अर्जुनचौपारी गाउँपालिका अध्यक्ष जेसिआई युथ अवार्डद्वारा सम्मानित
खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित भएका छन् ।
युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदर गर्दै जेसीआई नेपालले ५२ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त अवार्डद्वारा सम्मान गरेको हो । जेसीआई नेपालले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका युवालाई सम्मान गर्दै आएको छ ।
यसअघि पनि तिवारी चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइनखबरद्वारा प्रकाशित ‘४० मुनिका ४०’ सूचीमा सूचीकृत भई सम्मानित भइसकेका छन् । देशभरका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ४० वर्षमुनिका प्रभावशाली युवालाई समेट्दै उक्त सूची सार्वजनिक गरिँदै आएको छ ।
पहिले गुमनाम र विकासका दृष्टिले पछाडि परेको अर्जुनचौपारी गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन तिवारीको नेतृत्व निर्णायक बनेको स्थानीयहरू बताउँछन् । सीमित स्रोत–साधनका बाबजुद स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यान्वयन र जनसहभागितामूलक विकास मोडेलमार्फत उनले गाउँपालिकालाई विभिन्न राष्ट्रिय सम्मान र पुरस्कारको योग्य बनाउन सफल भएका छन् ।
