स्याङ्जामा पुनः थपियो निषेधाज्ञा, असार २५ सम्म लागू हुने

असार १५/स्याङ्जा:
राम बहादुर रोकाहा
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदो असार २५ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ ।


जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको र असार १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ भने अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।


देशमै कोरोनाको दोस्रो लहर भित्रीएसङ्गै अछुतो नरहेको स्याङ्जामा पनि दोस्रो लहरको कोरोना संक्रमणका कारण थप गरिएको निषेधाज्ञाको समयमा सबै प्रकारका तालिम,गोष्ठी , सभा , भिडभाड हुने स्थलहरु , मेला महोत्सव र खेलकुद प्रतियोगिताहरु निशेध गर्ने एवं सिनेमा हल , पार्टी प्यालेस , होटेल तथा रेस्टुरेन्ट(टेक अवे सेवा संचालन गर्न सकिने) , नाचघर, फुटसल , क्लब , जिमखाना,ब्युटी पार्लर , शैलुनबाट प्रदान गरिने सेवाहरु पूर्ण रुपमा बन्द गरिने भएको छ भने अन्य व्यवसायहरुले स्वास्थ्य सुरक्षा अपनाएर बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ला राखिने तर औषधि एवं स्वास्थ्यसामाग्रीका पसलहरु २४ सै घन्टा खुल्ला रहने निर्णय भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।


लकडाउनको मोडालिटी परिवर्तन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सम्पुर्ण सरकारी कार्यालयहरु संचालन गर्ने र सहकारी एवं गैरसरकारी संस्थाहरुले आफ्नो कार्यालयबाट मात्रै सेवा प्रदान गर्ने गरि संचालन गर्ने साथै बैंक तथा वित्तीय संस्थाका सेवाहरु पनि स्वास्थ्य सुरक्षा अपनाई पुर्ण रुपमा संचालन गर्न पाइने भएको छ । यस जिल्लाभर मात्र संचालन गर्न पाइने गरि निजि तथा सार्वजनिक सवारीसाधनहरुलाई जोर-बिजोर प्रणालीअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्र संचालन गर्ने गराउने र सार्वजनिक सवारीसाधनले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुर्ण रुपमा पालना गर्दै सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाइने निर्णय थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साथै यस जिल्लाबाट अन्य जिल्ला जाने सवारीसाधनले भने जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र लिएर मात्र जानुपर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभएको छ।

Share Post on Social media