बच्चाको अघि झगडा,हामी कति तगडा?

पिपला ढुंगाना

केही समय अगाडी एउटी साथीसँग कुरा गर्दै थिएँ। कुरैकुरामा उसले आफ्नो घर झगडाको बिषय निकाली र भनी ” फेरी पनि झगडा भयो यार।” मैले बच्चाकै अगाडी झगडा भयो र? भनेर सोधेँ। उसले भनी” हो, बच्चाकै अगाडि भयो”। “जे समस्या भए पनि बच्चालाई नदेखाउनु सकेसम्म” भन्दै गर्दा उसले भनी “कति दिन ढाक्ने के? जसरी पनि थाहा पाउनु नै छ एकदिन उसले पनि”, यो भन्दै गर्दा उ साह्रै निराश सुनिन्थी। केहिबेरको गन्थनपछि  टेलिफोन वार्ताबाट हामी छुट्टियौँ। म सोच्न थालेँ हाम्रो प्रवृत्तिले अबोध बच्चाहरुलाई कस्तो असर पर्दो हो? मेरी साथीको ५ बर्षे छोराको मनमा कस्तो कुरा खेल्दो हो? कति त्रास होला विचराको मष्तिष्कमा?

आजकल सामाजिक सन्जालमा आउने खबरहरुमा पनि बाउआमाको प्रत्येक दिनको किचलोले बाल बच्चालाई कति सम्म अप्ठ्यारो पारिरहेको हुन्छ भन्ने थाहा हुन्छ। कति बच्चाहरु त घर छाडेर सडकसम्म आइपुग्छन् । कारण सोध्नुपर्छ घर झगडादेखि दिक्क भएर भन्ने जवाफ दिन्छन्।

करिब ९ बर्ष अगाडि म कीर्तिपुरमा बस्थेँ। त्यो बेला घरबेटी भाइ ११ कक्षामा पढ्दै थिए। घरमा बस्दा पनि दिनभर ढोकामा चुकुल लगाएर बस्ने , आमासँग झगडा गर्ने, बिना काम पैसा माग्ने, कलेज जान पनि मन लागे जाने नभए नजाने गर्थे। राम्रो कुल घरको छोरा यसरी बिग्रिएकोमा परिवारका सबै जना चिन्तित हुनुहुन्थ्यो। उहाँहरुले धेरै नै कोसिस गर्नु भएको पनि हो, उनलाई कुलतमा फस्न नदिनँ। तर बाउआमाको दिन दिनैको घरझगडा देखेर हुर्केका उनीलाई नशाको बानी भइसकेको थियो। सानो हुँदा वास्ता नगरिएका हाम्रा लालाबाला ठुला हुन समय लाग्दैन। हुर्काइले उसलाई जे बनाउँछ त्यो कुरा मेटाउन सजिलो पनि हुँदैन। तर, यो कुरा हामी धेरैलाई जरुरतको बिषय लाग्दैन।

साना बच्चालाई बाउआमाले उति गम्भीर रुपले पनि लिँदैनन्। सोही कारण बच्चाको अघि बाउआमा गम्भीर विवाद गर्छन्, र कतिपय अवस्थामा भौतिक हिंसामा उत्रन्छन्। तर, आमाबाबुले गर्ने सामान्य वादविवाद  बालबालिकाको निम्ति भने सामान्य हुँदैन। किनकी उनीहरुमा बाउआमाको अन्तरकलह बुझ्न सक्ने ज्ञान विकास भइसकेको हुँदैन। बालबालिकाको अगाडी सामान्य बहस मात्र गर्दा पनि बालबालिकाका लागि त्यो असामान्य झगडा लाग्न सक्छ। आफ्नो  आँखाअगाडी आमाबाबुले बारम्बार एकअर्काको कमीकमजोरी मात्रै केलाइरहँदा, गल्ती देखाइरहँदा र शत्रुवत ब्यबहार गरिरहँदा स्वभाविकरुपमा बालबालिकाहरू व्याकुल, चिन्तित र निराश हुन्छन् । त्यसले बच्चाको मनोविज्ञानमा जीवनभर गम्भीर असर पार्छ।

