संघीय सरकार भन्छ,लकडाउन छैन! जिल्ला प्रशासन कार्यालयहरु भन्छन्, “निशेधाज्ञा पूर्ण रुपमा पालन नगरे कडा कारबाही।”

भदौ ७/जीवन अर्याल :

केन्द्रीय सरकारले लकडाउन खुल्ला गरेको र खुकुलो बनाएको धेरै भैसकेको थियो। एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारीसाधन त ठप्प नै थिए। चैतको ११ गतेदेखि लामो दुरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन्। विद्यालय,कलेज लगायतका धेरै संस्थाहरु बन्द नै छन्। मठ मन्दिरमा भीडभाड हुन छोडेको पनि महिनौं भैसक्यो। तर, यो बीचमा भएको लकडाउनले कोरोना संक्रमितको संख्या कमी हुन भने छोडेन। उल्टो हरेक दिन बढी नै रह्यो। बीरगंज र काठमाडौंमा इपिसेन्टर नै बनाएर कोरोना संक्रमण समुदायमै फैलियो।  

हतारहतार गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै पास वितरण कार्य बन्द गर्न निर्देशन दियो। पास त बन्द भए तर कोरोना संक्रमण भने हावाकै गतिमा फैलियो। हाल देशका ३५ भन्दा बढी जिल्लामा निशेधाज्ञा जारी गरिएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णयबमोजिम संक्रमण बढी देखिएका स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

कुनै जिल्लाले निशेधाज्ञाको आदेशलाई अझै बढी समय हुने गरी लम्ब्याएका छन् भने कुनै जिल्लामा जारी आदेशको समयसीमा अझै बाँकी नै रहेको छ। यी जिल्लामा निशेधाज्ञा जारी रहेको छ।

सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।

आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।

महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन् ।

Share Post on Social media