“सिद्धार्थ राजमार्ग र आँधीखोला संरक्षणमा जिम्मेवार बन”
सम्पादकीय: २०८० सालभर स्याङ्जाका कुनैपनि जनप्रतिनिधि, सांसद् र मन्त्रीहरु सिद्धार्थ राजमार्गको विस्तार तथा पुनर्निर्माण गर्न संवेदनशील देखिएनन्। स्याङ्जा जिल्लालाई राजनीति गर्ने भर्याङ बनाएर माथि पुगेकाहरुको प्राथमिकतामा सिद्धार्थ राजमार्ग कहिल्यै परेन।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि लुम्बिनी प्रदेशको पूर्वमुकाम बुटबल, औद्योगिक नगरी भैरहवा तथा भारतको सुनौलीसम्म पुग्ने, पहाड र तराई मात्र जोड्ने नभई नेपाल र भारतलाई नै जोड्ने देशकै पूरानो मध्ये एक सिद्धार्थ राजमार्ग यही जिल्लाबाट स्थायी सरकारको मुख्य सचिव बनेका व्यक्तिदेखि मन्त्रीसम्मको नजरमा नपर्नु कतिसम्म दु:खद कुरा हो। स्याङ्जा जिल्लाको भविष्यकै रुपमा रहेको यो राजमार्ग सँधै हेपाहा दृष्टिमै परिरह्यो।
स्याङ्जा जिल्लाको सांस्कृतिक सम्पदाको रुपमा मात्रै नभएर धार्मिक र पौराणिक महत्व समेत बोकेको आँधीखोला नदीको संरक्षण र पर्यावरण सन्तुलनमा स्याङ्जा जिल्लाका हरेक स्थानीय निकाय असफल बने। आँधीखोला नदीको जलसम्पदामा प्रत्यक्ष सरोकार र अर्थ राख्ने आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका त यस नदीको दोहनमा मरिमेटेर लागेका छन्।
आँधीखोला क्षतविक्षत अवस्थामा रोइरहेको छ। तर, यसको संरक्षणका लागि कुनै स्थानीय सरकार, स्थानीय जनप्रतिनिधिको ध्यान पुगेको छैन। क्षणिक लाभको लोभमा नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ओसारपसार गर्नको लागि नदी छेउमै क्रसर खोल्नु, अवैध रुपले खोलिएका क्रसरलाई जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले समेत नजरअन्दाज गरिदिनुले नदी दोहन कार्य कति गहिरिएर गैसक्यो भन्ने प्रष्ट हुन्छ।
गिट्टी ढुंगा र बालुवा बेचेर आउने पैसाभन्दा पनि ठूलो मानवीय स्वास्थ्य हो। पर्यावरणीय सन्तुलन हो। नदी पानीको मुख्य स्रोत हो। नदीको दोहन पानीको दोहन हो। र, पानी नहुने अवस्था, पानी कम हुने अवस्था आउनु मानवीय स्वास्थ्य र जीवनयापनको लागि कति गम्भीर विषय हो भन्ने कुरा अब पनि बुझ्न सकिएन भने यसले मानवीय जीवन नै संकटमा पार्छ।
सिद्धार्थ राजमार्गको अपग्रेड र आँधीखोला नदीको संरक्षणका विषयमा निरन्तर खबरदारी रहिरहने छ। सम्पूर्ण निकायहरु यस विषयमा जिम्मेवार बन्न जरुरी छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्