बालबालिकासामु हामीले जिम्मेवारी निर्वाह गर्ने नाममा र अनुशासित बनाउने चक्करमा जानी नजानी अन्याय गरिरहेका हुन्छौँ । सकरात्मक बनाउनका लागि गरिने कडीकडाईले त बालबालिकालाई तिब्र असर परिरहेको हुन्छ भने सोचौँ त हामीले केके बहानामा उनीहरुलाई अन्याय गरिरहेका छौँ होला? सानो कुरामा श्रीमान या श्रीमतीलाई कुटपिट गर्नु, परिवारका कमजोर सदस्यमाथि  झम्टिनु विवेक गुमाउनु हो। त्यसो गर्नुमा मान्छेमा ‘आफू सर्वेसर्वा हुँ’ भन्ने एक खालको नकारात्मक सोच र अहंकारले काम गरिरहेको हुन्छ।

एकै घरमा रहँदा आफन्त र परिवारमा सामान्य भनाभन र वादविवाद हुनु फरक कुरा हो। तर, हामी सामान्य स्थितिमा पनि आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्दैनौँ। जसको परिणामस्वरूप हिंसा निम्तिन्छ । जसको असर बालबालिकामा परिरहेको हुन्छ। छरछिमेकमा सर्दछ र समाजभरी नै सल्कन पुग्दछ।

बालबालिका काँचो माटो हुन्। जसलाई हामीले जस्तो आकार दिन्छौँ उस्तै भएर हुर्कन्छन् भन्ने बुझेर पनि हामी सोही अनुसारको व्यवहार गर्न सकिरहेका छैनौँ । उनीहरुलाई के बनाएर हुर्काउने हो भन्ने कुरा तपाइँ हाम्रो घरको वातावरणले निर्धारण गर्छ । हामीले जुन किसिमको कृयाकलाप देखाएर हुर्काउँछौ त्यो नै बालबालिकाको निम्ति भोलीको संस्कार हो। सभ्यता हो। र आधार हो।  पारिवारिक कलह र झैझडा भैरहने घरमा हुर्केका प्राय: बालबालिका भोलीका दिनहरुमा झगडालु हुने निश्चित छ।

हाम्रो  झगडाका प्रत्यक्षदर्शी र मुख्य पीडित बच्चा हुन् तर हामी ठान्छौं यिनीहरुले थाहा पाएर के नै हुन्छ र? अझ ‘तँ बच्चा भएर जान्ने हुन नआइज’ भन्नु हाम्रो लागि सामान्य हो । तर त्यो हामीले गरिरहेको वृक्षारोपण भोली कसरी हुर्कन्छ भनेर हामीले वास्ता गर्दैनौँ । बीउ अनुसार न हुन्छ बिरुवा। हामीलाई समाजले बच्चाहरुको अगाडी प्रेम प्रकट गर्नुमा लज्जा मान्न सिकाएको छ। तर खुलेर झगडा गर्दा भने अलिकति पनि संकोच मान्दैनौँ । बालबालिकाले के सोचिरहेका छन् भनेर जान्न पनि खोज्दैनौँ । “तँ चुपचाप आफ्नो काम गर्नु, खान दिएकै छौँ। लगाउन दिएकै छौँ“, यो हामीमध्ये धेरैले सानैदेखि सुनेर आएको गाली हो । तर के हाम्रा बच्चाहरु चुपचाप रहनु समस्याको समाधान हो त? बाहिर बोल्न नपाउँदा भित्रभित्रै कति गुम्सिएलान्? हामी बारूद भएर पड्किरहँदा तिनको कलिलो मस्तिष्कमा कस्तो भावना उम्रँदो हो?

