कालिका पुस्तकालयद्वारा आयोजित जिल्लास्तरीय खुला तीज प्रतियोगिताको तयारी अन्तिम चरणमा

भदौ १/खबरकलम संवाददाता: कालिका पुस्तकालयद्वारा आयोजित जिल्लास्तरीय खुला तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ७ बलमाटास्थित पुस्तकालयमा आज सम्पन्न भएको कार्यसमिति बैठकले उक्त तयारीबारे जानकारी दिएको हो।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद अर्यालका अनुसार भदौ ६ गते आयोजना गर्न लागिएको दर खाने कार्यक्रम तथा खुला तीज गीत प्रतियोगिताको सबै तयारी सकिएको छ। खुला रुपमा आयोजना गर्न लागिएकाले स्याङ्जा जिल्लाका सबै आमा समूह, युवा क्लब, कलेज तथा विद्यालय, बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। सामाजिक सद्भाव कायम राख्दै मौलिक रुपमा रचिएका गीतहरुले न्याय पाउने र गीतको बोल समेत ” महिला सशक्तीकरण र विकास तथा शिक्षा” मा केन्द्रित रहेकाले सोही अनुसार तयारी गर्न सक्ने अध्यक्ष अर्यालले बताए।

कार्यक्रममा सहभागिता जनाउन प्रत्येक समूहले रु १२०० दर्ता शुल्क तिर्नुपर्नेछ भने प्रथम हुने समूहले रु २० हजार, द्वितीय हुने समूहले रु १५ हजार, तृतीय हुने समूहले रु १० हजार तथा सान्त्वना हुने समूहले रु ५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कार्यक्रममा सहभागिता जनाउने हरेक टिमलाई अधिकतम समय १० मिनेट दिइनेछ। र उक्त समयभित्र हरेक टिमले आफ्नो प्रस्तुति दिईसक्नुपर्ने जानकारी पुस्तकालय व्यवस्थापन समिति सचिव शालिग्राम अर्यालले दिए। उनका अनुसार कार्यक्रम कालिका पुस्तकालयकै प्राङ्गणमा हुनेछ भने उक्त कार्यक्रमको मिडिया पार्टनर दरौंखोला मिडिया प्रालि तथा खबरकलम डटकम रहनेछन्।

Share Post on Social media