स्याङ्जामा क्रियाशील मिडियाले सिडियोलाई ध्यानाकर्षण सहित बुझाए घोषणापत्र
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लामा क्रियाशील रहेका मिडियाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ध्यानाकर्षण सहित ९ बुँदे भीरकोट घोषणापत्र बुझाएका छन्।
खबरकलम डटकम, स्मार्ट अखबार डटकम तथा अकला आवाज राष्ट्रिय साप्ताहिक मिडियाले आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई कार्यालयमै भेटेर ९ बुँदे भीरकोट घोषणापत्र बुझाएका हुन्।
खबरकलम डटकमका प्रधान सम्पादक जीवन अर्याल, स्मार्ट अखबार डटकमका सञ्चालक नारायणप्रसाद कोइराला तथा अकला आवाज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेले यही असोज २५ गते भीरकोट नगरपालिकाको सभाहलमा आयोजित “स्याङ्जाको पत्रकारिता: विगत वर्तमान र भविष्यको चुनौति तथा संभावना” विषयक अन्तरक्रिया कार्यक्रमबाट जारी गरिएको ९ बुँदे भीरकोट घोषणापत्र प्रजिअ अर्याललाई आज बुझाउँदै घोषणापत्रमा राखिएका बुँदाहरुबारे प्रष्ट्याएका थिए।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपाने, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रोशन लामिछाने, अकला आवाज राष्ट्रिय साप्ताहिकका प्रबन्ध सम्पादक ध्रुव गौंडेल, स्याङ्जा अपडेटका सञ्चालक भविश्वर गैह्रे, पत्रकारहरु आयुष्मा काफ्ले, बिना रेग्मी लगायतको उपस्थितिमा स्याङ्जा जिल्लाको पहिचानको रुपमा रहेको आँधीखोलाको संरक्षण तथा व्यवस्थापन, सरकारी सवारीको बढ्दो दुरुपयोग, स्याङ्जा जिल्लास्थित सरकारी कार्यालयबाट प्रकाशन गरिने टेण्डर तथा विज्ञापनको ठूलो हिस्सा स्याङ्जामा रहेका स्थानीय मिडियालाई बाइपास गरी अन्य मिडिया मार्फत हुने कमिसनको खेल, पेट्रोलियम पदार्थको कालोबजारी, दैनिक उपभोग्य वस्तुको गुणस्तर, शान्ति सुरक्षाका विषयमा मिडियाको तर्फबाट ध्यानाकर्षण गराइएको थियो।
ध्यानाकर्षण सहित बुझाइएको घोषणापत्र बुझ्दै प्रजिअ अर्यालले सभ्य समाज निर्माणको दायित्व हरेक नागरिकको भएको बताउँदै मिडियाले सकरात्मक सुचना तथा जानकारी प्रवाह गर्ने मात्र नभई सकारात्मक समाज निर्माणमा समेत भूमिका निर्वाह गर्न आग्रह गरे।
साझा प्रयासबाट नै समुन्नत समाजको निर्माण हुने भन्दै आफू हातेमालो गर्न सँधै तयार रहेको उनको भनाइ थियो। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कार्यालयको तर्फबाट भएगरेका कामका प्रगति विवरणबारे जानकारी दिएका थिए। जिल्लामा शान्ति सुरक्षाका विषयमा प्रहरी सँधै सक्रिय र क्रियाशील रहेको कुरा समेत उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।
के-के छन् ९ बुँदे भीरकोट घोषणापत्रमा?
१) स्याङ्जा जिल्लाभर विभिन्न संचारमाध्यमहरूमा क्रियाशील पत्रकारहरूबिच मैत्रीपूर्ण सहकार्य एवं सम्बन्ध स्थापित गर्न जोड दिने ।
२) स्याङ्जाको पत्रकारिताको ऐतिहासिक दस्तावेज तयार पार्न सबै क्रियाशील पत्रकार एकजुट भएर काम अगाडि बढाउने ।
३) पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राख्दै पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मानप्रति दृढ रहने वातावरण गराउने।
४) स्याङ्जाका आम नागरिकको जनबोलीको प्रतिनिधित्व गर्दै सकारात्मक, नैतिक, सभ्य र मर्यादित समाज निर्माणमा मिडिया मार्फत सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने ।
५) सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने । स्याङ्जा जिल्लाको धरोहरको रुपमा रहेको आँधीखोलाको संरक्षण गर्दै यसको दोहन रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने। स्याङ्जा जिल्ला स्थित सार्वजनिक सेवा प्रवाह गर्ने सेवाप्रदायक निकायहरुले प्रवाह गर्ने सेवालाई जनमुखी, नागरिकमैत्री, चुस्तदुरुस्त बनाउन खबरदारी गर्ने तथा सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता कायम गर्न गराउन मिडिया तथा सञ्चार जगतबाट निरन्तर सकरात्मक भूमिका निर्वाह गर्ने।
६) स्याङ्जाको आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धनको लागि संचार माध्यमबाट पहल गर्दै सरोकारवाला निकायबिच हातेमालो गर्ने ।
७) जिल्ला स्थित सरकारी निकायहरूले प्रकाशन गर्नुपर्ने टेण्डर, सूचना , लोककल्याणकारी विज्ञापन एवं विभिन्न सूचनाहरू स्याङ्जामा संचालित संचारगृहहरूमा उच्च प्राथमिकताका साथ प्रकाशित गर्न गराउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउने ।
८) स्याङ्जा जन्मथलो भई स्वदेश तथा विदेशमा रही पत्रकारितामा सक्रिय सबै कलमजिवीहरुलाई भावनात्मक ढंगले एकजुट गराउने ।
९) स्याङ्जाको पत्रकारितामा पत्रकार महासंघलाई अगुवा संस्थाको रूपमा लिदै यसलाई गतिशील र शसक्त बनाउन सबै कृयाशील पत्रकारहरु एकजुट हुने।
