वालिङ महोत्सवको बेथिति, भागबन्डामा मिलाइयो छुट्टाछुट्टै अतिथि

माघ १६/वालिङ: वालिङ महोत्सव सुरु हुन अब २ दिन मात्र बाँकी हुँदा केही दिनदेखि देखिएको प्रमुख अतिथिको विवाद पनि मिलाइएको छ। वालिङ महोत्सव सुरु हुनै लाग्दा देखिएको बेथिति अन्ततः दुई छुट्टाछुट्टै अतिथि बनाउने कुरासँगै अन्त्य भएको हो।‌

केही दिनदेखि विवाद र चर्चामा रहेको प्रमुख अतिथिको विवादलाई काङ्ग्रेस र एमाले पक्ष बसेर टुङ्गोमा पुर्याएका हुन् । छलफलको निष्कर्ष अनुसार उद्घाटनमा काङ्ग्रेस पक्षले प्रमुख अतिथि पाउने निर्णय भएपनि कसलाई बनाउने भन्ने वहसका बीच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बनाउने एक खालको तयारी गरिएको छ। क्षेत्र नं. २ बाट निर्वाचित भएर हाल नेपाल सरकारका कानून मन्त्री समेत रहेका धनराज गुरुङ भने यो महोत्सवमा प्रमुख अतिथिको रुपमा पत्याइएनन्।

यता समापनको प्रमुख अतिथि पाएको एमालेले भने प्रमुख अतिथिको टुङ्गो लगाएको छ। पूर्वमन्त्री पद्मा अर्यालले समापनको प्रमुख अतिथिको रुपमा उपस्थित हुने छन्।

महोत्सवमा प्रमुख अतिथिको विवाद भएपनि सहयोगी संघसंस्था, आमा समूह, युवा क्लब, उद्योगी व्यापारीहरुको भने भरपर्दो सक्रियता देखिएकाले महोत्सव तयारी अन्तिम चरणमा पुगिसकेको छ।

Share Post on Social media