स्याङ्जा जिल्लाका ११ वटा पालिकामध्ये अर्जुनचौपारी गाउँपालिका LISA रिपोर्टमा सर्वोत्कृष्ट

भदौ ९/स्याङ्जा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका सर्वोत्कृष्ट बनेको छ।

अर्जुनचौपारी गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपत् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वय शीर्षकमा ४.५ अंक प्राप्त गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नतिजा अनुसार स्याङ्जा जिल्लामा ८६ अंक प्राप्त गर्दै अर्जुनचौपारी गाउँपालिकाले सर्वोत्कृष्ट स्थान प्राप्त गरेको हो। ८४.७५ अंकका साथ फेदीखोला गाउँपालिका दोस्रो, ८४.५० अंकका साथ कालीगण्डकी गाउँपालिका तेस्रो भएका छन्।

आँधीखोला गाउँपालिकाले ८४ अंक प्राप्त गर्दा नगरपालिकामा भने ८२ अंकका साथ गल्याङले अग्रता कायम गरेको छ। चापाकोट नगरपालिका भने ५२.५० अंकका साथ पुछारमा रहेको छ।

विभिन्न १० वटा शीर्षकमा स्थानीय निकायको कार्यसम्पादनलाई आधार बनाएर हरेक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले LISA प्रतिवेदन तयार गरी प्रकाशित गर्ने गरेको छ।

यसअघि पनि अर्जुनचौपारी गाउँपालिका उत्कृष्ट बनेको थियो।

Share Post on Social media