स्याङ्जाका किसान धान काट्न व्यस्त, धानमा कालोपोको भएको भन्दै चिन्ता

कार्तिक ११/स्याङ्जा: नेपालको प्रमुख खाद्यान्न बाली धान काट्ने र थन्काउने यो कार्तिक मुख्य महिना हो।

दशैं लगत्तै धान काट्ने र दाइँ गर्ने कार्यक्रम यसअघिका सालहरुमा भएजस्तै यस साल पनि सुरु भएको छ। यो पटकको दशैं कार्तिक महिनामा परेको र खेतमा धान पाकेर सुकिसकेकाले हतारिनुपरेको किसानहरु बताउँछन्।

अघिल्ला वर्षहरुमा असोजमा दशैं पर्थ्यो। आनन्दले दशैं मनाएर खेतमा निस्कन पाइन्थ्यो। यसपटक समय पनि त्यस्तै परेको र कोरोना भाइरसको महामारीले घरबाहिर कतै दशैँ मनाउन जान नसकिएको धेरै जसो मानिसहरुको भनाइ छ।

चैत महिनादेखिको लकडाउनको कारण शहरमा भएका धेरै युवाहरु फर्केर गाउँ आए। गाउँमै खेतीकिसानी गरे। त्यसैले पनि यो पटक धेरै धान फल्यो। अर्जुन चौपारी गाउँपालिका वडा नं १ का स्थानीय कृषक मनिराम अर्याल बताउँछन्।

खेतमा धान काटिरहेका एक शिक्षकले पनि आफू धेरै वर्षपछि खेतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै भने,” धान काट्न आनन्द आएको छ। यसपटक अझ बढी धान फलेको महसुस गरेको छु” कहिल्यै खेतमा पाइला नटेकेका युवाहरु पनि अग्रसर हुँदा यसपाली धान भने बढी उत्पादन हुने भएको छ।

खेतमा कृषकका अतिरिक्त शिक्षक, व्यवशायी, बैंकर, म्यानेजरहरु पनि धान काटिरहेका देखिन्थे। यसरी धान काट्दै गर्दा धानमा कालोपोको बढेको र पोहोर परारका सालमा यसरी पोको नभेटिएको कृषक गिरीप्रसाद तिवारीले जानकारी दिए। उनको भनाइ अनुसार खेतमा लगाइएको धान सबै हाइब्रिड बीउ भएको र स्थानीय बीउ नलगाइएको भन्ने थियो।

यसरी हाइब्रिड जातको धानको बीउ लगाउँदै जाँदा स्याङ्जाका फाँटहरुमा लगाइने कालो झिनुवा, जर्नेली धान, राधा सात, राधा नौ, भट्टे १२, खोलेमार्सी, मन्सुली, पोखरेली जेठो बुढो जातका स्थानीय धानहरु लोप भएको छ।

उन्नत जातको बीउबिजन प्रयोग गर्दै गर्दा आफ्ना स्वदेशी तथा स्थानीय स्तरमा उत्पादन गर्दै आएका धानका प्रकारहरु नष्ट गर्दै जानु बुद्धिमता पक्कै होइन। यस कुरामा विचार भने अवश्य पुर्याउनुपर्दछ।

Share Post on Social media