फाेटाेग्राफर मञ्च स्याङजाकाे अध्यक्षमा न्यौपाने निर्वाचित
खबरकलम संवाददाता/स्याङजा: स्याङजाकाे विभिन्न स्थानमा छरिएर रहेका फोटोपेशामा संलग्न व्यापारी व्यवसायीहरूलाई एउटै संस्थामा आबद्ध गराउने उद्देश्यले गठन गरिएको संस्था ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ ।
अधिवेशनले पत्रकार समेत रहेका हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ। नवगठित १५ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक, र कोषाध्यक्षमा बिकास खाँण चयन भएका छन्।
अधिवेशनमा जिल्लाभरिका फोटो व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाका सम्पूर्ण फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहितको पक्षमा संस्था अग्रसर रहने प्रतिबद्धता जनाए।
वालिङका पुरानो फोटोग्राफर बिमल खनालको सभापतित्व र फोटोग्राफर मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सिराम रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा उक्त क्षेत्रका बारेमा विभिन्न छलफल भएको थियोे ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराइ,फाेटाेग्राफर मञ्च,गण्डकी प्रदेशका महासचिव प्रेम पराजुली, गल्याङ चेम्वर अफ कमर्शका अध्यक्ष अर्जुन रानाभाट, ढाकाराम खनाल,बाबुराम रेग्मी,प्रदिप पाठक लगायतले बोलेका थिए ।