अचेलका खबर नै हेरौं न! आफ्ना बालबालिकाले देख्लान् कि जस्तो गरेर पढ्नुपर्छ। छोराद्धारा आमाको हत्या। छोरीले मारिन् आफ्नै बावु। ५ वर्षीया बालिका १४ वर्षीय बालकबाट बलात्कृत। ग्याँङफाइटमा मारिए १५ वर्षिय बालक। यस्ता समाचार पढ्दा आङ नै सिरिङ्ग हुन्छ । तर के यो सबै हुनुमा तपाई हाम्रो दोष छैन र ? यो सबै हुनुमा केले भुमिका निर्वाह गरिरहेको हुन्छ? हामी मध्ये कतिले आफ्नो लागि सामान्य लाग्ने कुरा बालबालिकाले सामान्य तवरबाट लिन्छन् कि लिदैनन् भनेर जान्ने कोशिस गरेका छौँ? यो सवाल आफैँसँग गर्नुपर्ने बेला भएको छ ।

कतिपय अवस्थामा हामीले ‘यस्तै त हो, एक दुईचोटी गर्दैमा के फरक पर्छ र? पछि सम्झने होइनन् यिनीहरुले’ भन्दै निस्फिक्री रुपले गर्न हुने र नहुने काम गरिरहेका हुन्छौँ। बालबालिकालाई मन्द स्मरण भएका भन्ठानेर गरेका तिनै कुराहरु पछि गएर हाम्रो ठूलो भुल सावित हुनसक्छ। एक सोधका अनुसार बालबालिकाहरुले सानोमा जे देख्यो, सुन्यो र पढ्यो आजीवन त्यही कुरा मस्तिष्कमा गडेर बस्छ। यहाँसम्म कि उनीहरुले सानो उमरेमा छँदा खाने हरेक खाद्यसामग्रीको स्वाद र त्यसको परिणाम उनीहरुले चेतनामा सुरक्षित भएर बसेको हुन्छ । त्यसैले प्रत्येक काम कारवाही गर्नु पहिले आफ्ना बालबालिकालाई असर नपर्ने तरिकाबाट गर्नुपर्छ। किनकी तपाइँ हामीले सामान्य मानेका हाम्रा झिना मसिना बेवास्ताहरुले नै हाम्रा बालबालिकालाई दिनानुदिन हिंस्रक बनाउँदै लगेको छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार २०१८/२०१९  मा मात्रै २११ वटा बाल यौन शोषणका घटना दर्ता भएको थिए । तर कोविड–१९ को बन्दाबन्दी अवधि (६ हप्ता) भित्र मात्र १८ वटा बाल यौन शोषणको घटना दर्ता  भएका थिए ।

त्यस्तै सरकारी तथा गैरसरकारी संस्थाबाट बिभिन्न समयमा भएका सर्वेक्षणहरुलाई हेर्ने हो भने पनि पीडित बालबालिकाको आँकडा सानो छैन । हाल फैलिरहेको कोरोना महामारीको चपेटाबाट पनि थुप्रै बालबालिका भिन्नभिन्न बहानामा पिडित भइरहेका छन् । अझ भनौँ उनीहरु उच्च जोखिममा परेका छन् । गत जुन महिनामा गरिएको सर्वेक्षणमा मात्रै महिला आयोगमा ६०४ वटा र ओरेक नामक महिला पूनर्स्थापना केन्द्रमा ४६५ वटा घटनाको अभिलेख राखिएको छ । जुन घटना लैङ्गिक विभेदमा आधारित हिंसाका घटना हुन् । तर त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर बालबालिकामा परिरहेको हुन्छ ।

घरेलु हिंसा र त्यसले बालबालिकालाई पार्ने असरबारे बिभिन्न समयमा भएका अध्ययनले यो देखाउँदछ कि, घरेलु हिंसा सहेका बालबालिकालाई शारीरिक र भावनात्मक रुपमा ठुलो चोट परेको हुन्छ । त्यसले उनीहरुलाई चिन्तित र उदास मात्रै नभएर हीन भावना जागृत गराउन उक्साएको हुन्छ । जसको परिणामस्वरूप अपराधको जन्म हुन्छ र उमेरसँगै त्यसको विकसित रुप देख्न सकिन्छ ।

घरमा हिंसाको चपेटामा परेका बालबालिकाहरू नै शारीरिक शोषणको सिकार हुन्छन् । घरेलु हिंसाको साक्षी भएका वा आफैँ दुर्व्यवहारको सिकार भएका बालबालिकाहरू दीर्घकालीनरुपमा शारीरिक र मानसिक स्वास्थ्य समस्याको गम्भीर जोखिममा पर्छन् । चाहे ती आमाबाबुबीच भएको हिंसाको साक्षी भएका बालबालिका हुन् या अन्य किसिमको हिंसाको साक्षी भएका बालबालिकाहरू नै किन नहुन् । उनीहरू भविष्यका सम्बन्धहरूमा पनि हिंस्रक हुने संभावना बढी हुन्छ ।

