चापाकोट अपांग संघले तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम आयोजना गर्ने
भदौ १३/सुनिल न्यौपाने,स्याङ्जा- चापाकोट अपांग संघ स्याङ्जाले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा चापाकोटमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको छ। आगामी भदौ १४ गते चापाकोट ९ बेल्चौर सिटीहलमा हुने कार्यक्रममा अपांगता भएका व्यक्ति, महिला तथा पछाडि परेका वर्गहरुलाई लक्षित गरी खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिनुभएको छ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: रु. २० हजार, १० हजार, ५ हजार र २ हजार नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिने संघले जनाएको छ।
प्रतियोगितामा सहभागि हुनेले भदौ १३ गतेसम्म नाम दर्ता गर्न पाउने संघले जनाएको छ । तीजका मौलिक भाकाहरु जोगाउने गरी संघले खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको छ, हाम्रो समाजमा अपांगता भएका व्यक्ति,वृद्ध,पछाडी परेका वर्ग र आर्थिक स्रोत न्युन भएका व्यक्ति पनि भएकोले उनीहरुलाई लक्षित गरी पहिलोपटक दर्ता शुल्क पनि नलाग्ने गरी कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । थापाले भन्नुभयो,” यस्ता खालका कार्यक्रम आयोजना गर्दा स्थानीय सरकारले पनि विभिन्न किसिमको सहयोग गर्नुपर्छ।”
प्रतियोगितामा एक समुहमा बढीमा १० जना सहभागि भएर १० मिनेटभित्र मौलिक तीजको भाकामा गीत गाउनुपर्ने हुन्छ।
२०७९ सालमा चापाकोट शाखाको रुपमा स्थापना भएको चापाकोट अपांग संघले विगतमा अपांगताहरुको लागि निति योजनामा समावेश गरिनुपर्ने १ दिने कार्यक्रम,२ महिने सांकेतिक भाषा तालिम,अचार बनाउने तालीम र अपांगता सहयोगी सामाग्री बितरण जस्ता कार्यक्रमहरु गरिसकेको छ ।
पूर्वमन्त्री सरस्वती अर्याल तिवारी प्रमुख अतिथि रहने कार्यक्रममा खुला तीज गीत प्रतियोगिता लगायत तीजको शुभकामना आदानप्रदान, दर खाने कार्यक्रम,रास्ट्रीय कलाकारहरु रोशन गैरे, कृष्ण सुबेदी र सलिना थापाको बेजोड प्रस्तुति रहने संघले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्