काँग्रेस/एमालेको किल्ला ढलाएर रास्वपाका धनञ्जय रेग्मी स्याङ्जा १ मा विजयी

खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको क्षेत्र नं १ बाट धनञ्जय रेग्मी विजयी भएका छन्। काँग्रेस र एमालेको किल्लाको रुपमा रहेको क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरेका हुन् । ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन् । पुतलीबजार नगरपालिका–५ निवासी डा. रेग्मी पेसाले भूवैज्ञानिक तथा हिमनदी विज्ञ हुन् । उनले जापानको होकाइदो विश्वविद्यालयबाट सन् २००६ मा ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । हाल तालबाट जलविद्युत उत्पादन गरी पानीको स्तर व्यवस्थापन गर्ने नयाँ प्रविधिमा उनी सक्रिय रहेका छन् ।

शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत पाउँदै तेस्रो स्थानमा सीमित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले भने १५५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक स्वतन्त्र उम्मेदवारसहित कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Share Post on Social media