आठौं वालिङ महोत्सव, खल्तीबाटै टिकट बुकिङ गर्न पाइने

जीवन अर्याल/वालिङ: “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना गरिएको आठौं वालिङ महोत्सवमा अनलाइन प्लेटफर्म खल्तीबाट टिकट बुकिङ गर्न पाइने भएको छ। 

बढ्दो डिजिटल युग र यसको प्रयोगलाई ध्यानमा राख्दै अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरिएको जानकारी महोत्सव आयोजक मुल समितिकी सहसंयोजक अनुपमा ढुङ्गाना तिवारीले जानकारी दिइन्। उनका अनुसार १५ गतेदेखि अनलाइन प्लेटफर्म खल्तीबाट टिकट बुकिङ खुल्ला गरिनेछ। 

साथै महोत्सव अवधिभरका लागि लागू गरिन लागिएको स्थायी पास भने रु ५०० तिरेपछि महोत्सव आयोजक सचिवालयबाटै उपलब्ध हुने छ। अघिल्ला-अघिल्ला महोत्सवमा अपाङ्गतामैत्री सुविधा नभएको गुनासो आउने गरेकाले यसपटक भने अपाङ्गमैत्री सुविधा समेत व्यवस्थापन गर्न लागिएको जानकारी वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले दिए। 

कृषि तथा हस्तकलाका सामाग्रीहरु प्राथमिकतामा

यसपटकको आठौँ वालिङ महोत्सवमा कृषि तथा स्थानीय उत्पादनहरु मुख्य आकर्षण हुनेछन् भने हस्तकलाका सामाग्रीहरु प्राथमिकतामा रहनेछन्। विगतको महोत्सवमा भन्दा यो महोत्सवमा भन्दा बढी हुने गरी २० वटा स्टलहरु समेत निशुल्क दिइने व्यवस्था गरिएको छ। स्थानीय उत्पादनको बजारीकरणलाई टेवा पुर्याउने उदेश्यले यस्तो व्यवस्था गर्न लागिएको हो। त्यस्तै उद्योग वाणिज्य संघमा नियमित दर्ता तथा नवीकरण भएका अति विपन्न वर्गका लागि पनि निशुल्क स्टल दिईने व्यवस्था गरिएको जानकारी महोत्सव आयोजक मुल समितिकी सहसंयोजक अनुपमा ढुङ्गाना तिवारीले दिइन्। 

प्राकृतिक विपत्ति पीडित व्यवशायीलाई निशुल्क स्टल, भजन प्रतियोगिता आयोजना

प्राकृतिक विपत्तिमा परेर आफ्नो व्यवसाय तथा व्यापारमा क्षति पुगेका व्यवशायीहरुलाई महोत्सवमा व्यापार व्यवसाय गर्न निशुल्क स्टलको व्यवस्था गरिएको छ। स्थानीय प्रतिभालाई उजागर गर्न डान्स आईडल समेत महोत्सवमा आयोजना गरिएको र यसपटकबाट भजन प्रतियोगिता पनि आयोजना गरिएको संघले जनाएको छ। 

पछिल्लो समय हराउँदै गएको भजन चुड्का प्रतियोगितालाई पनि समावेश गरिएको महोत्सव आयोजक मुल समितिले जानकारी दिएको छ। वालिङ महोत्सवलाई सफल पार्न प्रचारप्रसार, सामाजिक सञ्जालको प्रयोग, राष्ट्रिय तथा स्थानीय मिडिया मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सन्देश प्रवाह गरिने जनाइएको छ।

Share Post on Social media