यसरी हुर्किएका बालबालिकामा बिभिन्न किसिमको शारीरिक समस्या देखापर्छन् । मनोवैज्ञानिकरुपमा कमजोर हुनुले पनि शारीरिक समस्या उत्पन्न हुनुमा प्रत्यक्ष सरोकार राख्छ । यी र यस्ता बालबालिकाले आफ्नो धैर्य कायम गर्न सक्दैनन् । जसले उनीहरूलाई रिसाहा बनाइदिन्छ। हिंस्रक बनाइदिन्छ। यसरी पीडित बालबालिकाहरूमा हीन भावना जागृत हुने र आफैँलाई दोषी महसुस गर्ने नकारात्मक उर्जा पैदा हुन पनि समय लाग्दैन ।

घरेलु हिंसा र दुर्व्यवहार सहेर वा देखेर हुर्केका बालबालिकाहरुको आत्मविश्वास कमजोर हुन्छ। उनीहरू विद्यालयको विविध गतिविधिमा भाग लिन पनि रुचाउँदैनन्। उनीहरूलाई म कमजोर छु भन्ने कुराले पिरोलिरहन्छ। जसको कारण उत्कृष्ट नतिजा हासिल गर्न सक्दैनन् । यसरी बालबालिकाहरू जब किशोरावस्थामा पुग्छन् उनीहरूमा शारीरिक बल भरिँदै जान्छ । हिम्मत पनि बढ्दै जान्छ तर हामीले उनीहरुको आँट र हिम्मतलाई सहि मार्ग निर्देशन गर्न सक्दैनौँ । जसले गर्दा नकारात्मक उर्जाले काम गर्ने मौका पाउँछ । यसरी हुर्किएका किशोरकिशोरीहरु नकारात्मक काम गर्न थाल्छन् । जस्तै परिवारका सदस्यसँग झगडा गर्ने, विद्यालय छोड्ने, साथीभाइ बटुलेर झै-झगडामा संलग्न हुने जस्ता विभिन्न किसिमका जोखिमपूर्ण ब्यवहारहरूमा संलग्न हुन सक्ने सम्भावना प्रबल हुन्छ । जस्तो कि असुरक्षित यौन सम्बन्ध, नशालु पदार्थको प्रयोग, आत्महत्या प्रयास या आत्महत्यामा संलग्न हुन्छन्। आत्मसम्मानको कमीले उनीहरूलाई त्यसतर्फ प्रेरित गर्छ।

समाधान के त?

सबैभन्दा पहिले तपाइँ हामीले आफ्नै घरभित्रको वातावरण बालबालिका मैत्री बनाउनुपर्छ । आफ्नो रिस र आवेगलाई बालबालिकामाथि पोख्ने बानी हामी मध्ये धेरैमा छ। जसलाई छाड्नुपर्छ । बालबालिकासँग नजिक रहेर उनीहरू के चाहिरहेका छन् र त्यो ठीक छ या छैन भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर उनीहरुलाई असल र खराब के हो बुझाइदिनु पर्छ । असल हो या खराब हो मात्रै भनेर हाम्रा बालबालिकाको उत्सुकता मेटिदैन । त्यसैले उनीहरुलाई कारण सहित किन खराब छ र सही छ भने के कारणले सही छ भनिदिनु पर्छ ।

नीहरुको समस्यालाई सहजीकरण गर्न सहयोग गर्नुपर्छ । समस्याको समाधान हुन्छ भनेर सिकाउनु पर्छ । जसले उनीहरुको मनोबल उच्च बनाउन मद्दत गर्छ । आफ्ना बालबालिकालाई कुनै दोस्रो बालबालिकासँग दाँज्ने काम कहिल्यै गर्नु हुँदैन । सबै बालबालिका आफैँमा बिशेष हुन्छन् । हाम्रो अर्को नराम्रो बानी छ, त्यो हो आफ्नो मर्जी वमोजिमको बिषयमा बालबालिका पोख्त होउन् भन्ने चाहना । त्यो कदापि राम्रो होइन । उनीहरुको रुचिका बिषयमा अघि बढ्न हौसला प्रदान गर्नु पर्छ र प्रतिभा निखार्न भ्याएसम्मको सहयोग गर्नु पर्छ ।

