पूर्व विद्यार्थी समाज कालिका माविको अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

भदौ १५/स्याङ्जा : पुतलीबजार नगरपालिका–१३, स्याङ्जा स्थित श्री कालिका माध्यमिक विद्यालयमा नवगठित पूर्व विद्यार्थी समाजले आज एक दिने अभिभावक उत्प्रेरणा (Parenting Education) कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका अभिभावकको सक्रिय सहभागितामा उक्त उत्प्रेरणा कार्यक्रम गरिएको हो। कार्यक्रमका प्रमुख  प्रक्षिक्षक डा.तुलसी प्रभास खनालले बालबालिकाको सिकाइ प्रक्रिया प्रभावकारी बनाउन अभिभावकले खेल्ने भूमिकाबारे विस्तृत प्रकाश पारेका थिए। उनका अनुसार सामुदायिक विद्यालयमा अभिभावक आउँदैनन् भन्ने एउटा भ्रम छ चिर्दै आफ्ना छोराछोरी भन्दा प्यारो बाबुआमाका लागि अरु के छ ? भन्ने कुरामा जोड दिए। बेलाबेलामा अभिभावक, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणाको आवश्यकता छ । उत्प्रेरणाले सुतेको र सुस्ताएकोलाई झक्झक्याउने काम गर्छ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोईरालाले दिएका थिए भने विद्यालयका प्रधानाध्यापक लोकनाथ घिमिरेले विद्यालयका विभिन्न गतिविधि, अभिभावक–विद्यालय सहकार्यबारे महत्व राखेका थिए।

स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत लम्सालले नमुना विद्यालयको लागि अभिभावकीय भूमिकामा जोड दिए। साथै उनले मुक्तिनाथ बिकास बैंकको तर्फबाट १ थान डेस्कटप विद्यालयलाई हस्तान्तरण गरे। २०० भन्दा बढी सहभागी उक्त कार्यक्रममा सहभागीहरूले यस प्रकारका गतिविधिले विद्यालय र घरबीचको समन्वय मजबुत हुने र बालबालिकाको अध्ययनमा थप सुधार आउने अपेक्षा व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष बोधराज गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव युक्त अर्यालले गरेका थिए ।

Share Post on Social media