स्याङ्जाका मिहेनती कृषि उद्यमी भन्छन्, “वार्षिक १० लाख कमाउन विदेश नजाऔं”
जीवन अर्याल/स्याङ्जा: कोरियन भाषा पढ्न र नाम निकाली कोरिया जान नेपाली युवामा चलेको लहर! त्यसमा पनि नाम नै निस्केर कोरिया उड्न तम्तयार हुने अवस्थामा कसको मन नरमाउला? कसलाई खुशी महसुस नहोला? तर, स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं ११ जिमुवाका रुमलाल कँडेलको कथा बेग्लै छ।
रहरैरहरले कोरियन भाषा पढे। उनको रहरले साथ पनि दियो। नाम निकाले। सबै कुरा तयार भएर उड्न तम्तयार भए। त्यतिबेला उनले कोरियन भाषामा नाम निकालेर कोरिया उड्ने तयारी गर्दै गर्दा गाउँमा एक खालको हल्ली नै भयो। रुमलाल कोरिया जाने भयो। पैसा कमाउने भयो। तर, उनले सबैको अनुमान गलत साबित गरिदिए। अन्तिम अवस्थामा आएर उनको मनले कोरिया जान मानेन। अन्ततः गएनन् पनि।
उनी भन्छन्। “मैले कोरिया यहीँ बनाएँ। म कोरिया नगएरै कोरिया गएको भन्दा कम आम्दानी गरेको छैन”
जो-कसैलाई सुन्दै अपत्यारिलो लाग्न सक्छ, कि एउटै मान्छेले यहि थोक कसरी गर्न सक्छ? तर, उनले सकेका छन्। गरेरै देखाएका छन्।
एकदिन हामी उनको घरमा अचानक पुग्यौँ। उनी गाईको फर्ममा मेसिनले घाँस काटिरहेको अवस्थामा भेटिए। उनीसँग हाल ७ वटा होलिस्टिन फ्रिजियन गाई छन्। ३ वटा भैँसी छन्। भैँसी चाहीँ उनी आफैले एकल प्रयासमा नश्ल सुधार गरी उन्नत जातको बनाएका हुन्। सरदर गाई र भैँसीबाट हाल दैनिक ४५ लिटर दुध उत्पादन हुन्छ। उनले उत्पादन गरेको दुधको बिक्रीको लागि कुनै समस्या पनि छैन। गल्याङ नगरपालिकाभित्र नै दुधको खपत हुन्छ। उनको लक्ष्य दैनिक १५०-२०० लिटर दुध उत्पादन गर्ने हो। त्यसको लागि उन्नत फर्म, उन्नत गाई र भैसीको व्यवस्था गरिसकेका छन्। वर्षमा रु. ६-७ लाख दुधबाटै आम्दानी गर्ने उनको सोच छ।
उनी यतिमा मात्रै सीमित छैनन्। आधुनिक प्रजातिका घाँस समेत रोपेका छन्। केही रोपनी जग्गामा लगाएको घाँस उनले अन्य किसानलाई समेत बिक्री गर्ने गरेको बताउँछन्। साइलेज, जै घाँस, मकै घाँस, सुपर नेपियर जस्ता घाँस रोपेर उनले घाँसमा समेत आत्मनिर्भर बनेको बताउँछन्।
कोरिया जान रोकिएर यता बसेका उनको उद्यम यतिमा मात्र सीमित छैन। पावर ट्रेलर, कुटानी पिसानी मिल, हाते ट्याक्टर उनका अन्य व्यवशाय हुन्। उनी भन्छन्। “यसपाली मकैबारी भित्र लगाएको सूर्यमुखी फूलको खेतीबाट २ लाखभन्दा बढी बचत भयो”
उनले गरेको सूर्यमुखी फूलको खेती जिल्लामा नै नमुना मध्येको एक हो। उनका पौरखी हातहरु यतिमा मात्रै बाँधिएका छैनन्। तरकारी खेती, फलफुल खेती, धान खेती र धानको बीउ उत्पादन, ब्रोइलर कुखुरा पालन उनको अर्को मुख्य उद्यम हो।
उनले अझै थप्छन्। “मैले आफूलाई चिनाउँदा आलु खेतीको कृषक भनेरै चिनाउन चाहन्छु।” झण्डै ५ बिगाहा क्षेत्रफलमा उनले आलु खेती गर्ने गरेका छन्। १५०० क्विन्टल आलु उनले शित भन्डारण गरी राखेको जनाए। हामी हेर्न गयौँ। उनले भनेको कुरा वास्तवमा नै सत्य थियो। शीत भण्डारमा राखेको आलु स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही र चितवनसम्म पुग्ने गरी व्यापार गरिने उनको भनाई छ। आलु खेतीबाट मात्रै उनले वर्षेनी १० लाख भन्दा बढी रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए।
जोश जाँगर, निरन्तर मिहेनत र इच्छाशक्ति भए देशमै थुप्रै संभावना रहेको र कृषि त्यसमा पनि सबैभन्दा उत्तम कार्य रहेको उनको भनाइ छ। कृषि कर्म गर्ने कहिल्यै भोकै बस्नु नपर्ने र भोकले मर्नु नपर्ने भएकाले वैदेशिक रोजगारीमा विदेश भासिएका युवाहरुलाई उनले स्वदेशमै कृषि कर्म गर्न र आफू नै उद्यमी बन्न सल्लाह दिन्छन्।
उनी भन्छन्,” वार्षिक १० लाख कमाउन कोही नेपाली नेपाल छोडेर विदेशिनु पर्दैन।” ठाउँ अनुसार, माटो र हावापानी अनुसार कृषि कर्म गरी देशलाई आत्मनिर्भर बनाउन र आफू उद्यमी बनी विदेश पलायनबाट जोगिन उनको सुझाव रहेको छ। कृषि पेशासँग सम्बन्धित ज्ञान र प्रयोगका लागि आफू सँधै तयार रहेको समेत उनको भनाई छ। उनी भन्छन्,”कृषिमा होमिन चाहनेले एकपल्ट मलाई भेट्नुस्। सकेको सहयोग गर्नेछु!”
आफ्नो प्रतिक्रिया दिनुहोस्