आफ्ना बालबालिकामा भएका परिवर्तनलाई नियाल्नु पर्छ । जस्तै बालबालिका उदास हुने, सानो प्रयास पश्चात निराश हुने, चिडचिडाहट बढ्ने, एक्लै बस्न रुचाउने गर्न थाले भने आफुले सकेसम्म सकारात्मक वातावरणको सिर्जना गर्ने र उनीहरूको आत्मसम्मानलाई ठेस नपुग्ने गरी सम्झाउने बुझाउने गर्नुपर्छ । आफ्नो समय आफ्ना बालबालिकालाई दिने, उमेर भन्दा पहिले सकिन्छ भने सामाजिक सन्जालमा नजोड्ने, यदि जोड्नै पर्ने भयो भने पनि यसको राम्रो पक्ष नराम्रो पक्ष यो हो भनेर बताइदिने गर्नु पर्छ ।

हाम्रा बालबालिका बिस्तारै निराशावादतिर उन्मुख हुँदै गएका छन् ।जसले गर्दा उनीहरुमा छिट्टै निराश हुने प्रवृत्ति बढ्दो छ । जसलाई कम गर्न बालबालिकालाई आशावादी बनाएर हुर्काउने प्रयास गर्नु पर्छ । त्यसको सुरुवात सानै उमेरदेखि गर्नुपर्दछ र हरेक कामलाई गम्भीरतापूर्वक लिई सोही अनुरुपको व्यवहार दर्शाउनु पर्दछ । बालबालिकाको हातमा ग्याजेट थमाएर आफुलाई स्वतन्त्र बनाउने काम बिल्कुलै गर्नुहुँदैन । यसले उनीहरुलाई क्षणिक आनन्द र स्वतन्त्रता दिएपनि दीर्घकालीनरुपमा प्रविधिको दासको रुपमा विकास गर्दछ ।

हाम्रो सानो सकारात्मक प्रयास बालबालिकाको भविष्य निर्माणको बलियो आधार हो । त्यसैले यस्ता कुराहरुलाई गम्भीरतापूर्वक अवलम्बन गर्नु पर्छ, र आफूलाई चुक्नबाट रोक्नुपर्दछ । उनीहरूको समस्याको जरा पत्ता लगाई समाधान गर्न सकिन्छ । जसले गर्दा एउटा संस्कार सहितको भबिष्य निर्माणमा मद्दत पुग्दछ। हामी जसरी सभ्य समाजको परिकल्पना गर्दछौ त्यस्तो समाज निर्माणका निम्ति हाम्रा बालबालिकालाई तयार गर्नुपर्छ। आज खासै ध्यान दिइएन भने भोलि तिनैले चलाएको समाजबाट धेरै आशा नराख्दा पनि हुन्छ। त्यस्तै हामीले गरेको सानो प्रयास गर्यौँ भने सभ्य समाज आफ्नै जीवनकालमा भोग्न सक्छौँ। तर, त्यसको सुरुवात तपाइँ हामीले आजैबाट गर्नुपर्छ । राज्य र विकासवादी संस्था वा अधिकारका नाममा लड्ने लडाउँने व्यक्ति संस्थाले हामीलाई तत्कालिक अवस्थामा आड भरोसा दिएजस्तो लागे पनि सारमा ती सबै हामीलाई परजिवी बनाउँने यन्त्रणा हुन्। तसर्थ हामी आफै जागरुक भएर आउने पुस्ता र युगको घमाइलो परिवेश निर्माणका लागि कम्मर कसेर लाग्नु पर्छ। परिवर्तन हाम्रै जीवनकालमा सम्भव छ।त्यो ल्याउँने जिम्मेवारी तपाई हाम्रो हातेमालोबाट मात्र सम्भव छ। 

लेखक विभिन्न विधामा काठमाडौं बसेर कलम चलाउने गर्छिन्! उनको स्थायी ठेगाना सिन्धुपाल्चोक हो। 

Share :

0Shares
0