स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइयो साक्षरता दिवस

भदौ २३/स्याङ्जा: ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

स्याङ्जा जिल्लाका विभिन्न स्थानीय निकायले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा सम्बन्धी कार्यक्रम, पुरस्कार वितरण तथा अन्य अतिरिक्त क्रियाकलाप गरी मनाए।

आँधीखोला गाउँपालिकाद्वारा आधारभुत (कक्षा ६-८) तथा माध्यमिक स्तरीय (कक्षा ९-१०) खुल्ला निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको जनाइएको छ।‌

भीरकोट नगरपालिकाले खुला वक्तित्वकला प्रतियोगिता आयोजना गरी साक्षरता दिवस मनाएको छ। भीरकोट नगरपालिकाभित्र रहेका १३ वटा माध्यमिक विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितामा बालोदय मा.वि.का छात्र प्रान्ज्वल तिवारी प्रथम भएका थिए भने भू. पू. सैनिक आवासीय मा. वि. की छात्रा कृष्णा कुमारी खत्री द्वितीय, शहिद शुक्र मा.विकी छात्रा सुजाता खत्री तृतीय भएकी थिइन् भने महेन्द्रज्योति मा.वि कि छात्रा दिपीका थापाले सान्त्वना स्थान प्राप्त गरेकी थिइन्।

उता गल्याङमा पनि ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको खबर प्राप्त भएको छ।

गल्याङ नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै साक्षरता कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।‌‌

वालिङ नगरपालिकाले माझकोट शिवालय माविमा कार्यक्रम गरी साक्षरता दिवस मनाएको छ। साक्षरता दिवस कुनै हल वा कार्यालयमा नगरी विद्यालयमै गरिएको नगरपालिकाको भनाइ छ।

अन्य जिल्लास्थित पालिकाहरुमा पनि साक्षरता दिवस मनाइएको पालिकाहरुले जनाएका छन्।

Share Post on Social media