चमा राखेर स्याङ्जाका नागरिक तथा मतदाताप्रति जिम्मेवार जवाफदेही बनाउने उदेश्यले यो बहस गरिएको उहाँले बताउनुभयो ।


कार्यक्रममा सहजीकरण हिमलाल पराजुली र पत्रकार केपी खनालले गर्नुभएको थियोे भने अकला आवाज साप्तहिकका अध्यक्ष तथा प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकला आवाजका प्रबन्धक ध्रुव गौडेलले र स्वागत कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियो । (अकला आवाजबाट साभार)

Share Post on Social media