“सम्बृद्ध अर्जुनचौपारी गाउँपालिका बनाउन जस्तोसुकै त्याग गर्न तयार छु”, प्रकाश तिवारी!

भदौ १३/स्याङ्जा :अर्जुनचौपारी गाउँपालिकालाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउन आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताएका छन्।

आज अर्जुनचौपारी गाउँपालिकाको आयोजना र रेडियो स्याङ्जाको सहजीकरणमा सम्पन्न भएको आर्थिक वर्ष २०८१/८१ को तेस्रो त्रैमासिक/ वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही र सरोकारवालाहरुले उठाएको प्रश्नको जवाफमा उनले उक्त धारणा व्यक्त गरेका हुन्।

अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजना गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति विवरण सार्वजानिक गर्दै अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले कर्मचारीहरुको मिहिनेत र एकताको भावनाले गरिएको कार्यसम्पादनकै कारण आन्तरिक राजस्वमा उल्लेखनीय वृद्धि गरेको, आर्थिक पारदर्शिता र जवाफदेहितामा सुधार भएको, पालिकाको सर्वाङ्गीण विकासको स्पष्ट खाका सार्वजनिक गरी कार्यान्वयनमा लगिएको बताउँदै सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिलाई आभार व्यक्त गरेका थिए।

शिक्षा क्षेत्रमा क्रमबद्ध सुधारका कार्ययोजना बनाएर लागू गरिरहेको बताउँदै उनले पालिकाभर शिक्षा र स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा राखिएको धारणा राखे।

गाउँपालिका प्रमुख प्रकाश तिवारीले सुधारका कार्ययोजना बनाएर लागू गर्दा आफूमाथि अर्जुनचौपारी गाउँपालिकाको विकास र समृद्धि नरुचाउने केही तत्वहरुले निरन्तर प्रहार गरेपनि आफूले हार नमान्ने र जुनसुकै हालतमा गाउँपालिकाको विकास कार्य निरन्तर चल्ने बताए। आर्थिक अनुशासन, फोहरमैला व्यवस्थापन, वित्तीय सुशासन, चुस्त सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता जस्ता विषयमा अर्जुनचौपारी गाउँपालिका अब्बल रहेको बताउँदै उनले सहयोगी सम्पूर्णलाई धन्यवाद समेत प्रकट गरे।

नेकपा एमाले अर्जुनचौपारी गाउँकमिटी सचिव टंकप्रसाद खनालले ( शैक्षिक कार्यदलको विषयमा जिज्ञासा र नाली हेर्ने निकायले नाली तथा सडक सरसफाईमा ध्यान नदिएको विषयमा प्रश्न गरे। स्वास्थ्य चौकीमा औषधी अभावको विषयमा कुमार रोकाले प्रश्न गरेका थिए।‌ बढ्दो बसाइसराईको दर कम गर्न पहल गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै नेकपा एमाले अर्जुनचौपारी अध्यक्ष चक्रबहादुर गुरुङले गाउँपालिकाको राम्रो कामको सराहना समेत व्यक्त गरे। बुटवल पावर कम्पनीको बिजुली बाल्ने उपभोक्तालाई समान व्यवहार गर्न ध्यानाकर्षण गराउँदै नेकपा एमाले अर्जुनचौपारी उपसचिव तथा समाजसेवी मिनबहादुर खड्काले दरौंखोलाको ढुङ्गा गिट्टी बालुवा संरक्षणमा समेत सक्रिय हुन आग्रह गरेका थिए।

यसैगरी पिउने शुद्ध पानीको पहल गर्न माग, सरसफाई तथा फोहर व्यवस्थापनका लागि गाउँलिकाले‌ पहल गर्नुपर्ने बताउँदै कृष्ण क्षेत्रीले आम सर्वसाधारणले सरकारको महसुस हुने वातावरण बनाउन माग गरेका थिए। पत्रकार अर्जुन काफ्लेले पञ्चकन्या माविमा गुण्डागर्दीको विषयलाई जोडदार रुपमा उठाएका थिए।

पञ्चकन्या माविका प्राचार्य विष्णुप्रसाद तिवारीले शिक्षकले खेप्नुपरेको अन्यायका विषयमा आफ्नो धारणा राखे। समाजसेवी टुकराज अर्यालले जग्गाको उब्जनी अनुसारको बीउ बिजन वितरण र उत्पादनमा जोड दिन अनुरोध गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिए। अर्जुनचौपारी गाउँपालिकाका निवर्तमान अध्यक्ष दीर्घनारायण अर्यालले आफूहरुको ठूलो त्याग र बलिदानकै कारण अर्जुनचौपारी गाउँपालिका बनेको स्मरण गराउँदै यस पालिकाको सर्वाङ्गीण विकासकालागि सबैलाई आफ्नो भूमिका स्मरण गर्न आग्रहसमेत गरे।‌

उठेका विभिन्न प्रश्नहरुको अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत आशिष शर्मा, गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जवाफ दिएका थिए। रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदारले सञ्चालन गरेको कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङले स्वागत मन्तव्य राखेकी थिईन्।

कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो।

Share Post on Social media