भेटघाट र छलफलमा व्यस्त मन्त्री अर्याल, कतै बिरोध कतै समर्थन

मंसिर ४/ खबरकलम संवाददाता: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गृहजिल्ला स्याङ्जामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त छिन्।

उनी केही कामले चर्चा र आलोचना दुबैको शिकार भएकी छिन्। हालैमात्र पत्रकारलाई पैसा बाँडेको तथा चापाकोटमा बिना नियन्त्रणा भवनको उद्घाटन गरेका समाचारले उनी मिडियाको केन्द्रमा रहिन्।

यसैबीच, भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले वालिङ र समग्र विकासका निमित्त आफू प्रतिवद्ध रहेको बताएकी छन्। विहिबार आफ्नै निवास वालिङ नगरपालिका वडा नं १ त्रियासीमा नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षलगायत जनप्रतिनिधि, शिक्षक, राजनितिक दल, उद्योगी व्यवसायी तथा बुद्धिजिवीहरुबीचको छलफलमा उनले यस्तो बताएकी हुन्।

पछिल्लो समय सामाजिक संजालहरुमा मन्त्री र स्थानीय तहबीचमा समन्वयकारी भुमिका कम देखिएको भन्दै विभिन्न टिका टिप्पणी आएका थिए । यही क्रममा मन्त्री अर्यालले आफ्नै निवासमा उहाँहरुसंग छलफल कार्यक्रमको आयोजना गरी वालिङको विकासका लागी आफू सक्दो प्रयास गरेको बताइन्।

उनले भनिन्, “केन्द्रबाट आएका ३ करोड बढी रकम फ्रिज हुन पुग्यो, केन्द्र सरकारको स्पिड अनुसार स्थानीय तहले गति लिन सकेनन् ।’ मन्त्री अर्यालले वालिङ १४ को मैँसी पालन, हस्पिटल, थुमपोखराको कृषि फार्म, व्याङतुङ गिरीगाउँ खानेपानी, पुर्णामृत भवनीलगायतका योजनामा पठाईएका रकम समयमै खर्च हुन नसेकेको भन्दै उनले भनिन्,, ‘संघबाट मैले पर्याप्त रकम पठाएको छु । आफ्नो ठाउँको विकासको चाहना मेरो हो । तर, स्थानीय तह संघको स्पिडमा हिड्न सकेनन्।”

पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्दै गर्दा स्वरेकमा प्याराग्लाईडिङको हबका बनाउनका लागि भीरकोट र वालिङ दुवैतिरबाट सडक पिच हुने भन्दै पर्यटनको विकासमा आफू लागि परेको उनको भनाइ थियो।

कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खाँणले भैँसीपालनका लागि रकम ढिला निकासा हुँदा रकम फ्रिज हुन पुगेको भन्दै सामाजिक संजालमा आएका हल्ला निराधार रहेको बताए।

पद क्षणिक भएकाले समग्र वालिङको विकासका लागि सबैको भूमिका उत्तिकै रहेको भन्दै प्रमुख खांणले संघिय सरकारसंग हातेमालो गरिरहेको बताएका थिए। तीन तहको सरकारबीचमा समन्वयकारी भूमिकाले मात्रै विकास हुने बताए।

त्यस्तै उपप्रमुख कल्पना तिवारीले सामाजिक संजालमा भएका हल्लाको कुनै तुक नरहेको भन्दै तीन तहको सकरात्मक सम्बन्ध देख्न नचाहेकाले त्यस्तो तथ्यहीन आधारहिन हल्ला गरेको बताइन्।

Share Post on Social media